शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

संघ र प्रदेशको चुनावी चहलपहल सुरु

2 years ago
26/09/2017

चितवन / रासस– आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनको चहलपहल सुरु भएको छ ।  स्थानीय तहको निर्वाचन सकिएको केही समयमै निर्वाचन हुने भएपछि विभिन्न दलका गाउँदेखि जिल्लासम्मका नेता कार्यकर्ता आआफ्नो पक्षमा परिणाम पार्न जुटेका छन् । त्यसो त आफ्नो नाम उम्मेदवारमा सिफारिसका लागि दौडधूप पनि सुरु भएको छ । नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइराला निर्वाचित भएको तत्कालीन–४ नम्बर र हालको–३ नम्बर क्षेत्रमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा उठ्ने जनाएपछि यहाँ चुनावी चर्चा अरू थपिएको छ ।

निर्वाचनमा कुन÷कुन दल कसरी मिलेर अगाडि बढ्छन्, अन्योल रहे पनि आआफ्नो पार्टीभित्र आन्तरिक प्रचार भने सुरु गरेका छन् । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार १० असोजभित्र गाउँ र नगरले उम्मेदवारको सिफारिस गर्न निर्देशन गरिएको छ ।

१३ असोजमा क्षेत्रले जिल्लालाई सिफारिस गर्दै छ भने १७ असोजमा  जिल्लाले केन्द्रलाई सिफारिस गर्दै छ ।यससँगै आआफ्नो नाम सिफारिसमा पार्न जिल्लास्थित नेता दौडधूपमा रहेका छन् । गाउँ तहदेखि नै विभिन्न ढंगले चुनावी प्रचारलाई तीव्रता दिन थालिएको उनले बताए ।

स्थानीय तहमा नराम्रोसँग पराजय हासिल गरेको नेपाली कांग्रेस चितवनले संघ र प्रदेशको निर्वाचनमा गुमेको छवि फिर्ता ल्याउने गरी गृहकार्य गरिरहेको जनाएको छ ।

स्थानीय तहमा निकै राम्रो नतिजा ल्याउन सफल नेकपा एमाले संघ र प्रदेशको निर्वाचनमा अरू बढी उत्साहित बनेको छ । नेकपा (एमाले) चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलका अनुसार उम्मेदवार सिफारिसका विषयमा केन्द्रको निर्देशन कुरिरहेको छ । यद्यपि वडा तहदेखि नगर हुँदै क्षेत्र र प्रदेशमा कार्यालय स्थापना गरेर प्रचार अभियान सुरु गरेको उनले बताए ।

निर्वाचन परिचालन कमिटी गठन गरी वडादेखि जिल्लासम्म पार्टी पंक्ति निर्वाचनमा केन्द्रित भएको उनको भनाइ छ । निर्वाचनलाई ध्यानमा राख्दै पार्टी कार्यकर्ताका लागि प्रशिक्षण पनि सुरु गरिएको छ । माओवादी केन्द्र चितवनका पूर्वअध्यक्ष एवं पोलिट ब्युरो सदस्य यमबहादुर परियार अभियानकै रूपमा निर्वाचन प्रचार सुरु नगरे पनि तयारी भने थालिएको बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगर र माडी नगरपालिकामा प्रमुख पद जित्न सफल माओवादी केन्द्र कांग्रेस वा एमालेसँगै मिलेर पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चितवनमा निर्वाचित गर्न चाहेको छ ।

त्यसो त दाहाल आफैंले चितवनबाट निर्वाचनमा उठ्ने घोषणा गरिसकेका छन् । राप्रपा (प्रजातान्त्रिक) ले पनि चुनावी प्रचारलाई आन्तरिक रूपमा सुरु गरेको छ । जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले २५ असोजभित्र जिल्लाबाट उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने बताए । अहिले गाउँ, नगर र क्षेत्रबाट सिफारिस हुने क्रम भइरहेको उनले बताए ।

केही दिनअघि पार्टीको केन्द्रीय प्रशिक्षण विभागका प्रमुख एवं महामन्त्री ध्रुवबहादुर प्रधानको उपस्थितिमा दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । चितवनलाई संघमा ३ र प्रदेशमा ६ क्षेत्रमा विभाजन गरिएको छ ।

 

(Visited 13 times, 1 visits today)
Loading comments...