सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

निर्वाचन तयारी पूरा : आयोग

2 years ago
03/09/2017

टेनिस रोका / काठमाडौं

निर्वाचन आयोगले प्रदेश २ मा २ असोजमा हुने स्थानीय तह निर्वाचनको सबै तयारी सकिएको जनाएको छ । आयोगले २१ भदौमा उम्मेदवारी दर्ताअघि बाँकी रहेका केही प्राविधिक तयारीसमेत सकिने जनाएको छ ।

मतदाता शिक्षा, तालिमलगायत काम भने सिलसिलेवार ढंगले अघि बढिरहेको जनाएको छ । ‘निर्वाचनका सबै तयारी पूरा भएको छ,’ आयोग प्रवक्ता नवराज ढकालले राजधानीसँग भने ।

प्रवक्ता ढकालले मतपत्र मुख्य निर्वाचन अधिकृतकहाँ पुगिसकेको, सुरक्षाको विषयमा गृह मन्त्रालयले तयारी गरेको तथा निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी खटिसकेको समेत जानकारी दिए ।

आयोगले १२ भदौदेखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको र १५ भदौदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकहरू घरदैलोमा खटिसकेको समेत जनाएको छ ।

प्रदेश २ का एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा आगामी २ असोजमा निर्वाचन हुँदै छ । ती स्थानीय तहका वडा संख्या १ हजार २ सय ७१ रहेका छन् भने कुल ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएको छ । प्रदेश र संघको निर्वाचनका लागि मतदाता नामावली दर्ता गरेकाबाहेक कुल मतदाता संख्या २६ लाख ६४ हजार ९ सय ५० छ ।

यसअघि पहिलो चरणअन्तर्गत प्रदेश ३, ४ र ६ मा ३१ वैशाखमा २ सय ८३ स्थानीय तहमा र दोस्रो चरणअन्तर्गत १४ असारमा प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो ।

आयुक्तहरू फिल्डमा

निर्वाचनको अन्तिम तयारीबारे बुझ्न आयुक्तसहितका टोलीहरू प्रदेश २ मा  खटेका छन् ।समग्र निर्वाचन तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोवस्तलगायत सम्पूर्ण पक्षको अनुगमन गर्न निर्वाचन आयुक्तहरू प्रदेश दुईमा खटेको आयोग प्रवक्ता ढकालले बताए ।
आयुक्त इला शर्माले धनुषा र महोत्तरी, नरेन्द्र दाहालले रौतहट र सर्लाही, ईश्वरीप्रसाद पौड्यालले पर्सा र बारा तथा सुधीरकुमार शाहले सप्तरी र सिरहा जिल्लाको अनुगमन गर्नेछन् ।आयुक्तहरूले निर्वाचन तयारीको अन्तिम चरणमा केही बाँकी छन् भने त्यसबारे अध्ययन गर्ने, मतदाता शिक्षाबारे जानकारी लिने, स्थानीय तहमा राजनीतिक दलका नेता, निर्वाचन अधिकृत, सञ्चारकर्मीलगायतसँग छलफल तथा अन्तरक्रिया गर्नेछन् ।
यसैगरी आचारसंहिता अनुगमन गर्ने तथा बाढी पहिरोका कारण मतदान केन्द्रसम्म पुग्ने अवस्थाबारे जानकारी लिने र आवश्यक निर्देशन दिने आयोग प्रवक्ता ढकालले जानकारी दिए ।

आयोग गणक तालिमा केन्द्रित

निर्वाचन आयोगले मतदानपछि हुने मतगणनाबारे जानकारी दिन गणकहरूलाई दिइने तालिमलाई उच्च प्राथमिकतामा राखेको छ । प्रवक्ता ढकालले यसअघिका निर्वाचनमा मतगणना ढिला भएको गुनासो बढी आएकाले यस पटक मतगणनासम्बन्धी तालिमलाई विशेष जोड दिएको जानकारी दिए ।
आयोगले सबै दलले निर्वाचनमा सहभागिता जनाएकाले असामान्य घटना नआउने आँकलनसमेत गरेको छ । यद्यपि, केही भूमिगत समूहको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत सोहीअनुसार बनाउन जोड दिएको आयोगले जनाएको छ ।

 

(Visited 29 times, 1 visits today)
Loading comments...