मेलम्ची सुरुङ दुर्घटनाले दिएको सन्देश

नेपालको अति प्रचारित मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्रको ढोका फुटेर पानीको उच्च बहावमा परी इन्जिनियर सतिश गोइत र सवारी चालक राधाकृष्ण थापा मगर बेपत्ता भएपछि भौतिक पूर्वाधार निर्माणको विषयलाई लिएर निकै गम्भीर बहस सुरु भएको छ । यसले एकातिर काठमाडौंमा काकाकुल अवस्थामा रहेका मानिसका लागि मुखैमा आइपुगिसकेको खानेपानी तत्काललाई खोसिने भएको छ भने अर्कोतिर यस्ता राष्ट्रिय गौरवका आयोजना अबका दिनमा आशा गर्न र भरपर्नलायकका हुने छैनन् भन्ने अविश्वासतर्फ धकेलेको छ । यसका साथै वर्तमान सरकारका पालामा देखाउन र प्रचार गर्नलायक हुँदै गएको यो खानेपानीको विफलताले ठूलै संकट खडा गरिदिएको छ । यद्यपि, मेलम्ची खानेपानको निर्माण प्रक्रिया यही सरकारको पालामा आएर मात्र अघि बढेको होइन । विवाद, झमेला र किचलोका धेरै वर्ष पार गरेर आजका दिनसम्म आइपुग्दा मेलम्चीले दर्जनांै सरकार फेरिसकेका छन् । तथापि, मेलम्ची खानेपानी टनेलका खण्ड कुनकुन सरकार र ठेकेदारका पालामा बनेका थिए भनेर रेकर्ड भने पल्टाउनु जरुरी भएको छ । यसकारण कि नेपालमा निकै लापर्बाहीका साथ सरकारी मिलेमतोमा गरिने निम्नस्तरको भौतिक पूर्वाधार निर्माण कार्य आजदेखिको रोग होइन, यसको निदान र आवश्यक कारबाही जरुरी छ ।

राष्ट्रिय गौरवका आयोजनादेखि भौतिक पूर्वाधार निर्माणका नियमित काममा समेत यस्ता गुणस्तरहीन काम हुने गरेका छन् । यसले एक त नेपाललाई सोचेअनुसारको आर्थिक समृद्धिको दिशामा डो¥याउन नसक्ने देखिन्छ, अर्कोतिर रणनीतिक महŒवका र बहुवर्षीय योजनाहरू भरपर्दा नरहेको प्रमाणित गर्दछ । यसमा सरकार नै पहिलो जिम्मेवार पक्ष रहन्छ । किनकि, सबै राष्ट्रिय गौरवका आयोजना तथा रणनीतिक महŒवका परियोजनामा केन्द्रीय सरकार र यस मातहतका निकाय प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । निर्माणका बखत यसले गर्नुपर्ने अनुगमन, निरीक्षण, छड्के जाँच तथा प्रगति विवरण मागलाई कत्ति पनि ध्यान नदिएको देखिन्छ । कर्मचारी भनेका अफिसमा बसेर ‘टेबुल वर्क’ गर्ने मात्र हुन् भन्ने धारणा जबरजस्त पालेर राख्ने र अर्कातिर मुनाफा वितरण प्रतिशत र कमिसनको खेलमा मात्र लाग्ने प्रवृत्तिले ठूलो काम गरेको छ । सरकारमा जानु र सरकारी जागिर खानु जनप्रतिनिधि र निजामती कर्मचारीका लागि पैसा कुम्ल्याउने र गगनचुम्बी महल बनाउने स्वर्णिम अवसरका रूपमा लिएको देखिन्छ । सार्वजनिक तथा जनसेवाको कामलाई अस्वीकार गर्दै भ्रष्ट आचरण अवलम्बन गरेको यसले पुष्टि गर्दछ ।

नियमित कामका लागि विनियोजित बजेट हरेक वर्षको असारे झरीमा सिध्याउने प्रचलन संस्कारका रूपमा विकास भएको छ । कमसल निर्माण सामग्रीको प्रयोग, कमजोर र काँचा प्राविधिकको बाहुल्य, भूसतह जाँचमा लापर्बाही, माटो तथा चट्टानी भूसतहमा पनि एकै मापदण्डको प्रयोग, नजरानाको चर्को दबाब, टिममा अदलीबदली र ठेकेदार हेरफेर तथा सत्तासीनहरूको आफन्तको रजगज आदिका कारण भौतिक पूर्वाधार निर्माणमा हदैसम्मको लापर्बाही देखिन्छ । टनेल निरीक्षणपछि मात्र ६० दिनमा मेलम्चीको पानी आइपुग्छ भनी आशा गरेर बसेका बेला उल्टै टनेल नै भत्किएर प्राविधिक कर्मचारीले ज्यान गुमानुपरेको दुःखद घटना राष्ट्रका लागि लज्जाको विषय हो भने जनताका लागि अविश्वास र निराशाको । त्यसैले, मेलम्चीले दिएको सन्देश’bout बेलैमा गम्भीर बनी भौतिक पूर्वाधार निर्माणका काम इमानदारिताका साथ अघि बढाउनु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३