यस वर्षको दसैं सुरु भइसकेको छ । घटस्थापनाको दिन राखेको जमरा उम्रिएर पहेलपुर भइसकेका छन् । काठमाडौंलगायत देशका ठूला सहरहरूबाट मानिस घर फर्र्कने क्रम बढिरहेको छ । सवारीको चाप बढिरहेकाले यात्रुलाई घर जान सजिलो होस् भनेर यातायातमा गाडी क्यू फ्री बनाइएको छ तैपनि यात्रुको चाप बढिरहेकै देखिन्छ । वैदेशिक रोजगारमा गएका नेपालीहरू स्वदेश फर्र्कने क्रम पनि जारी छ । पोहोर परार सालमा कोरोना महामारी संक्रमणका कारण दसैं र तिहार मनाउन नपाएका नेपाली यस वर्षको दसैं मनाउन निकै उत्सुक देखिन्छन् । चाडपर्व भनेपछि हुरुक्क हुने नेपालीहरू यस वर्ष खुला रूपमा पर्व मनाउन पाउँदा प्रफुल्ल देखिएका छन् । हुन त कोरोना महामारीको संक्रमण घटेको भने होइन । विभिन्न भेराइटिका कोरोना संक्रमण देखापरिरहेकै छन् तर पनि संक्रमण रोकथामका उपाय अपनाइरहेका र खोप पनि लगाइरहेकाले अघिल्ला वर्षहरूमा जस्तै यो वर्षमा महामारी संक्रमणको त्रास पूर्ण मनोविज्ञानमा कमी आएको देखिएको छ । महामारी लामो समयसम्म रहने र योसँग जुध्दै जीवन निर्वाह गर्नुपर्ने कुरा थाहा पाएपछि पनि सबै मानिस धैर्यताका साथ अघि बढ्ने सोच बनाएका देखिन्छन् ।
यो वर्षको दसैंमा लकडाउन वा निषेधाज्ञा लगाइएको छैन । मास्क लगाउन बानी परिसकेकाले प्राथमिक रोकथामका लागि त्यो धेरै भरपर्दो भइसकेको छ । त्यसैगरी, सामाजिक दूरी कायम गर्न र रोगको लक्षण देखिनेबित्तिकै सेल्फ आइसोलेसन र उपचारमा जाने भएकाले पनि सामाजिक परिवेश खुला गरिएको छ । जनस्तरबाटै सचेतता देखिएपछि सरकारी स्तरबाट पनि त्यति धेरै कडाइ गरिएको छैन । यसको अर्थ सबै कुरा खुला छोडेर महामारी संक्रमणप्रति बेवास्ता गरिएको छ भन्ने होइन । खोप केन्द्रहरूमा विभिन्नखाले खोप दिने क्रम जारी छ तर पनि आमजनतालाई खोप पु¥याउनेगरी खोपको विस्तार गर्न सकिएको भने छैन । महामारीले देश आक्रान्त भइरहेका बेला सरकारले मुस्किलका साथ मन्त्रिमण्डल विस्तार गरेको छ । बजारमा वस्तुभाउ निकै आकसिएको छ । सम्बन्धित निकाय बढी सतर्क भएको देखिँदैन । बिचौलियाहरूको मनोमानी देखिन्छ । सरकारले सुपथ मूल्यका पसल कतैकतै खोले पनि देशव्यापी रूपमा जनता भने कालाबजारीको मारमा परिरहेका छन् । कतैकतै खुलेका सस्तो पसलमा महँगो भाडा तिरेर दैनिक खाद्यान्न किन्न सक्ने आउने जनताको हैसियत छैन ।
दसैंसँगै पारिवारिक भेटघाट, खानपिन र लामो समयको सामाजिक भेटघाटले महामारी संक्रमणलाई बल दिने त होइन भन्ने आशंका उब्जिरहेको छ । स्वास्थ्यकर्मी तथा विषेशज्ञ खुला रूपमा दसैं मनाउन थालिएकोमा चिन्ता व्यक्त गरिरहेका छन् । अर्कोतिर हरेक उपभोग्य वस्तुको मूल्य अकासिएकाले जनता दसंै कसरी मनाउने भन्ने चिन्तामा परेका छन् । सरकारले यी सबै कुराहरूलाई मध्यनजर गरी पु¥याउनुपर्ने सेवासुविधा पु-याउन नसक्दा सबै बजार सधैंभरि बिचौलियाको हातमा पर्ने र सर्वसाधारण जनता ठगिनुपर्ने स्थिति रहिरहेको छ । सरकारले यो अवस्थाको अन्त गरी आफ्ना नागरिकलाई सुलभ र सहज सेवा पाउने वातावरणको विकास गर्न सक्नुपर्छ । सबैको घरदैलोमा आइपुगेको दसैंले सबैमा सद्बुद्धि देओस् र दसैं थप उत्साह र उमंगका साथ मनाउन सकियोस् । दसैंको यही शुभकामना ।






