काठमाडौं । हालै रोल्पामा आफ्नै आमालाई छोराले बलात्कार गरेको घटना समाचारमा पढ्दा अभिनेत्री शिल्पा मास्के निकै दुःखी भईन् । यस्ता घटनाहरुले उनलाई आजकाल निकै पिरोल्ने गरेको छ । यो सँगै नेपालको न्यायिक प्रकृयाप्रति पनि यी अभिनेत्री त्यत्तिकै दुःखी छिन् ।
मुलत बलात्कार प्रकरणमा पीडित पक्ष आफैमा पीडामा हुन्छन् । त्यसमा पनि पीडित पक्षले लामो समयसम्म न्याय नपाउँदाको घटना निकै दुःखद हुने गरेको यी अभिनेत्रीको कथन छ । शास्त्रीय मान्यता अनुसार नेपाली समाजले नारीलाई देबीको रुपमा हेर्ने गरेको छ । तर यही समजका भक्षकहरुले तिनै देवीमाथि हिंसा र बलात्कार गर्नु प्रति आक्रोशित हुँदै किन पुरुषहरु यस्तो सम्म भएका हुने भन्ने उनले प्रतिप्रश्न गरिन ।
शिल्पाको कथनमा अहिले पनि मुख्य शहरबाहेक मुलुकका ग्रामिण क्षेत्रमा हुने गरेका बलात्कारका घटनालाई पारिवार भित्रै मिलाउने गरिन्छ । अभिनेत्री मास्केको यही शुक्रबारबाट चलचित्र ‘देबी’ रिलिज हुँदैछ । यो चलचित्रमा उनी शिर्ष भूमिकामा छिन् । यही प्रसँगमा राजधानीसँगको भेटमा उनले नेपालमा महिलामाथि हुने यौनजन्य हिँसा बढ्दो क्रममा रहेको बताएकी छिन् ।
शिल्पाको भनाईमा यो चलचित्रमा उनले अपराध बिट हेर्ने महिला पत्रकारको भूमिका निर्वाह गरेकी छिन् । यो भूमिका निर्वाह गर्न उनले क्राईम बिटका पत्रकार र महिला पत्रकारसँग सुरुमा सँगत पनि गरिन्,‘नेपालमा महिला पत्रकारहरुका अझै पनि धेरै समस्या रहेछन् । यस्तै क्राईम बिटमा काम गर्ने पत्रकारहरु त्यत्तिकै जोखिममा हुँदा रहेछन भन्ने कुरा मैले यो चलचित्रमा पत्रकारको भूमिका निर्वाह गर्ने क्रममा महसुस गरेँ ।’ शिल्पाले भनिन् ।
शिल्पाको भनाईमा नेपालमा अहिले पनि वर्षमा महिला हिन्सामा केन्द्रित करिब करिब १३ हजार घटनाहरु प्रहरीमा दर्ता हुने गरेका छन् । ती मध्य एक तिहाई घटना बलात्कारमा आधारित रहने गरेको उनले बताईन् । परिवारका सदस्य तथा आफन्तबाट हुने गरेका कतीपय बलात्कारका घटनाहरु घरमा लुकाईने र प्रहरीमा दर्ता नहुने गरेको पनि उनले बताईन् ।
करिब एक दर्जन चलचित्रमा नायिकाको रुपमा काम गरेकी शिल्पाले चलचित्र देवीमा निर्माताको रुपमा लगानी पनि गरेकी छिन्,‘यो चलचित्रको कथा मलाई साह्रै नै मन परेको अबस्थामा सामाजिक मुद्धा भन्दै यसमा धेरैले लगानी गर्न चाहनु भएन । ब्यबसाय भन्दा सामाजिक दृष्टिकोणले यस्ता चलचित्र निर्माण हुनुपर्छ भनेर चलचित्र देवीमा म आफैंले पनि सह निर्माताको रुपमा लगानी गरेका हुँ ।’ यस्ता चलचित्र निर्माण गर्नु समाजप्रति आफ्नो दायित्व पनि भएको उनले बताईन् ।
‘ब्यबसायिक चलचित्र त जसले पनि बनाउँन चाहन्छ् । चलचित्र भनेको ब्यापार मात्र नभएर समाज परिवर्तनको माध्यम पनि भएकाले नारी हिन्सामाथि हुने घटनामा केन्द्रित यस्ता चलचित्र बनाउन हामीले पनि सघाउनु पर्छ ।’ अभिनेत्री शिल्पाले भनिन्,‘हामीले निर्माण गरेको चलचित्र हेरेर समाजमा थोरै भए पनि बलात्कार तथा महिला हिन्साका घटनाहरु कमी भयो भने त्यसलाई हामी सफलता मान्ने छौं ।’
चलचित्र देवीको ट्रेलर हेर्दा कञ्चनपुरकी दिवँगत बालिका निर्मला पन्तको घटना जस्ता देखिन्छ । तर नेपालमा बलात्कारपछि निर्मला पन्तजस्ता धेरै नारीहरुको हत्या भएकाले ती सबैको कथा आफुहरुले यो चलचित्रमा उठाएको पनि उनले बताईन् । सँजोग राईले निर्देशन गरेको यो चलचित्रमा अभिनेता नाजिर हुसेन र गौरव पहारीले अभिनेत्री शिल्पालाई मुख्य चरित्रमा सघाएका छन् ।
चलचित्रलाई तीजकै अबसरमा सार्वजनिक गर्नुको कारण पनि यो नारी केन्द्रित चलचित्र भएर नै हो भन्ने कथन यी अभिनेत्रीको छ । समाजमा नारीलाई देबी भन्ने तर उनीहरुमाथि नै हिँसा हुने गरेकाले अब यस्तो नहोस र नारीलाई देवीकै रुपमा हेरियोस भनेर चलचित्रको नाम देवी राखिएको पनि अभिनेत्री एवम् निर्माता शिल्पा मास्केले राजधानीलाई प्रस्ट्याईन् ।
क्यामेराको अगाडि अभिनय गरिरहेकी शिल्पालाई क्यामेरा पछाडी निर्माताको जिम्मेवारी बहन गर्न यसपटक निकै गाह्रो भयो,‘चलचित्रको निर्माता भएपछि त धेरै नै जिम्मेवारी हुँदो रहेछ । पैसाको ब्यबस्था गर्नु देखि राम्रो चलचित्र बनाएर हलसम्म ल्याएर दर्शकको मन जित्नु साँच्चैमा ठुलो चुनौती रहेछ ।’ यसपटक चलचित्र बनाएपछि निर्माताहरुको पीडालाई आफुले नजिकबाट बुझ्ने अबसर पाएको उनले बताईन् । तथापि आउँदा दिनमा पनि अभिनेत्रीसँगै निर्माताको रुपमा पनि चलचित्रमा प्रस्तुत भईरहने यो अभिनेत्रीले जनाईन् ।