काठमाडौं । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचारी र अपराधी जोगाउन वर्तमान सरकार बनेको’ अभिव्यक्ति दिएको ‘काउन्टर’मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘माओवादीले जनयुद्धका नाममा हिंसा फैलाएको’ दाबी गरेका छन् ।
प्रतिनिधिसभामा बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद्बीच ‘माओवादीको १० वर्षे जनयुद्ध’bout नोकझोक चलिरहेकै’ बेलामा प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई शनिबार सम्बोधन गर्दै माओवादीले जनयुद्धको नाममा हिंसा फैलाएको, अन्धाधुन्ध मान्छे मारेको र लुटेको आरोपसमेत लगाए । तत्कालीन समयमा माओवादीको गतिविधिलाई लिएर आफूले चर्को प्रतिरोध गरेको पनि उनले दाबी गरे ।
ओलीले यसअघि पनि माओवादीको सशस्त्र विद्रोहलाई हिंसाको संज्ञा दिँदै आएका छन् । ओलीले जनयुद्धलाई हिंसा भनेपछि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसको प्रतिकार गर्दै आएका छन् । हालै प्रतिनिधिसभा बैठकमा एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे सशस्त्र विद्रोहलाई हिंसा भन्दै टिप्पणी गरेपछि संसदमै तनाव उत्पन्न भएको थियो ।
संविधानले नै माओवादी आन्दोलनलाई सशस्त्र विद्रोहका रूपमा स्वीकार गरिसकेको अवस्थामा हिंसा भनेर माओवादी आन्दोलनलाई होच्याउने काम आफूलाई स्वीकार्य नभएको भन्दै माओवादी नेताहरूले प्रतिवाद गर्दै आएका छन् ।
‘माओवादीले जनयुद्धका नाममा हिंसा फैलाइरहेको बेला, अन्धाधुन्द मान्छे मारिरहेको बेला, लुटिरहेको बेला, त्यसबेला चर्को प्रतिरोध गरेँ मैले । व्यक्तिगत तबरमा पनि मसँग सेना, प्रहरी थिएनन् । तर, मैले चर्को विरोध गरेँ । त्यो खाली एउटा मोरल साहस मात्रै हो । सत्यप्रतिको मेरो निष्ठा मात्रै हो, तपाईंहरू गलत गर्दै हुनुहुन्छ, यो बन्द गर्नुस् भन्ने कुरा लगातार गरें,’ ओलीले भने ।
उनले अगाडि थपे, ‘यो बेठीक हो भने, विरोध मात्रै गरिनँ, मैले कसरी वार्ताद्वारा समायोजन गर्नुपर्छ भनेर लेख लेखेँ, पछि २०६३÷६४ मा जेजे कुरा भए, मैले २०५८ सालमा भनेका थिएँ, संवादका माध्यमबाट समस्या समाधान गरौं, हिंसा गरेर, हिंसा भड्काएर र मान्छे मारेर समस्या समाधान हुँदैन, तर फेरि माओवादी हिंसालाई नरोक्ने हो भने त्यो रोकटोकबिना अगाडि बढ्दै जाने भयो, हिंसाको प्रवृत्ति र मनोबल बढ्दै जानेभयो, रोक्ने प्रयास राज्यका तर्फबाट भया, जायज प्रयास भयो, त्यसमा राज्य मूकदर्शक भएर बस्न सक्दैनथ्यो ।’
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीबाट नडराउने बताए । प्रचण्डले संसदमा बोल्दा बंगलादेश र श्रीलंकाको घटनाबाट सिक भनेर अर्ती तथा उपदेश दिएको प्रसंग निकाल्दै ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने जवाफ फर्काए ।
‘हिजो मात्रै प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र ? खुट्टा कमाउने ? मैले त डराउनुपर्ने केही छैन, श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर जोे चर्को स्वरमा भन्दै हुनुहन्छ, म भन्न चाहन्छु, बंगलादेशमा जे भयो भनेर नेपालमा त्यही हुन्छ भन्ने ?’ ओलीले भने, ‘नेपाल कुनै देशको फोटोकपी मेसिन होइन, यहाँको आफ्नै इतिहास र परम्परा छ । डेमोक्रेसी हामीले लडेर ल्याएका हांै, अहिलेको संविधान हामीले लेखेको हो, म त्यो हैसियत राख्छु, यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो, जो यहाँ भइरहेको प्रणाली र डेमोक्रेसीविरुद्ध लड्यो अनि उसैका ठूला कुरा ।’
उनले नेपालमा अब त्यस प्रकारको हिंसा सम्भव नभएको बताए । ‘अब त्यस प्रकारको हिंसा गर्न दिइँदैन, कसैले गर्न खोजे पनि वा चाहे पनि सम्भव छैन, उल्टै हामीलाई तर्साउन खोज्ने, हामी त सधैं बारुदमाथि, बारुदकैबीच यात्रा गरेर आएका हौ, आधा शताब्दीभन्दा बढी समयदेखि म यही देश बनाउने अभियानमा लागेको छु, भ्रष्टाचार गरेको छैन, गर्दिनँ र गर्न दिन्नँ, अब यहाँ नेपालमा त कस्तो भयो भने ३५ क्विन्टल सुन ल्याउनुपर्ने रहेछ, त्यो ल्याउनुपर्यो भने पशुपतिमा पित्तल चढायो र सुन चोर्यो भन्दिने, पार्लियामेन्टमा बोले ? किन बोले भनेको सुन वारपार गर्न रहेछ,’ उनले भने ।
यसैबीच, एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नो पार्टीले जनयुद्ध नमान्ने टिप्पणी गरेका छन् । उनले जनयुद्धलाई एमालेले माओवादी हिंसा मान्दै आएको उल्लेख गरेका छन् । यही कुरा योगेश भट्टराईले संसदमा बोल्दा व्यक्तिगत रूपमा भट्टराईमाथि तुच्छ प्रकारका लाञ्छना लगाउने, चरित्र हत्या गर्ने र असान्दर्भिक विषयवस्तु उछाल्ने र मनोबल कमजोर बनाउने प्रयास गरिएको उल्लेख गरेका छन् । उनले योगेशमाथि ज्यादती हुनु एमालेमाथि नै ज्यादती भएको जनाएका छन् ।
‘माओवादीले १० वर्षसम्म चलाएको हतियार बन्द राजनीति’bout नेपाली समाजमा तीव्र मतभेद छन् । त्यस सम्बन्धमा राजनीतिक दलका आआफ्नै मान्यता छन् । नेकपा (एमाले)ले त्यसलाई माओवादी हिंसा मान्दै आएको छ, ‘जनयुद्ध’ मान्दैन’ रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
एमालेका साढे ३ सयभन्दा बढी कार्यकर्ता माओवादीबाट ज्यान गुमाएका छन्, कैयौं अंगभंग र विस्थापित भएको उनले उल्लेख गरेका छन् । त्यसैले, एमालेले कहिल्यै पनि ‘जनयुद्ध’ भनेर स्विकार्दैन, त्यसलाई ‘उग्रवामपन्थी भड्काव र हिंसात्मक कार्य’ मान्दै आएको उनको भनाइ छ ।
‘हामीले साझा दस्तावेजमा सशस्त्र संघर्ष भनेका छौं, ‘जनयुद्ध’ होइन । जब माओवादीले साझा दस्तावेजमा भएको कुरा नबोलेर ‘जनयुद्ध’ प्रयोग गर्दा हुन्छ भने नेकपा (एमाले) ले पनि आफ्नो भाषा प्रयोग गर्न पाउँछ, यसवापत् नेकपा (एमाले)का लोकप्रिय नेता, जनताका प्रतिनिधि र पार्टीका सचिव योगेश भट्टराईमाथि ज्यादती हुनु अन्ततः नेकपा (एमाले) माथिकै ज्यादती हो,’ उनले लेखेका छन् ।