शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

तत्काल सुरक्षा प्रत्याभूति , गराउन प्रमुख आयुक्तको माग

2 years ago
12/11/2017

राजधानी समाचारदाता / काठमाडौं

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले उम्मेदवार तथा मतदातालाई सरकारले तत्काल सुरक्षाको प्रत्याभूति गर्नुपर्ने माग गरेका छन् । विशेष सुरक्षा व्यवस्था गर्नुपर्नेमा जोड दि“दै उनले उम्मेदवारलक्षित घट्नाबारे आयोगको गम्भीर ध्यानाकर्षण भएकोसमेत बताएका छन् । निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउ“दै यादवले उम्मेदवारमाथि आक्रमणसमेत भएको उल्लेख गरेका छन् ।

‘यो अत्यन्तै दुःखद् छ, सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गर्नुपर्छ भनेर सरकारको ध्यानाकर्षण गराएका छौं,’ शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने, ‘मतदाता तथा उम्मेदवारको पूर्ण सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गरेपछि उच्चस्तरीय सुरक्षा संयन्त्र बैठक बोलाइएको छ ।’

आज (आइतबार) उच्चस्तरीय सुरक्षा संयन्त्र बैठक बस्ने जानकारी दि“दै उनले यस्ता घट्ना जोडेर १० र २१ मंसिरमा हुने निर्वाचन सर्ने भनेर प्रचार नगर्नसमेत आग्रह गरे । ‘१० र २१ मंसिरको निर्वाचन अकाट्य छ, निर्वाचन नहुने भन्नेमा कुनै शंका नगर्नुहोस्,’ उनले भने, ‘तर, यस्तो घट्नाबाट सबै संयमित हुनुपर्छ ।’

निर्वाचन शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको भूमिका भए पनि विशेषगरी पत्रकारको झनै ठूलो भूमिका हुने बताउ“दै प्रमुख निर्वाचन आयुक्त यादवले पत्रकारले नै निर्वाचनको वातावरण बनाउँदै आएको उल्लेख गरे । ‘उहाँहरूको भूमिकाको खुलेर प्रशंसा गर्न चाहन्छु,’ उनले भने, ‘अब पत्रकारको कलम निर्वाचनमुखी हुनुपर्छ ।’

आगामी १० मंसिरमा हुने पहिलो चरणको निर्वाचनअन्तर्गत ७ मंसिरसम्म प्रचारप्रसार समय रहेकाले आयोगले पनि मतदानकेन्द्रित कार्यक्रम अघि बढाएको उनको भनाइ छ । ‘मतदानसम्बन्धी सामग्री सियोदेखि धागोसम्म जिल्लामा पुगिसकेको छ, मतपत्र पनि पुगिसकेको छ,’ उनले भने, ‘मतदान केन्द्रका आधारमा पु¥याउने काम भइरहेको छ ।’

२१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनका लागि शनिबारसम्म १२ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएकोसमेत उनले जानकारी दिए । आयोगले निर्वाचन तयारी क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकसँग निरन्तर छलफल गरिरहेको पनि उनले बताए ।

‘आयोगले अहिले विभिन्न समूह खासगरी बौद्धिक वर्गदेखि अन्यसम्म छलफल गरिरहेको छ,’ यादवले भने, ‘गृहिणीले घरबाट, किसानले खेतबाट र उद्योगीले उद्योग व्यवसायबाट निर्वाचनबारे सोच्नुभएको छ, अब सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।’

कर्मचारी खटनपटनमा ‘निष्पक्षता कायम होस्’ भनेर आयोगले गोला प्रथा गर्नेबारे प्रस्ताव गरे पनि अहिलेसम्म कुनै निर्णय नभएको उनले स्पष्ट पारे । ‘निजामती कर्मचारी र स्थायी शिक्षक हाम्रा जनशक्ति हुन्,’ यादवले भने, ‘निर्वाचनमा खटनपटन निष्पक्षता कायम होस् भनेरै यस्तो प्रस्ताव गरेका हौं तर निर्णय भइसकेको छैन ।’

बिनाजनमत लोकतन्त्र नहुने भन्दै उनले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र निष्पक्ष सम्पन्न गर्न सबैले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘अहिले उम्मेदवार प्रचारप्रसारमा जुटेका छन्, उहाँहरूले पनि अब प्रचारप्रसारलाई स्वच्छ बनाउनुपर्छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिता पूर्ण पालना गर्नुपर्छ, म यही आग्रह गर्न चाहन्छु ।’

निर्वाचन प्रचारप्रसार र आचारसंहिता पूर्ण पालना जति धेरै भयो, त्यति नै मतदाता सहभागितामा बढोत्तरी हुने उनको विश्वास छ । सबैले हातेमालो गर्दै भातृत्व कायम गरेर शान्तिपूर्ण वातावरणमा प्रचारप्रसारमा जुट्नुपर्नेमा उनले जोड दिए ।

(Visited 14 times, 1 visits today)
Loading comments...