काठमाडौं । रौतहटका शेख तौफिक अहमद, श्रीकृष्ण बिष्ट र सचिन्द्र यादवलाई रोजगारदाता कम्पनीले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उद्धार गरी नेपाल फर्काएको छ । वैदेशिक रोजगारीको सिलसिलामा करिब एक वर्षअघि साउदी अरब पुगेका उनीहरूलाई नेपाली दूतावास रियादका अलकासिम प्रतिनिधि विशालकुमार श्रेष्ठ र एनआरएनए आरसीसी अलकासिमकका प्रवक्ता अली उर्सिन मियाको सहयोगमा नेपाल फर्काइएको हो ।
उनीहरू एक वर्षअघि प्रतिज्ञा कन्सलटेन्सीमार्फत साउदीको माली कन्ट्याक्टिङ कम्पनीमा पुगेका थिए । कम्पनीले तीन महिनापछि अकामाको नवीकरण नगरेको र विगत दुई महिनादेखि गैरकानुनी हैसियतमा काम नभएर कोठामा बस्दै आएका थिए ।
दूतावासको सहकार्यमा एक्जिट (बहिर्गमन) भिसाका लागि आवश्यक कागजात ओनैजा लेवरकोर्टमा पेस गरिएको थियो । निरन्तरको प्रयासप्रश्चात् उनीहरूले एक्जिट भिसा प्राप्त गरी स्वदेश फर्काउन सफल भएको गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अलकासिम साउदीका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिए । यस्तै, कास्कीका रन्जित भुजेललाई पनि उद्धार गरी नेपाल फर्काइएको छ ।
भुजेल दुई वर्षअघि सनराइज म्यानपावरमार्फत अफ्ताब मेन्टिनेन्स सोलुसन कम्पनीमा इलेक्ट्रिसियनको कामका साउदी पुगेका थिए । कम्पनीले ६ महिनापछि अकामाको नवीकरण नगरी काम लगाइरहेको र अकामा नवीकरण नभएकाले नेपान जान नपाएको उनलाई पनि एनआरएनले सहयोग गरी एक्जिट भिसा प्राप्त गरी स्वदेश फर्काइएको हो ।
साउदीमा रोजगारदाता कम्पनीले इकामा नबनाइदिने करारबमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । जसले गर्दा विदेशमा श्रम गर्न पुगेका नेपाली दाजुभाइलाई बाहिर हिँडडुल गर्न समस्या हुने गरेको छ ।
यस्ता घटनालाई कम गर्न नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समातेर आफ्नो अधिकार लिन अनुरोध गरेको छ ।
पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौताअनुसारको तलब नपाउने र पाए पनि समयमा नपाउँदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउनेछन् । साउदीमा करिव ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।