शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

चार दिनभित्रै समानुपातिकको परिणाम : आयोग

2 years ago
26/12/2017

महेश्वर गौतम / काठमाडौं

निर्वाचन आयोगले चार दिनभित्र प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फका दलहरूको सिटको टुंगो लगाउने तयारी गरेको छ । केही दिनअघि मात्रै प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका २ सय २० सिटमध्येबाट दलहरूको सिट बाँडफाँटको टुंगो लगाएको आयोगले चार दिनभित्रै प्रतिनिधिसभाको १ सय १० सिट रहेको समानुपातिक सिट बाँडफाँटको टुंगो लगाउने तयारी अघि बढाएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले आयोगले केही दिनअघि मात्रै प्रदेशसभातर्फका दलहरूको सिट संख्या तोकेको भन्दै अब चार दिनभित्र प्रतिनिधिसभातर्फको समानुपातिक सिटको टुंगो लगाउनेगरी आयोग अघि बढेको बताए । ‘चार दिनको मेहनतपछि केही दिनअघि मात्रै प्रदेशसभातर्फको समानुपातिक प्रणालीको सिटको टुंगो लगायौं, अब चार दिनभित्र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या टुंगो लगाउनेगरी आयोगले काम गरिरहेको छ,’ प्रवक्ता ढकालले राजधानीसँग भने ।

उनले आयोगले समानुपातिक प्रणालीतर्फको मतपरिणाममा दलहरूको दबाबका कारण ढिलाइ गरेको भन्ने हल्ला चलेको भन्दै त्यसमा कुनै सत्यता नरहेको समेत दाबी गरे । ‘आयोगलाई कुनै दलको त्यस्तो केही दबाब छैन, आयोगले कसैको दबाब र प्रभावबिना नै काम गरिरहेको छ, राजनीतिक वृत्तमा के हल्ला चल्छ, आयोग जान्दैन,’ ढकालले भने ।

आयोगले प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका २ सय २० सिटको दलहरूले पाउने भागको टुंगो लगाए पनि प्रतिनिधिसभातर्फका १ सय १० सिटको कुन दलले कति सिट पाउने भन्ने टुंगो लगाउन ढिलाइ हुँदा आयोगको आलोचना भइरहेको छ ।

आयोगले निर्वाचन कानुनअनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी प्राप्त मतलाई गणना गरी प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलका तर्पmबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको सिटको टुंगो लगाउनेछ । यसरी सिटको टुंगो लगाउँदा प्रतिनिधिसभातर्फ ३ प्रतिशत र प्रदेशसभातर्फ १ दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कायम रहने आयोगले बताएको छ । आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ५ लाख मत खसेको बताउँदै आएको छ । सो मत बदर मतबाहेक भएको र बदर मत घटाउदा बाँकी रहने कुल मत समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मतमा गणना हुने बताइएको छ ।

छिट्टै सार्वजनिक गर्न नेपालको आग्रह

काठमाडौं / रास– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम अविलम्ब राष्ट्रपतिसमक्ष पेस गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

संयुक्त वाम गठबन्धन काठमाडौं–२ ले सोमबार काठमाडौंको थलीमा आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले ढिलाइ गर्न नहुने बताए ।

समानुपातिकतर्फको परिणाम तत्काल सार्वजनिक गर्दै राष्ट्रपतिसमक्ष पेस गरेर निर्वाचन आयोगले नयाँ सरकार गठनको वातावरण बनाउनुपर्ने उनले बताए । समानुपातिकतर्फको परिणाम सार्वजनिक भएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

‘समानुपातिकतर्फको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका कारण राजीनामा गरेर नयाँ सरकार बनाउने वातावरण बनाउनुपर्छ,’ नेपालले भने, ‘प्रत्यक्ष तर्फको परिणाम सार्वजनिक भइसकेको छ, समानुपातिकतर्फको परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।’

राष्ट्रिय सभा गठनको प्रक्रियालाई लिएर प्रधानमन्त्रीले गैरसंवैधानिक बखेडा गरिरहेको बताउँदै उनले राष्ट्रियसभा गठनले सरकार निर्माणको प्रक्रिया नरोकिने बताए । नयाँ सरकार निर्माण गर्न जनमतअनुसार वातारण बनाउनुपर्ने प्रधानमन्त्रीले बखेडा मात्रै गरिरहेको आरोप उनले लगाए ।

संविधानमै नभएको व्यवस्था एमालेले स्वीकार गर्न नसक्ने बताउँदै नेपालले राष्ट्रिय सभाको गठन बहुमतीय निर्वाचन प्रणालीअनुसार नै हुने बताए । संविधानमा नभएको व्यवस्थाको विरोधमा संविधानको उल्लंघन गर्दै सरकारले एकल संक्रमणीय निर्वाचनको पक्षमा उभिएको बताउँदै उनले राष्ट्रिय सभाको गठन बहुमतीय प्रणालीअनुसार नै हुने बताए ।

स्थिर सरकार एवं समृद्धिका लागि नेपाली जनताले एमाले र माओवादीको वाम गठबन्धनलाई बहुमतसहित विजयी गराएको स्मरण गर्दै उनले दुई पार्टीबीच एकता हुने विषयमा शंका नगर्न आग्रह गरे । मुलुकको समृद्धि एवं जनताको उज्जवल भविष्यका लागि एमाले र माओवादीका बीचमा पार्टी एकता गर्दै वाम गठबन्धन अगाडि बढ्ने नेपालले बताए ।

 

(Visited 5 times, 1 visits today)
Loading comments...