निवारण घोषणा भए पनि कुष्ठरोगी संख्या बढ्दै
नवीन लुइ“टेल / ललितपुर
सरकारले कुष्ठरोग निवारण भइसकेको घोषणा गरे पनि बर्सेनि ३ हजारको संख्यामा नयाँ कुष्ठरोगी देखापर्ने गरेका छन् । ‘कुष्ठरोगमुक्त समाज निर्माण बालबालिकामा शून्य अपांगता हाम्रो अभियान’ नारासहित आइतबार ६५औं विश्व कुष्ठरोग दिवस मनाइरह“दा बर्सेनि ३ हजारभन्दा बढी कुष्ठरोगी थपि“दै गरेको तथ्यांक सार्वजनिक भएको हो ।
अंगे्रजी वर्ष जनवरीको अन्तिम आइतबार ‘कुष्ठरोग दिवस’ मनाउने प्रचलन रहँदै आएको छ । आठ वर्षअघि २०६६ सालमा नेपालमा कुष्ठरोग निवारण घोषणा भएको हो ।
प्रति १० हजार जनसंख्यामा १ भन्दा कम हुनुलाई निवारण भनिन्छ । २०७३÷७४ मा कुल ३ हजार २ सय १५ नयाँ बिरामी फेला परेको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ ।
विश्वमा रहेका कुष्ठरोगीमध्ये १ दशमलव ४ प्रतिशत कुष्ठरोगी नेपालमा रहेको महाशाखाका कन्सल्ट्यान्ट डर्माटोलोजिस्ट डा. रवीन्द्र बाँस्कोटाले जानकारी दिए ।
उनका अनुसार कुल सय प्रतिशतमा ८५ प्रतिशत बिरामी तराईका छन् । प्रदेशअनुसार सबैभन्दा धेरै प्रदेश २ मा छन् । प्रदेश २ मा चालू आर्थिक वर्षमा ८ सय ९० र प्रदेश ५ मा ७ सय ६४ कुष्ठरोगी छन् ।
झापा, मोरङ र पर्सामा कुष्ठरोग रोकथाम कार्यक्रम सुरु गरिएको बाँस्कोटाले जानकारी दिए । ‘पुरै कुष्ठरोगप्रतिको दृष्टिकोणमा परिवर्तन आएको छैन,’ उनले भने, ‘कुष्ठरोग घटाउन सामाजिक, मेडिकल र फिजिकल समस्या छ ।’
सरकारले कुष्ठरोग निवारण भएको भन्दै कम बजेट दिँदा पनि यससँग जोडिएका कार्यक्रम सोचेअनुसार गर्न नसकिएको उनको दुखेसो छ । सन् २०२० सम्म सरकारले कुष्ठरोगमुक्त देश बनाउने तयारी गरेको छ ।
मानवजातिलाई मात्र लाग्ने कुष्ठरोग महिलाभन्दा पुरुष बढी प्रभावित भएको दि लेप्रोसी मिसन नेपालका तालिम अधिकृत गोपालहरि पोखरेलले जानकारी दिए । उनका अनुसार महिलामा ३९ प्रतिशत र पुरुषमा ६१ प्रतिशतलाई कुष्ठरोग लागेको हुन्छ ।
‘१० देखि १४ र ३५ देखि ४४ वर्ष उमेर समूहका व्यक्ति यो रोगको जोखिममा हुन्छन्,’ उनले भने, ‘विश्वमा १५ देशमा यो रोग देखा परे पनि सन् २०१५ मा युरोपमा मात्र १८ जनामा कुष्ठरोग देखापरेको छ ।’
नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि जोखिम कायमै रहेको कुष्ठरोगसम्बन्धी जानकार चिकित्सकले बताएका छन्् । विश्वमै सबैभन्दा धेरै कुष्ठरोगी भारतमा छन् । त्यहा“ १ लाख ३५ हजार बिरामी रहेको तथ्यांक छ ।
विश्वमा रहेका कुष्ठरोगीको भीडमा करिब ७५ प्रतिशत बिरामी दक्षिण एसियामै छन् । ललितपुर लेलेस्थित आनन्दवन अस्पतालमा यो वर्ष १ सय ५६ नयाँ बिरामी रहेको जनाइएको छ । विश्वभर १ लाख ७५ हजार कुष्ठरोगी बिरामीको उपचार भइरहेको अवस्थामा नेपालमा मात्र २ हजार ५ सय जनाको उपचार भइरहेको छ । संसारभर कुष्ठरोगीको संख्या घटिरहेको अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखि“दैन ।
कुष्ठरोग छाला र स्नायुमा प्रभाव पार्ने रोग हो । रातो तथा हल्का फुस्रा दाग देखिने, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, गिर्खा देखिने, स्नायुमा असर गर्दा हातगोडा झमझमाउने, मांशपेसी कमजोर हुने, डाबर तथा दाग भएका ठाउँमा चिलाउने, हत्केला वा पैतालामा नदुख्ने घाउ देखापर्ने, हत्केलाको मासंपेसी सुकेर जाने, नाक थेप्चो हुनेजस्ता लक्षण देखापर्छन् ।
कुष्ठरोग मानिसको आँखाले देख्न नसक्ने ‘माइक्रोब्याक्टोरिजम’ किटाणुका कारण लाग्ने गर्छ । स्वास्थ्य मानिसको शरीरमा कुष्ठरोगको किटाणुले प्रवेश गरे रोगनिरोधक शक्तिले ती किटाणुलाई मार्न सकेन भने कुष्ठरोग लाग्ने चिकित्सकले बताएका छन् । सन् २०२० सम्म नेपाललाई पूर्णरूपमा कुष्ठरोग निवारण देश बनाउने लक्ष्य सरकारकोे छ ।
आनन्दवन अस्पतालका मेडिकल डाइरेक्टर डा. इन्द्रबहादुर नापित कुष्ठरोगको किटाणुसँग लड्न सक्ने शक्ति मानिसमा ९९ प्रतिशत रहने बताउ“छन् ।
दि लेप्रोसी मिसन नेपालका तालिम अधिकृत गोपालहरि पोखरेलले बालबालिकामा रोग नलागे विस्तारै रोग निर्मूल हुँदै जाने बताए । यो रोगको उपचारका लागि कुष्ठरोगका धेरै किटाणु भएको व्यक्तिले लगातार एक वर्षसम्म रिफामपिसन, ड््याप्सोन र क्लोफाजामिन भन्ने तीन प्रकारको बहुऔषधि सेवन गर्नुपर्छ ।
यसैगरी, कुष्ठरोगका थोरै किटाणु भएका व्यक्तिले ६ महिनासम्म निःशुल्क पाइने रिफामपिसन र ड्याप्सोन गरी दुई प्रकारको औषधि सेवन गर्नुपर्छ । कुष्ठरोग आँखाले देख्न नसकिने लेप्रे नामक सूक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । दि लेप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले कुष्ठरोग नेपालको मात्र नभई विश्वकै समस्या भएको बताए ।