शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

नर्वाचन आयोग र राष्ट्रिय , मानवअधिकार आयोगबीच छलफल

2 years ago
21/11/2017

राजधानी समाचारदाता / काठमाडौं

निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समग्र स्थितिबारे सोमबार छलफल भएको छ ।

आयोगको कार्यालयमा भएको छलफलमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा रहेको आयोगका पदाधिकारीसहितको टोलीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र निर्वाचन आयुक्तद्वय इला शर्मा र नरेन्द्र दाहालसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षा, आचारसंहितालगायतका विषयमा छलफल गरेको थियो ।

छलफलमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष शर्माले निर्वाचनमा सुरक्षा व्यवस्थाको उचित प्रबन्ध गर्नुपर्ने र मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । निर्वाचनको अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगले २ सयभन्दा बढी जनशक्ति खटाउने जानकारी गराएका छन् ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा भोटिङ मेसिनको प्रयोग गर्ने सम्बन्धमा विभिन्न अध्ययन भए पनि समयको चापका कारण प्रयोग हुन नसकेको बताए ।

विगतका निर्वाचनको तुलनामा यसपटक निर्वाचन प्रचारप्रसारमा संगठित रूपमा बालबालिकाको प्रयोग, भोजभतेर आयोजना र अरू आचारसंहिता उल्लंघनका घटनामा कमी आएको उनले बताए । निर्वाचन आचारसंहिता पालना गर्न लगाउने विषयमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई अभिप्रेरित गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई अनुरोध गर्दै उनले मतदातालाई मतदान केन्द्रमा आउन प्रेरित गर्ने वातावरण बनाउने भूमिका खेल्न सुझाव दिए ।

निर्वाचन आयुक्त इला शर्माले मतदान व्यवस्थापनमा बढीभन्दा बढी महिला कर्मचारी र स्वयंसेवीका खटाउन आयोगले निर्देशन दिइसकेको अवगत गराएकी छन् ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीयता, गणतन्त्र र नेपालको संविधान कार्यान्वयनका लागि हुन गइरहेको निर्वाचनलाई अवरोध पु¥याउने पक्षलाई कानुनी दायरामा ल्याउन अप्ठ्यारो मान्नुपर्ने अवस्था नरहेको धारणा राखेका छन् । छलफलमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्यत्रय प्रकाश वस्ती, मोहना अन्सारी र गोविन्द शर्मा पौड्याल तथा सचिव वेदमणि भट्टराई र निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालको सहभागिता रहेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले बताए ।

(Visited 31 times, 1 visits today)
Loading comments...