सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

नयाँ मतदाताको परिचय मतदान केन्द्रबाटै

2 years ago
17/11/2017

काठमाडौं / रास– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनपछि थप भएका नयाँ मतदाता र परिचयपत्र लिन बाँकी रहेका पुराना मतदातालाई परिचयपत्र लिन आग्रह गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचनमा परिचयपत्र नलिएका र पछिल्लोपटक मतदाता नामावलीमा नाम दर्ता गरेका नयाँ थप भएका मतदाताहरूलाई परिचयपत्र लिन आग्रह गरेको हो ।

आयोगले ३ भदौ २०७४ सम्म मतदाता नामावलीमा नाम दर्ता गरी ५ भदौसम्ममा १८ वर्ष पूरा भएका, नामावली सार्न तथा सच्याउन निवेदन दिएका र स्थानीय तह निर्वाचनका बखत परिचयपत्र वितरण गर्दा लिन नगएका मतदाताहरूलाई परिचयपत्र दिने व्यवस्था गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

जसअनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा ८ र ९ मंसिरमा फोटोसहितको मतदाता परिचयपत्र वितरण गरिनेछ भने दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा १९ र २० मंसिरका दिन परिचयपत्र वितरण गरिनेछ ।

मतदाताले आफ्नो परिचयपत्र सम्बन्धित जिल्लाको आफ्नो मतदान केन्द्रमा खटिएका निर्वाचन आयोगका कर्मचारीहरूमार्फत लिन सक्ने आयोगले जनाएको छ । परिचयपत्र लिन मतदाताहरू आफ्नो नागरिकता वा परिचय खुल्ने सरकारी कागजात लिएर आफ्नो मतदान केन्द्रमा जानुपर्नेछ । पछिल्लोपटक मतदाता नामावलीमा नाम दर्ताका लागि आयोगले दिएको समयभित्र  अर्थात् ५ भदौसम्म १३ लाख ५५ हजार ५ सय १४ जना मतदाताले नामावलीमा नाम दर्ता गरेका थिए ।

पहिले लिइसकेकाले लिनुनपर्ने निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका बेला परिचयपत्र लिइसकेका मतदाताले सोही मतदाता परिचयपत्रमार्फत मतदान गर्न पाउने बताएको छ ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा स्थानीय तहको निर्वाचनका बेला मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रबाट मतदान गर्ने व्यवस्था रहेको जनाएको हो ।

आगामी १० र २१ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाताले निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन् । आयोगले निर्वाचनका लागि देशभर कुल १९ हजार ८ सय ९ मतदान केन्द्र रहने जनाएको छ ।

(Visited 8 times, 1 visits today)
Loading comments...