वीरगन्ज । आर्थिक मन्दीको चपेटाले सबैक्षेत्र थिलथिलो भइरहेको समयमा मिडिया हाउसले प्रादेशिक कार्यालय विस्तार गर्नु सकारात्मक कदम मानिएको छ । समुन्नतिको वाधक आर्थिक मन्दीको क्षणमा पनि न्यूज २४ टि भी ले आफ्नो प्रादेशिक कार्यालय विस्तार गर्नु सकारात्मक कदम मानिएको हो ।
मुलुकको पछिल्लो संरचना अनुसार प्रदेश विस्तार भएसँगै आफ्नो प्रादेशिक कार्यालय विस्तार पनि मिडिया हाउसहरुले विस्तार गरिरहेका छन् । सो क्रममा प्रदेशको राजधानी जहाँ हुन्छ ? त्यही अन्य निकायको पनि प्रादेशिक कार्यालय विस्तार गर्ने होड नै चलेको थियो । तर राजधानी दैनिक र न्यूज २४ टि भी ले भने त्यो निरन्तरतालाई क्रमभंग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरमा प्रादेशिक कार्यालय विस्तार नगरी मधेश प्रदेशकै सुदूर पश्चिममा पर्ने पर्सा जिल्लाको वीरगन्जमा आफ्नो प्रादेशिक कार्यालय विस्तार गरेका हुन् ।
वीरगन्जमा ३ बर्ष अगाडी राजधानी दैनिकले पनि प्रादेशिक कार्यालय खोलिसकेको थियो । प्रदेशको राजधानीभन्दा अलि हटेर पनि प्रदेश कार्यालय संचालन गर्न सकिन्छ भन्ने यो दोस्रो उदाहरण हो । यसले कामका लागि केन्द्रको राजधानी वा प्रदेशको पनि राजधानी भएकै ठाउँमा अन्य निकायको पनि प्रदेश कार्यालय हुनु पर्छ भन्ने भ्रम तोडेको छ । न्यूज २४ टि भी को प्रादेशिक कार्यालय सहित वीरगन्जमा मिडिया हाउसका दुईवटा प्रदेश कार्यालय भइसकेका छन् ।
न्यूज २४ टेलिभिजन (टि भी) को प्रादेशिक कार्यालय ‘उद्घाटन’ मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गरे । उनले सो क्रममा केन्द्रिय सरकार र निकायले प्रदेशलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै मिडिया हाउसहरुले प्रदेशलाई समेट्न खोज्नु सकारात्मक भएको तर्क गरे । मुलुकको राजधानी बाहिरबाट पनि प्रत्यक्ष रुपमा आवाज बिहिनहरुको आवाज बाहिर ल्याउन टि भी को शाखा विस्तार भएकोमा उनले शुभकामान दिए ।
मधेश प्रदेश सरकारले पर्यटन (टुरिज्म) र आर्थिक पक्षको सफलताका लागि नीतिगत रुपमा काम गरिरहेको मुख्य मन्त्री सिंहको दावी छ । टुरिज्मको सन्दर्भमा ४ सर्किटमा काम अगाडी बढाइसकिएको पनि उनले दावी गरे ।
टेलिभिजनका केन्द्रिय व्यूरो प्रमुख राजु श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुख्य मन्त्री सिंहले मुलुकका लागि ठूलो योगदान गर्ने मिडियाकर्मीको हितको लागि मधेश प्रदेश सरकारले १ लाखको स्वास्थ्य बीमा र ७ लाखसम्मको दूर्घटना बीमा कार्यक्रम पनि ल्याइरहेको बताए ।
सो कार्यक्रममा मधेश विश्व विद्यालयका उपकुलपति डा.दीपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, उद्योग बाणिज्य महासंघका मधेश प्रदेश अध्यक्ष अशोक टेवानी र उद्योग बाणिज्य संघ वीरगन्जका अध्यक्ष अनिल अग्रवाललगायतले शुभकामना मन्तव्य दिदै वीरगन्जमा मिडिया हाउसको प्रदेश कार्यालय विस्तारले संघीयता सुदृढीकरणमा बल पुग्ने बताएका थिए ।
टि भी को पर्सा सम्वाददाता मुस्कान श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा वक्ताहरुले संचार गृहहरुको कार्य विस्तारले यहाँका समसामयिक बिषय बस्तु अझ उजागर भई समुन्नतिका लागि बल पुग्नेमा जोड दिएका छन् ।