सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

संघ–प्रदेश निर्वाचनका लागि ९५ दलले पाए चिह्न

2 years ago
08/09/2017

महेश्वर गौतम / काठमाडौं

निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ९५ दललाई निर्वाचन चिह्न दिएको छ । आयोगको बिहीबार बसेको बैठकले दल दर्ताका लागि निवेदन दिएका ९५ दललाई निर्वाचन चिह्न दिने निर्णय गरेको हो ।

आयोगले एकल चुनाव चिह्नमा लड्न चाहने दुई वा दुईभन्दा बढी दललाई एउटै चुनाव चिह्न दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दल दर्ता गरी एकल चुनाव चिह्न दिइएको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रसँगै समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टीले एउटै चुनाव (गोलाकारभित्र हँसिया हथौडा) पाएका छन् । त्यस्तै, माले र जनसमाजवादी पार्टीले पनि एउटै चुनाव चिह्न (हँसिया तारा), राष्ट्रिय शिवसेना र राष्ट्रिय नागरिक पार्टीले सिपाही तथा पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आधुनिक पार्टी नेपालले बाघ चुनाव चिह्न पाएका छन् ।

यसैगरी आयोगले राप्रपाबाट फुटेर बनेका दुई वटा दल राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीलाई हलो चुनाव चिह्न दिएको छ । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई आयातकारभित्रको हलो र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई गोलाकारभित्रको हलो चुनाव चिह्न दिइएको छ ।

नयाँ शक्ति पार्टी नेपालले भने आँखा चुनाव चिह्न पाएको छ भने राष्ट्रिय जनता पार्टी नेपालले छाता चुनाव चिह्न पाएको छ । चुरे भावर पार्टीले भकुन्डो र नेपाल समावेशी पार्टीले सुगा, ग्रीन पार्टी नेपालले ऊँट, गान्धीवादी पार्टी नेपालले भेडा, राष्ट्रिय विकास पार्टीले हात्ती र विवेकशील साझा पार्टीले तराजु चिह्न पाएका छन् ।

राष्ट्रवादी युवा मोर्चाले चस्मा र मधेस तराई फोरमले बाल्टिन, नेपाल दर्शन पार्टीले भुइ“कटहर, शिवसेना नेपालले डमरु र नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिकले डोको पाएको छ ।आयोगले ११ भदौसम्म दर्ता भएका राजनीतिक दललाई निर्वाचन चिह्न दिएको हो ।

राष्ट्रपति–प्रमुख आयुक्त भेट

काठमाडौं÷रास– निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रदेश २ मा उल्लासपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको र निर्वाचनमय वातावरण बनेको जानकारी गराएका छन् ।

राष्ट्रपति भण्डारीसँग बिहीबार शीतलनिवासमा भएको भेटमा आयोग प्रमुख आयुक्त यादवले शान्तिसुरक्षाको वातावरणसमेत अनुकूल बन्दै गएको हुँदा प्रदेश २ मा उम्मेदवारी समेत उल्लासपूर्ण रूपमा दर्ता भएको र निर्वाचनको सहज वातावरण बनेको बताएका हुन् ।

आयोग प्रवक्ता नवराज ढकालद्वारा भेटपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूलाई प्रमुख आयुक्त यादवले स्थानीय तहको पहिलो र दोस्रो चरणमा सम्पन्न भएको निर्वाचन तथा आगामी २ असोजमा प्रदेश २ मा हुन लागेको स्थानीय तह तेस्रो चरणको निर्वाचन तयारीबारे अवगत गराउनुभयो ।’

भेटमा प्रमुख आयुक्त यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भएको, संसद्ले प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक २०७४ र प्रदेशसभा सदस्य निर्वाचन विधेयक २०७४ पारित भएपछि निर्वाचनका लागि तयारी अघि बढाउन सहज भएको बताएका छन् ।

यादवले १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन आयोग तयारीमा रहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए । राष्ट्रपति भण्डारीले दुई चरणको स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिएको विज्ञप्तिमा उल्लेख छ ।भेटमा आयोगका तर्फबाट निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह सहभागी थिए ।

(Visited 29 times, 1 visits today)
Loading comments...