जैसिथोक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

गुल्मी । धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । हिजो शनिबार एक औपचारिक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरे । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, घोषणा कार्यविधि २०७९, स्थानीय सरकार संचालन ऐन २०७४, बालबालिकासम्बन्धि ऐन २०७५ ले निर्दिष्ट गरेका सूचक र तहगत चरणहरु पुरा गरेपछि जैसिथोकलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

घोषणा गर्नको लागि वडाले विभिन्न अभिमुखीकरण कार्यक्रम, बालवस्तुगत विवरण तयार गरी काम गरेको, घोषणाको दीगोपनाको लागि समुदायस्तरमा विभिन्न समितिहरु गठन गरिएको लगायतका कार्य गरिएको वडाध्यक्ष विर बहादुुर जोगी कुँवरले जानकारी दिए । त्यसैगरी वडाभित्र बालमैत्री संरचनाहरु निर्माण गरिएको, ८ बर्षदेखि १८ बर्षभित्रका बालबालिकाहरुको विद्यालय र टोलस्तरीय विभिन्न बाल समुह र सबै समुहहरुको प्रतिनिधित्व सहितको बालसंजाल गठन गरिएको लगायतका कार्यहरु वडाले गरेको छ ।

वडामा २०८१ असौज ९ गते सूचकहरुको अवधारणसम्बन्धि अभिमुखीकरण कार्यक्रम गरी लिखित प्रतिवद्धता गरिएको थियो । वडाभित्र रहेका सरकारी विद्यालय, गैर सरकारी संघ संस्थाहरुका संरचना बालमैत्री निर्माण गरिएको, वडामा १३ वटा बाल समुह र सबै समुहको प्रतिनिधित्वसहित बाल संजाल गठन गरिएको, वडाभित्र रहेका विद्यालय र टोल बस्तिहरुमा बालमैत्री आचार संहितासहितको छलफल गराउनका साथै बालमैत्री स्थानीय शासन सम्बन्धमा अभिमुखीकरण समेत गरिएको वडा सचिव अशोक खनालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले विकासका धेरै सूचकमध्ये सामाजिक विकास महत्वपूर्ण रहेको बताए । जैसिथोक जिल्ला र पालिकाकै छैठौं वडाको रुपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको बताए । गाउँपालिकाले चालु आर्थिक बर्षभित्रै पालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने बताए । उपाध्यक्ष सीता गिरीले घोषणा भएको बिषयलाई कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको बताइन् । उनले भविष्यका कर्णधारका रुपमा बालबालिकाको संरक्षण र विकासमा धुर्कोट गाउँपालिकाले काम गरेको बताइन् ।

धुर्कोट गाउँपालिकामा हालसम्म जैसिथोकसहित छ वटा वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन् । यसभन्दा अगाडी वडा नम्बर १ देखि ५ सम्म सबै वडा घोषणा भएका छन् । कार्यक्रमकै अवसरमा अध्यक्ष पोखरेलले वडाध्यक्ष विर बहादुर जोगीँ कुँवरसहित वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सहयोग गर्नेलाई सम्मान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुरामा असिनापानी र हावाहुरीले तरकारी बाली ध्वस्त