सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

एक साता विद्यालय बन्द

2 years ago
15/10/2017

राजधानी समाचारदाता / काठमाडौं

निर्वाचन आयोगले आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कम्तीमा एक साता विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । निर्वाचनका लागि मतदान केन्द्र विद्यालय भवन तथा कम्पाउन्डभित्रै राखिएकाले मतदान हुनु एक साताअघि देखि नै विद्यालय तथा शैक्षिक क्रियाकलाप बन्द गर्न आयोगले निर्देशन दिएको हो ।

आयोगले पहिलो चरणमा हुने निर्वाचनका लागि ४ मंसिरदेखि र दोस्रो चरणमा हुने निर्वाचनका लागि १५ मंसिरदेखि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचन १० मंसिरमा हुनेछ भने दोस्रो चरणको निर्वाचन २१ मंसिरमा हुनेछ ।

आयोगले निर्वाचनको तयारी तथा व्यवस्थापनका सम्बन्धमा प्रबन्ध मिलाउन शनिबार सरकारलाई २७ बुँदे निर्देशन दिएको छ । जसमा निर्वाचन हुनु एक सातादेखि नै विद्यालय तथा शैक्षिक क्रियाकलाप बन्द गर्नुपर्ने उल्लेख छ । आयोगले निर्वाचन कार्यक्रम सञ्चालन गर्नुपर्ने विद्यालय भवन तथा कम्पाउन्ड र वाल निर्माण तथा मर्मत गर्नुपर्ने भएमा सो कार्य तत्काल गर्नका लागि पनि सरकारलाई निर्देशन दिएको छ ।

‘निर्वाचन कार्यक्रम सञ्चालन गर्नुपर्ने विद्यालय भवन तथा कम्पाउन्ड र वाल निर्माण तथा मर्मत गर्नुपर्ने भएमा सोको तुरुन्त निर्माण तथा मर्मत गर्ने व्यवस्था मिलाउने’ २७ बुँदे निर्देशनमा उल्लेख छ, ‘निर्वाचनको सन्दर्भमा आयोगबाट भएका निर्णय र अन्तर्गतका कार्यालयबाट भएका पत्राचारलाई सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, शैक्षिक संस्थानले उच्च प्राथमिकता दिई तत्काल कार्यान्वयन गर्ने ।’

आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले सरकारलाई निर्देशन दिएको हो । निर्देशनमा सरकारसँग सम्बन्धित ११, सुरक्षासँग सम्बन्धित आठ, पदाधिकारीसँग सम्बन्धित पाँच र अन्य विषयसँग सम्बन्धित तीन विषय छन् ।

आयोगले निर्वाचनको कामका लागि आयोग र अन्तर्गतका कार्यालयले माग गरेका कर्मचारी तत्काल खटाउन र एक साताभित्रै सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान विकास समिति, स्थानीय तह, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षकको विवरण सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाउन समेत निर्देशन दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका लागि आवश्यक पर्ने घर, फर्निचर, कम्प्युटर, प्mयाक्स मेसिन, सवारीसाधन, पेट्रोमेक्स र अन्य आवश्यक भौतिक सुविधा माग भएको अवस्थामा तुरुन्तै जिल्लास्थित कार्यालयमा उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिइएको छ ।

आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृतको आवागमनका लागि माग गरिएको बेला हवाई टिकट उपलब्ध गराइदिने र निर्वाचन सामग्री ढुवानीका लागि आवश्यकता अनुसार मोटर, हवाइजहाज र हेलिकोप्टरको सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिइएको छ ।

यसैगरी आयोगले निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा बिजुली, धारा, डाक, टेलिफोन र इन्टरनेट सेवा निर्बाध रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ भने रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, द राइजिङ नेपाल र राष्ट्रिय समाचार समितिजस्ता सरकारी सञ्चारमाध्यमलाई निर्वाचनसँग सम्बन्धित समाचार प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्न पनि आयोगले निर्देशन जारी गरेको छ ।

आचारसंहिता पालना गर्नूस्

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न गराउनसमेत सरकारलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिताको पालना भएनभएको अनुगमन गर्न, आचारसंहिता उल्लंघन भएको भेटिए कारबाही गर्न र सोको जानकारी आयोगमा पठाउन सरकारलाई निर्देशन दिएको छ ।

यसैगरी प्रधानमन्त्री र मन्त्रीहरूलाई हेलिकोप्टर प्रयोग गर्न परे आप्mनो स्वीकृति लिएर मात्रै प्रयोग गर्न पनि निर्देशन दिएको छ ।

आयोगले प्रधानमन्त्री र मन्त्रीहरू प्रमुख आतिथ्यता नहुने गरी कार्यक्रम सञ्चालन गर्न र मन्त्रीहरूलाई आप्mनो स्वीकृति लिएर मात्रै सरकारी सवारीसाधन प्रयोग गर्न निर्देशन दिएको छ । ‘मन्त्रीज्यूहरूले सरकारी कामको सिलसिलामा आयोगको सहमति लिई सरकारी सवारीसाधन तथा राजनीतिक कामका सिलसिलामा निजी सवारीसाधन प्रयोग गर्न पाउने,’ निर्देशनमा भनिएको छ, ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको कार्यक्रमलाई प्रतिकूल असर पार्ने किसिमको राजनीतिक क्रियाकलाप एवं गतिविधि सञ्चालन नगर्ने ।’

लाइसेन्सवाला हतियार बुझाउनू

निर्वाचन आयोगले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न कानुनबमोजिम अनुमति प्राप्त बन्दुक, पेस्तोलजस्ता हातहतियार समेत संकलन गरी निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा राख्न सरकारलाई निर्देशन दिएको छ । आयोगले तत्काल अनुमतिप्राप्त हतियार संकलन गर्न र आगामी १ मंसिरभित्र सोको विवरण आपूmलाई पठाउन सरकारलाई निर्देशन दिएको हो ।

निर्वाचनमा संलग्न जनशक्तिको सुरक्षालगायत निर्वाचनसँग सम्बन्धित सबै कार्यमा शान्तिसुरक्षाको आवश्यक प्रबन्ध तथा कानुनबमोजिम हातहतियार लिन पाउनेबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विस्फोटक वा पदार्थ, लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउनसमेत सरकारलाई निर्देशन दिएको छ ।

आयोगले निर्वाचन सामग्री भण्डारणस्थलको सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मी परिचालन गर्न, आयोगका पदाधिकारी तथा कर्मचारी, निर्वाचन अधिकृत, पर्यवेक्षकलगायत अन्य कर्मचारी, उम्मेदवार, दल तथा मतदाता र मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गर्दा गराउँदा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनसमेत सरकारलाई निर्देशन दिएको छ ।

 

(Visited 7 times, 1 visits today)
Loading comments...