वर्ष ऋतुको बिदाइ र शरदको स्वागतसँगै काठमाडौं उपत्यका जात्रामय हुन्छ । इन्द्रजात्राको चहलपहलसँगै जात्राको रौनक काठमाडौं उपत्यकामा पसिसकेको छ । यस वर्षको इन्द्रजात्रा ‘येँयाःको क्वहनेयाः’ मा कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो भक्तपुरबाट काठमाडौँ ल्याइसकिएको छ ।
सूर्यविनायकस्थित चित्तपोलको सामुदायिक वनबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिको शुभसाइतमा लिंगो काटिन्छ । यो लिंगो अर्थात् यःसिं रानी सल्लाको रूखको मात्र हुन्छ ।
काट्ने रूखको रोजाइ शुभसाइतमा पूजा गरेर छाडेकोे बोकाले छोएको रुखलाई काट्ने चलन छ । रूख काट्नुअघि नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मका गुल्मपतिको नेतृत्वमा चित्तपोल पुगेको गुरूजुको पल्टनले सलामी दिने चलन छ ।
इन्द्रको पुजा वर्षा र सहकालका देवता इन्द्रको हो । इन्द्रजात्राको लिङ्गो भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरु भएपछि इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ । यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ ।
इन्द्रजात्रा र यःसिं ठड्याउने प्रचलनको वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा उल्लेख छ ।