स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गृह मन्त्रालयलाई ईलाका प्रशासनको कार्यक्षेत्र बिस्तारको गरिदिन गरेको पत्राचार स्वकृति भएको छ । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट भीरकोट ८ का नागरिकले ईलाका प्रशासन वालिङबाट सेवा पाउनेगरी कार्यक्षेत्र बिस्तार गर्ने निर्णय गरेको हो । भीरकोटका नागरिकले नागरिकता देखी अन्य प्रशासनीक कामका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जा जानुपर्ने बाध्यता रहदै आएको थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २०८० भदौ ८ गते भीरकोट ८ (साविक ढापुक सिमलभञ्याङ गाविस) का नागरिकलाई जिल्ला प्रशासनबाट सेवा प्रवाह भैरहेकोमा ईलाका प्रशासन वालिङ पायक पर्नेहुँदा सोही बमोजिम कार्यक्षेत्र बिस्तार गरिदिन अनुरोध गरेको थियो । जिल्ला प्रशासनले पठाएको अनुरोधलाई गृह मन्त्रालयको भदौ ९ गते बसेको सचिव स्तरको बैठकले ईलाका प्रशासन कार्यालय वालिङबाट सेवा प्रवाह गर्नु भन्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । ईलाका प्रशासनको कार्यक्षेत्र बिस्तार सगै अव भीरकोट ८ का नागरिकले नागरिकता, राहदानी (पास्पोर्ट) लगायतका सेवा वालिङबाटै पाउने व्यवस्था मिलाइएको सप्रजिअ पौडेलले बताए ।
मालपोतको काम वालिङबाट हुने र नागरिकता लगायतका अन्य प्रशासनीक सेवाका लागि जिल्ला प्रशासन जानुपर्ने बाध्यतालाई गृह मन्त्रालयले सहज बनाइदिएको छ । गृह मन्त्रालयमा तत्कालिन अवस्थामा स्याङ्जाकै एकनारायण अर्याल सचिव भएका कारण यो निर्णयले सार्थकता पाएको हो । अर्याल अहिले नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएका छन् । मुख्य सचिवमा नियुक्त भएसगै अर्यालले अव ईलाका प्रशासन वालिङमा छिट्टै उपसचिव दरबन्दी कायम गर्ने प्रतिवद्धता जनाएका छन् ।
शाखा अधिकृतबाट कार्य सम्पादन गरिदै आएको ईलाका प्रशासनमा उपसचिवको दरबन्दी कायम भएमा थप सेवा उपलब्ध हुने छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट भन्दा बढी सेवा प्रवाह ईलाका प्रशासन वालिङबाट हुदै आएकोले थप दरबन्दी कायम गरिनुपर्ने सुझाव प्रशासनले दिदै आएको थियो ।