वीरगन्ज । तराई मधेशको लाइफ लाइनका रुपमा हेरिएको हुलाकी राजमार्ग नेपालले आफै बनाउन थालेको धेरैवर्ष भएको छैन । मध्य तराईका ४ जिल्लाको कुल १५३ किलोमिटर दूरी मध्ये ८६ प्रतिशत काम अलिहेसम्म सम्पन्न भइसकेको छ ।
अझ पर्साको ठोरी र चितवनको माडी बीच जंगलको बफरजुनमा पर्ने १५ किलोमिटर दूरीको बिषयमा नेपाल सरकारको एउटा निर्णय आए केही विलम्ब हुने कुरा पनि छोटिने पाइएको छ । यसको अलावा रौतहट–सर्लाही जोड्ने बागमती पुल सहित रौतहटकै भकुवा र लालबकैया खोलामा पुल निर्माण हुन बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय पर्साका सूचना अधिकारी संजय ठाकुरले बताए ।
सरकारी निर्णयको प्रतिक्षा
त्यसै गरी बाराका पनि पसाहा, बंगरी, दुधौरा र सिंगाहा खोलाका पुल एकतर्फी मात्र सवारी चल्छन् । यी पुलको स्तरउन्नति र पर्साको ठोरी–चितवन बीचमा पर्ने जंगलस्थित बफरजुनको १५ किमी दूरी निर्माण कार्य बाँकी छ । यसै गरी चितवन जिल्लामा पर्ने १२ वटा पुल निर्माण कार्यमध्ये मुगई खोलाको ९७ मिटर पुल, भालुखोलाको १६ दशमलब २ मिटर पुल निर्माण, घाघर खोलाको १२७ मिटर पुल, बगई खोलाको १११ दशमलब १० मिटर पुल र पतरी खोलाको पनि ४१ दशमलब २ मिटर पुल निर्माण टुंगिने हो भने चार जिल्लाको १ सय ५३ किलोमिटरमा सडक पूरै सम्पन्न हुने कार्यालयको भनाइ छ । २२ किलोमिटर अल्झनको कारण मध्य तराईका ४ जिल्लामा हुलाकी राजमार्गको सबै काम सम्पन्न भयो भन्न रोकिएको सूचना अधिकारी ठाकुरले तर्क गरे ।
मध्य तराईका ४ जिल्लामा ८६ प्रतिशत काम सम्पन्न भइसकेको निर्देशनालय योजना कार्यालय पर्साका सूचना अधिकारी ठाकुरले बताए । साविकको पर्साको ठोरी र चितवनका बीच ४ किमी सडक जंगलको बफरजुन ईलाकामा परेको छ । सो ठाउँबाट सडक पार गर्न अन्तराष्ट्रिय वन ऐनले रोकिदियो । फलतः ठोरी माडी तर्फ सामान्य बफरजुनकै इलाकाबाट सडक लाने तयारीको लागि नेपाल सरकारको स्वीकृति कुर्न परेको छ । सरकारको यो एउटा निर्णय आए थप ११ किलोमिटर दुरी पनि निर्माण चाँडै सकिने थियो उनले बताए ।
यसको अतिरिक्त रौतहटका पुल छेउको केही जग्गाको विवादले कुल सडकमा १४ प्रतिशत काम मात्र बाँकी रहेको निमित्त कार्यालय प्रमुख समेत रहेका ठाकुरले बताए । पहिले हुलाकीहरुले चिठ्ठीपत्र लिएर हिँड्ने उत्तर दक्षिणका छोटा सडक र तराई मधेशको लाइफ लाइनको रुपमा हेरिएको यो राजमार्ग निर्माणले मधेशका जनतालाई अति सहज हुने अपेक्षा छ ।
हुलाकी राजमार्ग नबन्दा साविकमा पर्साको ठोरीका नागरिक सदरमुकाम वीरगन्ज आउन भारतको बाटो भएर दुई दिन समय खर्चिन्थे । तर अहिले हुलाकी राजमार्ग बनिसकेपछि पर्साको ठोरी–वीरगन्ज १ घण्टाको बाटो भएको उदाहरण हुलाकी राजमार्ग निर्देशनालयका कर्मचारी नै दिए । हुन पनि विगतमा पर्साको ग्रामिण क्षेत्रका जनतालाई सदरमुकाम आउन सहज थिएन । अहिले हुलाकी राजमार्गले पर्सा, बारा र रौतहटका अधिकाँश किसानको पहुँच सीधा सदरमुकामसँग भएको छ । सदरमुकामका नागरिकले पनि गाउँमा उत्पादन भएको ताजा फसल एकैछिनमा बजारमा पाउन थालेको वीरगन्जका संजय चौरसियाले बताए । हुलाकी सडकको निर्माणले ग्रामिण नागरिक र किसानलाई धेरै सहज भएको र गाउँका मानिसको जीवनस्तर नै माथि आउन बल मिलेको पर्साका एमाले अध्यक्ष डा.विश्वम्भर शर्माले पनि दावी गरे ।
दुईदशक भारतले अल्झाएको कार्य नेपालकै सकृयतामा गति बढ्यो
पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म तराईको बीचबाट जाने हुलाकी राजमार्गको निर्माण छिमेकी मित्र राष्ट्र भारतले बनाइदिने कुरा दुई दशकदेखि रोकिएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो हुलाकी राजमार्गका ’bout ठोस किनारा लगाएका थिए ।
त्यसपछि बल्ल राजमार्ग निर्माणले गति लिएको मधेशका सर्वसाधारणको पनि बुझाइ छ । भारतले नबनाइदिने भए नेपाली आफैले आफ्नो देशको सडक बनाउने तत्कालिन प्र.म. अर्थात वर्तमानका पनि प्रधानमन्त्री ओलीको कुराले तराईका जनताको दिनचर्या सहज बन्ने बाटोमा गति आएको स्थानीय अगुवाले तर्क गरे ।
यो राजमार्ग बनाउने सन् २००० कै गुरु योजना थियो । त सीमा क्षेत्रको नजिकबाट तराईका २० जिल्ला छिचोल्ने हुलाकी राजमार्ग निर्माण गर्ने परिकल्पना भारतले अडँगा लगाएको स्थानीयको बुझाइ छ । सन् २००४ मा प्रारम्भिक सर्भे पूरा भएपछि सन् २००६ मा भारतले यो सडक निर्माण गर्ने सहमति जनाएको थियो । तर त्यो सहमति अनुसार उसले काम अघि नबढाएपछि सम्झौता रद्द गरेर नेपाल सरकारले आफ्नो एकल स्रोतबाटै हुलाकी राजमार्ग निर्माण थालनी गरेको २०७२ सालमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए यता मात्र हो ।
२०७३ कार्तिक महिना संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीको झापादेखि पर्सासम्मको हुलाकी राजमार्ग अनुगमन कार्यले पनि हुलाकी राजमार्ग थप निर्माणमा ओली पछिका प्रधानमन्त्रीलाई पनि दवाव सृजना गर्न कोशेढुंगा सावित भएको पर्साबाट प्रतिनिधि सभा सदस्य बनेका सांसद प्रभु हजाराको पनि तर्क छ ।