नेपाली जनता गठबन्धनको जुवाबाट विरक्त छन् । काम केही नहुने, तर नाम मात्रको सरकार सदावहार छाइरहने । यसको अन्त्यका लागि दलहरूले दलीय प्रतिस्पर्धा गर्नुपर्छ ।
अहिले एमालेले आगामी निर्वाचन एक्लै लड्ने कुरा गरिरहेको छ । उसले २०८४ सालको निर्वानपछि एकल बहुमतको सरकार बनाउने कुरा अघि सारेको छ । यसका लागि देशव्यापी अभियान अघि बढाउने भएको छ ।
यो खुसीको कुरा हो । नेपाली कांग्रेस, माओवादीलगायतका दलहरू पनि एकल प्रतिस्पर्धामा उत्रिन आँट गर्नुपर्छ । होइन भने गठबन्धनलाई भोट नदिने संस्कारको विकास नेपालीले बसाउनुपर्छ । एउटा ठूलो पार्टी सरकारमा जाने र अर्को कम जनमत पाएको पार्टी प्रतिपक्षमा बस्ने नगर्दासम्म देश राजनीतिक रूपमा उँभो लाग्दैन ।
राजनीतिले प्रभाव पार्ने समग्र क्षेत्र पनि यसबाट प्रभावित हुनगई देश अप्ठेरोमा पर्छ ।
हाल एमालेले मिसन ग्रासरुट र मध्यपहाडी संकल्प यात्राको अनुभवका आधारमा नयाँ प्रस्ताव ल्याएको भनेको छ । यस अनुभवका आधारमा नेपाली विशिष्टता समेटेर बनाइएको उसको दाबी छ । नेपाली कांग्रेस पनि एजेन्डाका हिसाबले कमजोर छैन । तर, त्यसलाई उठाएर नेतृत्व गर्ने नेताको अभाव छ, त्यहाँ ।
पुराना तथा नयाँ भनिने नेता पनि पुरानै ढर्राका छन् । आफ्नो विगत उत्खनन् गर्ने, त्यसलाई वर्तमानमा तुलनात्मक अध्ययन गर्ने र भविष्यको खाका कोर्ने बानी र संस्कार दलहरूमा छैन । दलहरू यस मानेमा चनाखो हुनुपर्छ ।
२०८४ सालको निर्वाचन अप्ठेरो लाग्ने र मन नपर्ने खालको बनाउनुहुँदैन । यसले देश र जनताको प्रगति र उन्नतिको नेतृत्व गर्ने बहुमतको सरकार दिनुपर्छ । जनताका इच्छा आकांक्षा समयमै बुझ्न र सम्बोधन गर्न सिपालु हुनुपर्छ ।
आगामी आमनिर्वाचन दलीय प्रतिस्पर्धाको रणसंग्राममा परिणत हुनु देश र जनताका लागि उत्तम हुने देखिन्छ ।