गुल्मी । गुल्मीका दुई पालिकाले तरकारी र फलफूलको बजारीकरणको सुरुवात गरेका छन् । जिल्लाको धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाले गाउँको कृषिजन्य उत्पादनको बजारीकरणको सुरुवात गरेका हुन् । धुर्कोटले किसानको उत्पादनको बजारीकरणको लागि बुटबलको देविनगरस्थित पहाडी ताजा तरकारी पसलसँग र रुरुक्षेत्रले पाल्पाको मिलनसार सामाजिक उद्यमी महिला सहकारीद्धारा संचालित तरकारी थोक बजारसँग सम्झौता गरेका छन् । पालिकाले किसानको उत्पादन खरिद गर्ने र सोही मूल्यमै पसललाई बिक्री गर्ने गरेका छन् । जसका लागि कर्मचारी र ढुवानी खर्च पालिकाले व्यहोर्ने सहमति रहेको छ ।
पालिकाले किसानसँगबाट तामा, करेला, बोडी सोस्ता, स्कुस, कागती, फर्सिको मुन्टा, चिचिन्ना, नस्पाती, पुदिना, सिन्की, काक्रो लगायतका तरकारी तथा फलफुल खरिद गरिरहेका छन् । किसानका कृषिजन्य सामग्री खरिद गर्नका लागि पालिकाले प्रत्येक हप्ताको दुइपटक तरकारी भएको टोलमा सवारी पठाउने गर्दछन् । धुर्कोटमा आइतबार र बिहीबार तथा रुरुक्षेत्रमा मंगलबार र शनिबार किसानको तरकारी संकलन हुँदै आएको छ ।
दुवै पालिकामा गरी अहिलेसम्म एक सय क्विन्टल तरकारी बिक्री भइसकेको छ । जसमध्ये धुर्कोटबाट ३० क्विन्टल बिक्री भएको छ । धुर्कोटमा प्रति केजी तरकारीको मूल्य औषतमा ४० रुपैँयाका दरले हालसम्म एक लाख २० हजारको तरकारी बिक्री गरेको धुर्कोट कृषि परियोजनाका संयोजक भरत भण्डारीले जानकारी दिए ।
रुरुक्षेत्रबाट हालसम्म ७० क्विन्टल तरकारी बिक्री भएको छ । रुरुक्षेत्रमा औषतमा तरकारीको मूल्य ४५ रुपैँयाका दरले हालसम्म दुई लाख ८० हजारको तरकारी बिक्री भएको रुरु कृषि परियोजनाका संयोजक प्रकाश चालिसेले जानकारी दिए ।
दुवै पालिकाबाट हालसम्म चार लाखको तरकारी तथा फलफूल बिक्री भएको छ । धुर्कोटमा महिनाको पहिलो हप्तामा किसानले बिक्री गरेका सामग्रीको नगद मूल्य पाउदछन् भने रुरुक्षेत्रमा नगदै कारोबार गरिएको छ ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले किसानको उत्पादनको बजारीकरणको ग्यारेन्टी गरेको बताए । आफुहरुले गरेको कामबाट बिचौलियाको समेत अन्त्य भई किसानले उत्पादित वस्तुको उचित मूल्य पाउने समेत उनले बताए । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष गाउँमा ठुला उद्योग स्थापना गर्न असम्भव भएकोले कृषिजन्य उत्पादनको बजारीकरण गरेको बताए । उनले जतिसक्दो धेरै उत्पादन गरी आम्दानी गर्न समेत कृषकहरुलाई आग्रह गरे ।