विदेशी नागरिक वारिस हुन पाउने कि नपाउने ?

काठमाडौं । जिल्ला अदालत ललितपुरमा विदेशी नागरिक वारिस हुन पाउने कि नपाउने भन्ने गम्भीर विषयमा सुनुवाइ सुरु भएको छ । बुद्ध एयर प्रालिका सेयरधनी विदेशी नागरिक शिवानी बस्नेत र अर्की सेयरधनी अर्चना बस्नेतले बुद्ध एयरलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा दायर भएको मुद्दामा विदेशी नागरिक शिवेन्द्रबहादुर बस्नेतलाई वारिस बनाइएको थियो ।

बुद्ध एयर सेयरधनी प्रकरण

सेयरधनीहरूले बुद्ध एयर प्रालिले विशेष प्रस्ताव नगरी कर्जा लिएको र कम्पनीलाई घाटा पु¥याएको भन्दै उच्च अदालत पाटनमा मुद्दा दिएका थिए । बुद्ध एयर प्रालिले भने सो कर्जा हवाईजहाज खरिद गर्दा लिएको भनी दाबी पेस गरेको थियो । सो कर्जा चुक्ता पुँजी र सञ्चित मुनाफाभित्रै भएको जिकिर बुद्ध एयरका तर्फबाट कानुन व्यवसायीहरूले गरेका थिए । सो मुद्दामा वादीका तर्फबाट सुरुमा अमेरिकी नागरिक शिवेन्द्रलाई वारिस बनाइएकामा दूषित वारिसनामा बदर गरिपाऊँ भनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ललितपुर जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएका थिए ।

वीरेन्द्रले दर्ता गराएको फिरादपत्रमा जिल्ला अदालत ललितपुरमा विदेशी नागरिक वारिस हुन पाउने कि नपाउने भन्ने विषयमा कानुन व्यवसायीहरूले गम्भीर प्रश्न उठाएका छन् । विदेशी नागरिक वारिस बन्न पाउने हो भने भोलिका दिनमा जुनसुकै विदेशी पनि कम्पनीका तर्फबाट वारिस हुने अवस्था आउने र भयावह अवस्था आउने अधिवक्ता विकास भट्टराईले बताए ।

साक्षीका हकमा नेपाली वा विदेशी नागरिक जो पनि हुनसक्ने भए पनि वारिसका हकमा नागरिकता नं. नै उल्लेख गर्नुपर्ने हुँदा नेपाली नागरिक मात्र वारिस हुन योग्य रहन्छ । फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८९(५)(ख) र अनुसूची ३६ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १४६ र अनुसूची १३ अनुसार कुनै पनि विदेशी नागरिकलाई मुद्दाको पक्षले आफ्ना तर्फबाट वारिस नियुक्त गर्न नसक्ने प्रस्ट व्यवस्था छ ।

उच्च अदालतमा दिएको उजुरीपत्र दर्ता गर्न २८ र २९ असार २०८० मा दुईवटा अलग अलग वारिसनामा पेस गरी मुद्दा दर्ता भएकामा एउटा मुद्दामा दुईवटा वारिसनामा पेस हुुन आफैंमा गैरकानुनी रहेको अधिवक्ता भट्टराई बताउँछन् ।

पहिलो प्रश्न शिवेन्द्रबहादुर बस्नेत अमेरिकन पासपोर्ट र नागरिकता लिइसकेका व्यक्ति भएको र उनले वारिस नियुक्तिमा नेपाली नागरिकता प्रमाणपत्र नम्बर २९३३०, जारी मिति २ असार २०४४ राखेका छन् । उनले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका थिए । अमेरिकन नागरिकतासँगै अमेरिकी पासपोर्ट प्रयोग भएको अवस्थामा उनले प्रयोग गरेको नेपाली नागरिकता स्वतः निष्क्रिय रहने कुरा रवि लामिछानेविरुद्धको नागरिकता प्रकरणमा सर्वोच्चले नजिर स्थापित गरिसकेको छ । अर्को देशको नागरिकता लिएपछि स्वघोषित रूपमा आफैंले नागरिकता त्यागेको घोषणा गर्नुपर्नेमा बस्नेतले दोहोरो नागरिकताको प्रयोग गरिरहेको वारिसनामामा प्रयोग भएको नागरिकता नम्बरले पुष्टि गरेको छ ।

जापान, जर्मनी र अन्य कतिपय युरोपेली मुलुकहरूको नागरिकता लिन त्यसअघि नागरिकता लिएको देशको नागरिकता त्याग गरेको हुनुपर्ने नियम छ । तर यूके, अमेरिका, क्यानडा, अस्ट्रेलियाजस्ता देशहरूको नागरिकता लिन अर्को देशको नागरिकता त्याग्नुपर्ने बाध्यकारी व्यवस्था छैन । नागरिकता त्याग्न बाध्यकारी नहुने कानुनमा टेकेर उनले दोहोरो नागरिकता प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा बस्नेतविरुद्ध कसैले उजुरी दर्ता गरे नेपाली नागरिकता किर्ते प्रकरणमा मुद्दा चल्न सक्नेछ ।

त्यस्तै, शिवेन्द्रले २९ असार २०८० को वारिसनामामा गैरआवासीय नेपालीको परिचयपत्र नम्बर ईओभीडब्लू डीसी १३०५५, जारी मिति २७ नोभेम्बर २०२२ भनी राखिएको छ । उनले आफैंले आफू विदेशी नागरिक हुँ भनी स्वीकार गरेको अवस्था देखिन्छ । पछि ७ साउन २०८० को वारिसनामामा शिवेन्द्रलाई बदला गरी दीपेन्द्र खड्का नियुक्ति गरेको पाइएको छ ।

गैरकानुनी रूपमा वारिसनामाबाट मुद्दा दर्ता भएकामा पछिबाट सोलाई सच्याउन सकिँदैन भन्ने सिद्धान्त रहेको छ । जिल्ला अदालत ललितपुरले दूषित वारिसनामा बदर मुद्दामा विदेशी नागरिक वारिस हुन पाउने कि नपाउने भनी फैसला गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कौडीको भाउमा दिइएको पशुपतिनाथको गौशला धर्मशाला २१ वर्षपछि फिर्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचनका लागि बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने