शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

निर्वाचन आयोगका ४४ गाडी सरकारी निकायमा

2 years ago
24/03/2018

काठमाडौं / रास– निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरकारका विभिन्न निकायलाई ४४ वटा सवारीसाधन पठाउने भएको छ । आयोगले शुक्रबार प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयसहित नेपाल सरकारका विभिन्न निकायलाई ४४ थान सवारीसाधन पठाउने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सरकारका विभिन्न निकायमा ४४ सवारीसाधन पठाउने निर्णय गरेको जानकारी दिए ।

‘सरकारका विभिन्न निकायमा गाडी अभाव भएको सबैलाई जानकारीमा छ, आयोगले सञ्चालनमा रहेका तर जगेडा रहेका गाडी सरकारका विभिन्न निकायमा पठाउने निर्णय गरेको हो,’ प्रवक्ता ढकालले राजधानीसँग भने ।

आयोगले मन्त्रिपरिषद्को कार्यालयसहित उपराष्ट्रपतिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, विभिन्न मन्त्रालयसहित राष्ट्रिय समाचार समिति र रेडियो नेपाललाई सवारीसाधन पठाउने भएको हो ।

यसैबीच आयोगले प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवका लागि खरिद गरेको गाडीसमेत प्रधानमन्त्री कार्यालय पठाउने भएको छ ।

यादवले आफूले प्रयोग गरिरहेको पुरानो गाडी नै प्रयोग गर्ने भएकाले प्रमुख आयुक्तका लागि खरिद गरिएको नयाँ गाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने भएको हो ।

मुलुकमा तीनै तहको निर्वाचनसहित राष्ट्रपति एवं उपराष्ट्रपति पदको समेत निर्वाचन सम्पन्न भइसकेको अवस्थामा निर्वाचन सञ्चालन प्रयोजनका लागि प्रयोग गरिएका सबै सवारीसाधन विभिन्न सरकारी निकायलाई हस्तान्तरण गरिएको आयोगले जनाएको हो ।

 

(Visited 12 times, 1 visits today)
Loading comments...