काठमाडौं । आगामी असोज २८ र २९ गते भक्तपुरको कमलविनायकमा नेपाल भाषा साहित्य तः मुंज्या –वृहत सम्मेलन हुने भएको छ । हरेक वर्ष विजया दशमीलगत्तै नेपाल भाषा साहित्य तःमुँज्या गरिंदै आएको छ ।
साहित्य सम्मेलनलाई सफल बनाउन बुधबार महिला सहयोग समिति गठनको लागि महिला भेलाको आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तःमुज्या वर्गिय रुपमा कामदार वर्गको हितको निम्ति प्रचार गर्ने मञ्च भएको बताए ।
उनले भक्तपुर नगरपालिकाले निःशुल्क रुपमा अक्सिजन ग्याँस वितरण गर्दै आएाके बताउँदै ख्वप अस्पतालले वर्षमा २ लाख ५३ हजारलाई सेवा दिइरहेको जानकारी दिए ।
असोज २८ र २९ गते हुने ४४ औ तःमुज्यामा पनि विगतमा झै महिलाहरुले अतिथिहरुलाई शिष्टता पूर्वक स्वागत गर्ने आशा गरेको बताउँदै यसैं कारणले पनि भक्तपुरको इज्जत वढिरहेको भनाइ उनले राखे ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रीय उपाध्यक्ष कमलमाया सुवालले महिला गतिविधिलाई अगाडी बढाउन अघिसर्नु पर्ने बताइन् । तःमुंज्या सफल पार्न एक हातले ताली वज्दैन भनेजस्तै महिलाहरुको सक्रियता र सहयोगबाट सफल बनाउने आग्रह गरिन् ।
कार्यक्रमका सभापति कृष्ण लवजुले विगतमा तः मुज्याको स्मरण सुनाउँदै तः मुंज्या सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्ण प्रसाद धन्छाले अतिथिहरुलाई शिष्टतापूर्वक स्वागत सत्कार गरी राम्रो व्यवहार गर्नु पर्ने वताए ।