खेलकुदमा पनि चम्केका बलिउड अभिनेता अभिनेत्री

मुम्बई । बलिउड अभिनेता अभिनेत्रीहरू चलचित्रसँगै खेलकुदमा पनि त्यत्तिकै सक्रिय रहने गरेका छन् । यो साता भारतले विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दै ‘राष्ट्रिय खेलकुद दिवस’ मनाएको छ । यो दिवसमा सम्बन्धी खेलसँग जोडिएका चलचित्रकर्मीहरू समेत अतिथिको रूपमा सहभागी भए । त्यसो त खेलकुदमाथि बलिउडमा थुप्रै चलचित्र पनि बनेका छन् । ‘चक दे ! इन्डिया’, ‘८३’ ‘मैदान’, ‘सुल्तान’, ‘चन्दु च्याम्पियन’, ‘लगान’, ‘दंगाल’ जस्ता थुप्रै चलचित्रमा बलिउड कलाकारहरूले आफूलाई सशक्त खेलाडीको रूपमा उतारेका छन् । यी चलचित्रमा अभिनय गर्ने हैन, बलिउड कलाकार भएर पनि वास्तविक रूपमै खेलकुदसँग जोडिएका केही कलाकारहरूको यो रिपोर्टमा चर्चा गरिएको छ ।

रणवीर सिंह
बलिउड अभिनेता रणवीर सिंह कलाकारसँगै खेलाडीको रूपमा समेत परिचित छन् । उनी एक समय बास्केटबल खेलाडीका रूपमा लोकप्रिय थिए । बास्केटबल प्रति उनको जोस यति गहिरो छ कि अहिले पनि उनी बास्केटबल खेल्ने गर्दछन् । उनी भारतमा ‘एनबीए’को ब्रान्ड एम्बेसडर समेत बने । उनी आज पनि मानिसहरूलाई यो खेलमा सामेल हुन प्रेरित गर्छन् ।

दीपिका पादुकोण
अभिनेत्री दीपिका पादुकोण ब्याडमिन्टन खेलसँग नजिक छिन् । उनका बुबा प्रकाश पादुकोण भारतका एक महान ब्याडमिन्टन खेलाडी हुन् । दीपिका चलचित्र उद्योगमा आउनु अघि भारतमा राष्ट्रिय स्तरमा ब्याडमिन्टन खेल्थिन् । उनी अहिले पनि फुर्सदमा ब्याडमिन्टन खेल्छिन् । उनी विश्वास गर्छिन् कि खेलकुदले मानिसलाई अनुशासनमा राख्छ । फिटनेस राम्रो बनाउँछ र सम्बन्धी कार्यमा केन्द्रित गर्छ । खेलकै कारण आफू चलचित्रमा आएको पनि उनको कथन छ ।

रणदीप हुड्डा
अभिनेता रणदीप हुड्डा भारतीय पोलो खेलाडी हुन् । उनी पोलोसँगै घोडा सवारीमा पनि त्यत्तिकै सौखिन मानिन्छन् । उनी एक उत्कृष्ट घोडा सवार हुन् । उनी प्रायः पोलो खेलहरूमा भाग लिन्छन्। घोडा र घोडा खेलहरूप्रति उनको प्रेम सबैलाई थाहा छ । उनले सो जम्पिङ र पोलोमा राष्ट्रिय स्तरमा पदक जितेका छन् । रणदीप विश्वास गर्छन् कि घोडा सवारी र पोलोले उनको जीवनमा अनुशासन र प्रकृतिसँगको सम्बन्ध कायम राख्ने गरेको छ ।

रणबीर कपूर
बलिउड अभिनेता रणबीर कपूर फुटबल खेलाडी हुन् । उनी आफ्नो अभिनय क्षमताले विश्वभरि परिचित छन् । क्यामेराको अगाडि आफ्नो अभिनयले दर्शकको मनमा बसेका यी अभिनेता क्यामेरा पछाडि फुटबल प्रति क्रेजी छन् । उनी फुटबललाई धेरै मन पराउँछन् । साथीहरूसँग खेल्ने होस् वा सेलिब्रेटी खेलकुद कार्यक्रमहरूमा भाग लिने होस्, उनी त्यहाँ पुग्छन् । रणबीरले प्रायः फुटबलमा आफ्नो खेलकुद कौशल देखाउँदै आएका छन् । उनी अल स्टार्स फुटबल क्लबका सह–मालिक र सक्रिय खेलाडी पनि हुन् । जसले च्यारिटी फुटबल खेलहरूको आयोजना गर्ने तथा भाग लिने गर्दछ । रणवीरको लागि, फुटबल केवल फिटनेस मात्र नभएर तर तनाव कम गर्ने माध्यम पनि बन्दै आएको छ ।

जोन अब्राहम
बलिउड अभिनेता जोन अब्राहम बास्केटबल खेलमा जोडिएका छन् । उनी फिटनेस आइकन पनि हुन् । जोन अब्राहम सधैं खेलकुदका समर्थक रहेका छन् । उनी विशेष गरी बास्केटबल मन पराउँछन् । उनले कलेज जीवनमा धेरै पटक बास्केटबलमा अवार्डहरू जितेका छन् । खेलले उनलाई फिट र फुर्तिलो राख्ने गरेको यी अभिनेताको कथन छ । अहिले पनि उनी फुर्सदमा बास्केटबल कोर्टमा पुग्छन् । आफू खेल्ने क्रममा उनी युवाहरूलाई खेलकुदप्रति पनि प्रेरित गर्छन् । उनी खेलकुद जीवनशैलीको हिस्सा हुनुपर्छ भन्ने विश्वास गर्छन् ।

ताप्सी पन्नू
तापसी पन्नूलाई स्क्वास खेल्न मन पर्छ । उनीले पनि स्क्वासमा थुप्रै प्रतियोगितामा भाग लिएकी छिन् । उनी प्रायः फिट र स्वास्थ्य रहनको कारण नियमित यो खेलले पनि हो भन्छिन् । खेलकुदप्रतिको अनुशासनले आफूलाई चलचित्रको काममा पनि अनुशासित बनाएको यी अभिनेत्रीको भनाई छ ।

तान्या मानिकतला
चलचित्रमा उत्कृष्ट अभिनयका लागि परिचित अभिनेत्री तान्या मानिकतला ब्याडमिन्टनमा पनि त्यत्तिकै पोख्छ छिन् । उनले स्कुले जीवनमै ब्याडमिन्टन खेल्न थालिन् । अझै पनि उनी यो खेल खेल्छिन् । फिटनेस र रमाइलोको लागि आफूले नियमित रूपमा यो खेल खेल्दै आएको तान्याको कथन छ ।

सैयामी खेर
बलिउडकी सबैभन्दा फिट अभिनेत्रीहरू मध्ये सैयामी खेर एक हुन् । खेलकुदप्रति उनको अत्यन्त लगाब छ । सैयामी एक बहु–प्रतिभाशाली खेलाडी हुन् । उनले स्कूल स्तरमा महाराष्ट्रको लागि क्रिकेट खेलेकी थिइन् र राष्ट्रिय छनोटमा पुगिन् । पछि उनी ब्याडमिन्टनमा राज्य च्याम्पियनसिप खेलमा छनौट भइन् र त्यो खेलमा पनि आफ्नो चमत्कार देखाइन । केही अवार्ड पनि चुमिन् । उनी पौडी, दौड र साइकल चलाउनेमा पनि सक्रिय छिन् । उनले सबैभन्दा ठूलो खेल उपलब्धि भनेको विश्वको सबैभन्दा कठिन प्रतियोगिता मानिएको ट्रायथलनमा एक वर्षमा दुई पटक भाग लिइसकेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३