सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

ओली–दाहाल छलफल भोलि एकता बैठक बस्ने

2 years ago
20/01/2018

सुभाष साह / काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार संघीय सरकार, प्रदेश सरकार, राष्ट्रिय सभा निर्वाचन र पार्टी एकताका विषयमा छलफल भएको छ । नियमित स्वास्थ्य उपचारका लागि बैंककबाट स्वदेश फर्किएपछि भेटघाट भएको ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए । ओली निवास बालकोटमा शुक्रबार दाहाल पुगेर करिब ३ घण्टा ‘वान टु वान’ छलफल गरेका हुन् ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनद्वारा गठन भएको कार्यदलले प्रतिवेदन प्राप्त गरेपछि दुई अध्यक्षबीच त्यस विषयमा छलफल भएको छ । कार्यदलले एमालेका २९ र माओवादी केन्द्रका १४ नेतालाई राष्ट्रिय सभामा साझा उम्मेदवार बनाउने सिट बाँडफाँट गरेका थिए । बाँकी सिटमा अन्य सहयोगी दलस“गको छलफलपश्चात् टुंगोमा पुग्ने नेताहरूले बताएका छन् ।

अध्यक्षद्वय पार्टी एकता संयोजन समिति बैठक बोलाउने निष्कर्षमा पनि पुगेका छन् । आइतबार एकता संयोजन समिति बैठक बोलाउने निष्कर्षमा उनीहरू पुगेका हुन् । समिति बैठक बस्नुअघि पार्टी एकता र सरकार निर्माण विषयमा ठोस सहमति गर्न शनिबार पुनः अध्यक्ष द्वयबीच बैठक बस्दै छ ।

नियमित उपचारपछि स्वदेश फर्केका ओली र दाहालबीच राष्ट्रिय सभा सदस्यमा साझा उम्मेदवार दिने, संघीय सरकार, प्रदेश सरकार, मुख्यमन्त्री, सभामुखलगायतका विषयमा छलफल भएको अधिकारीले बताए । आइतबार बस्ने पार्टी एकता संयोजन समिति बैठकले यसबारे ठोस निर्णय गर्ने बताइएको छ ।

एमाले र माओवादी केन्द्रका तीन–तीन सदस्य रहेको कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्दै अध्यक्षद्वयले अनुमोदन गरेका छन् । कार्यदलले राष्ट्रिय सभा सदस्यमा वाम गठबन्धनका साझा उम्मेदवार उठाउने गरी सिट बाँडफाँट गरिसकेका छन् । कार्यदलले गरेको सहमतिको प्रस्ताव पार्टी एकता संयोजन समितिमा छलफलका लागि प्रास्तव गरिनेछ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ६० र ४० प्रतिशतको भागबन्डा गरेका एमाले र माओवादी केन्द्रले पछिल्लो निर्वाचनमा प्राप्त मतपरिणामअनुसार राष्ट्रिय सभा निर्वाचनमा ७० र ३० प्रतिशत भागबन्डा गरी साझा उम्मेदवारी दिने तयारी कार्यदलले गरेको छ । जसलाई अध्यक्षद्वयले स्वीकृत गरी आइतबार बस्ने पार्टी संयोजन समिति बैठकले त्यसलाई समान्य हेरफेर गर्दै पारित गर्ने सम्भावना छ । राष्ट्रिय सभा सदस्य साझा उम्मेदवार छनोट गर्दै एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले अब प्रदेश सरकार गठन गृहकार्यमा जुट्नेछ । प्रदेश प्रमुख नियुक्ति र अस्थायी प्रदेश राजधानी तोकिएस“गै प्रदेश सरकार गठनको संवैधानिक बाटो खुला भएको छ ।

प्रदेश सरकार गठन, मुख्यमन्त्री, मन्त्री, सभामुखलगायतका पदाधिकारीका विषयमा कार्यदलले छलफल एवं सहमति गरेर प्रतिवेदन बुझाएपछि त्यस विषयमा चरणबद्ध पार्टी एकता संयोजन समितिमा निर्णयका लागि प्रस्ताव पेस गरिनेछ । स्रोतका अनुसार कार्यदललाई प्रदेश सरकार गठन सन्दर्भमा सहमति जुटाउन सयम दिने र उसले तयार गरेको प्रतिवेदनका आधारमा निर्णय हुनेछ । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार बन्नेगरी बहुमत रहेको छ । प्रदेश २ मा मधेसवादी गठबन्धनको प्रदेश सरकार बन्नेगरी बहुमत छ । ६ वटामध्ये माओवादीले कार्यदल बैठकमा दुईवटा प्रदेशमा मुख्यमन्त्री र चारवटा प्रदेशमा सभामुखको दाबी गरेको छ ।

 

(Visited 22 times, 1 visits today)
Loading comments...