सांसद कार्कीले गरिन् मगर गाउँदेखि सिकाली मार्ग जाने सडकको अनुगमन

ललितपुर । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले ललितपुरको मगर गाउँदेखि सिकाली मार्ग जाने ओह्रालो सडक खण्डको स्थलगत निरीक्षण तथा अनुगमन गरेकी छन् । सडकको ढलान विभिन्न स्थानमा फुटेको, घरहरूबाट ढल अव्यवस्थित रूपमा सडकमै फालिने गरेको तथा पटकपटक दुर्घटना हुने गरेको स्थानीयवासीबाट गुनासो आएपछि संयुक्त अनुगमन गरिएको हो ।

अनुगमनमा शहरी विकास मन्त्रालय, ढल व्यवस्थापन शाखा, सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो । निरीक्षणका क्रममा सडकको अवस्था जीर्ण बन्दै गएको, वर्षायाममा थप जोखिम बढ्ने अवस्था रहेको तथा ढल व्यवस्थापनको अभावले सर्वसाधारणलाई दैनिक आवतजावतमा समस्या भइरहेको विषय उठाइएको थियो ।

स्थानीयवासीहरूले सडक मर्मत, व्यवस्थित ढल निकास तथा दुर्घटना न्यूनीकरणका लागि तत्काल प्रभावकारी पहल गर्न माग गरेका छन् । उनीहरूले सडकमा पानी र ढल बग्ने समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

अनुगमनपछि सांसद डा. तोसिमा कार्कीले स्थानीयको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पहल गरिने बताइन् । उनले नागरिकको सुरक्षासँग जोडिएका विषयमा ढिलाइ नगरी काम गर्नुपर्नेमा जोड दिँदै सडक तथा ढल व्यवस्थापनलाई व्यवस्थित बनाउन पहल गरिने उल्लेख गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन