सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

कोरिडोरको कमाल , कर्णालीपारि डोजरै डोजर

2 years ago
11/03/2018

प्रेमराज सिम्खडा / कालिकोट

पचाँलझरना गाउँपालिकाको भतडी, भुराबगर र भैंसेसैन क्षेत्रमा यतिबेला उत्साह छ । गाउँपालिकाका तीनवटै स्थानमा भाडामा लिइएका डोजर बाटो खनिरहेका छन् । स्थानीय माटो सम्याइरहेका छन् । कर्णाली कोरिडोरको निर्माण र जनप्रतिनिधिको सक्रियताका कारण कालिकोटका थुप्रै स्थानीय तह डोजरमय छन् । कर्णाली कोरिडोर निर्माणसँगै सडक विस्तारका लागि बाटो खुलेको रास्कोट नगरपालिका, पलाँता गाउँपालिका र पचाँलझरना गाउँपालिकामा डोजर सञ्चालन गरेर धमाधम बाटो बन्ने कार्य भइरहेको छ ।

सडक विस्तारका लागि कर्णाली तारेर जनप्रतिनिधिले डोजर गाउँगाउँमा पु¥याएका छन् । कर्णाली कोरिडोरको १५ किलोमिटर सडक बनेसँगै रास्कोट नगरपालिका क्षेत्रको १८ किलोमिटर सडक नेपाल सरकार र बेलायत सरकारको संयुक्त लगानीमा ग्रामीण पहँुच कार्यक्रममार्फत निर्माण भई यातायातका साधन सञ्चालनमा आइसकेका छन् । गत १७ माघमा उद्घाटन भई नगरपालिकालाई हस्तान्तरण गरिएको हो । यो सडक सञ्चालनमा आएसँगै नगरपालिका अन्य क्षेत्रको सडक विस्तारमा जुटेको हो ।
निर्वाचित भएको दुई वर्षमा सबै वडामा सडक विस्तार गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुख काशीचन्द बरालले छिटो सडक निर्माण गर्न डोजरको प्रयोग भएको बताए । उनका अनुसार नगरपालिकाको स्वामित्वमा रहने गरी १ करोड २५ लाखमा डोजर खरिद गरेर कर्णाली नदी तारेर नगरपालिकामा डोजर
लगिएको हो । नगरपालिकाको केन्द्रमा डोजर पुगेसँगै सडक विस्तारले गति लिएको छ । नेपाल सरकारबाट सञ्चालित कर्णाली स्वरोजगारअन्तर्गतको सबै बजेटै सडक विस्तारमा विनियोजन गरिएको छ ।

रास्कोट नगरपालिकाभित्रका साबिकका तीन गाविस सिपखाना, स्युना र फुकोटको बजेटलाई केन्द्रित गरिएको छ । कर्णाली रोजगारको बजेटमार्फत नगरपालिका क्षेत्रमा मुख्य तीन ठाउँको सडक विस्तारमा जोड दिएको नगर प्रमुख बरालले बताए । उनका अनुसार नगरपालिकाको वडा नम्बर १ मा सडक पु¥याउन ४८ लाख, वडा ८ र ९ का लागि ६० लाख र साना जलविद्युत् उत्पादन केन्द्र पोत्मारा जोड्ने सडकका लागि ४८ लाख बजेट विनियोजन गरिएको छ । ती सबै स्थानमा डोजरले बाटो खनिरहेको छ । कर्णाली रोजगार कार्यक्रमको रकममा डोजर लगाउन नपाइने भए पनि नगरपालिकाले आफ्नै लगानीमा डोजर किनेकाले कार्यक्रमको रकम डोजर सञ्चालन खर्च नहुने प्रमुख बरालले बताए । उनले भने, ‘डोजरले पहिला बाटो खन्दै जान्छ, त्यसपछि मजदुरहरूले सडक विस्तार गर्छन् र पैसा बुझ्छन् ।’

नगरपालिकाले पहिलो चरणमा सान्नी त्रिवेणी गाउँपालिका जोड्ने सेराचौर–तुसारखोला सडक खन्न सुरु ग¥यो । नगरपालिकाको वडा नं २ को केन्द्र रहेको सेराचौरसम्म पुगेको सडकलाई वडा नम्बर १ सम्म जोड्न सडक विस्तार गरिरहेको वडा नं २ का अध्यक्ष दयाराम सिम्खडाले बताए । उनका अनुसार सो क्षेत्रमा भने डोजरले निःशुल्क बाटो खनिरहेको छ ।
पचाँलझरना गाउँपालिकाले भने डोजर भाडामा लगेर सडक विस्तार गरिरहेको छ । उपभोक्ता समितिमार्फत सडक विस्तार गरिरहेको छ । गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार सडक निर्माणलाई केन्द्रित गरेर विकासका सबै योजना सञ्चालनमा रहेको बताए । सडक अभावमा कुनै पनि बिरामीको डोकोमा बोकिरहेको बेला मृत्यु नहोस् भन्ने गाउँपालिकाको चाहना रहेको उनको भनाइ छ । गाउँपालिका उपाध्यक्ष तारा न्यौपाने खड्काले सुत्केरी व्यथाले च्यापेको महिलालाई डोकोमा बोक्नुपर्ने बाध्यताको अब अन्त्य हुने बताइन् । उनले आगामी दुई वर्षभित्रमा सबै वडामा सडक पु¥याउने बताए । गाउँपालिकाले तीनवटै आयोजनामा ८० लाखका दरले उपभोक्ता समिति बनाई बजेट वितरण गरेको छ ।पलाँता गाउँपालिकाले पनि आफ्नै जोडर सञ्चालनमा ल्याएको छ । पलाँताले डोजरसँगै सय जनाको सडक निर्माण कार्यदलसमेत बनाएर बिकासे कामलाई तीव्रता दिएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडकसँगै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि पनि विभिन्न क्षेत्रमा काम भइरहेको बताए ।  गाउँपालिकाले १२ कक्षासम्मको शिक्षा पनि निःशुल्क गर्ने घोषणा गरिसकेको छ । गरिब परिवारलाई राहतस्वरूप रासनकार्डमार्फत खाद्य वितरण गरिरहेको गाउँपालिकाले विकासलाई तीव्रता दिन निर्माण कार्यदल नै बनाएर काम गरिरहेको छ । कालिकोटका अधिकांश स्थानीय तहले सडकलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

(Visited 25 times, 1 visits today)
Loading comments...