काठमाडौं । अभिनेता आकाश श्रेष्ठले चलचित्रमा अभिनय नगरेको पाँच वर्ष भयो । पाँच वर्ष अघि छायाँकन भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा अभिनेता आकाशले अभिनय गरेका थिए । सो चलचित्र दुई वर्ष अघि रिलिज भयो । अभिनेत्री पुजा शर्मासँग सम्हालिन्छ कहिले मनसहित केही चलचित्रमा सहकार्य गरेका आकाशले यो पछि अरु चलचित्रमा अभिनय गरेका छैनन् । उनी बिगत पाँच वर्ष यताबाट म्युजिक भिडियोमा मात्र केन्द्रित छन् । एक दर्जन चलचित्रमा कुशल अभिनय गरिसकेका यी अभिनेताले यतिबेला म्युजिक भिडियोमा सिमित हुनु परेको छ ।
उनी म्युजिक भिडियोमा केन्द्रित हुनुको कारण राम्रो चलचित्रमा प्रस्ताव नआएरै हो । आफ्नो पछिल्लो चलचित्र सम्हालिन्छ कहिले मनले राम्रो व्यापार नगरेपछि उनी अब राम्रो चलचित्रमा काम गर्ने पक्षमा छन् । तर चाहेको जस्तो चलचित्र आकाशले पाएका छैनन् । जसका कारण उनले आफ्नो अभिनय यात्रालाई यतिबेला म्युजिक भिडियोबाट अघि बढाउनु परेको छ । चाहेका जस्तो चलचित्र नपाउनुको कारण’bout यी अभिनेता आफैं अनविज्ञ छन् ।
मंगलम, मारुनीलगायतका चलचित्रबाट चर्चा कमाएका अर्का अभिनेता पुष्प खड्कासँग पनि बिगत दुई वर्षदेखि चलचित्र छैन । चार वर्ष अघि छायाँकन भएको चलचित्र कृष्ण लिलामा उनले शिर्ष भूमिका निभाएका थिए । यो चलचित्र रिलिज भएको पनि तीन वर्ष भयो । त्यसपछि यी अभिनेतासमेत म्युजिक भिडियोमा निर्भर हुनु परेको छ । आफुलाई चलचित्रमा प्रस्ताव त आएको तर राम्रो ब्यानरबाट नआएका कारण पछिल्लो समय चलचित्रमा काम नगरेको पुष्पको दाबी छ । त्यसो त अष्ट्रेलियामा छायाँकन हुने भनिएको एउटा चलचित्रमा पुष्प अनुबन्धित भएका थिए । तर त्यो चलचित्रको पनि समयमा छायाँकन हुन सकेको छैन ।
चलचित्रबाट दर्शकमाझ चम्किएका पुष्प खड्काले चलचित्र नपाए पनि म्युजिक भिडियोमा उनलाई फुर्सद छैन । एउटा म्युजिक भिडियोमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका यी अभिनेताले मासिक ५÷७ वटा म्युजिक भिडियोमा अभिनय गर्दै आएको बताएका छन् । राम्रो चलचित्र नपाए पनि म्युजिक भिडियोबाटै चलचित्रको भन्दा राम्रो कमाई उनको छ । यसरी उनी पनि चार वर्ष यताबाट म्युजिक भिडियोमै निर्भर भएका छन् । आफ्नो परिचय नै चलचित्र अभिनेता भएकाले उनी राम्रो चलचित्रको पर्खाइमा छन् ।
आकाश र पुष्पमात्र हैन । कोभिड पछि थुपै्र नेपाली अभिनेताहरु चलचित्र विहिन छन् । उनीहरुले म्युजिक भिडियो मार्फत आफ्नो अभिनय यात्रालाई अघि बढाउनु परेको छ । यस्तै बिगत पाँच वर्षदेखि अभिनेता दिक्पाल कार्कीसँग पनि चलचित्र छैन । उन अभिनय गरेको चलचित्र रँग बैजनी आधा दशक अघि नै रिलिज भएको थियो । त्यसपछि चलचित्रको लागि राम्रो स्कृप्ट नै नआएको दिक्पालले राजधानीलाई बताए । दिक्पाल पछिल्लो समय कोरियोग्राफी र मोडलिङमा ब्यस्त छन् ।
यतिबेला मिस युनिभर्स नेपालको कोरियोग्राफी गरिरहेका दिक्पाल पनि खाली बस्नु परेको छैन । उनले पनि मासिक ५–७ वटा म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् । कमाईको हिसाबले म्युजिक भिडियोले चलचित्रको भन्दा राम्रो आम्दानी गरेको उनी बताउँछन् । तर आफ्नो परिचय दर्शकमात्र चलचित्र अभिनेताको रुपमा भएकाले उनी पनि चलचित्रमै अघि बढ्न चाहन्छन् ।
नेपाल चलचित्र कलाकार संघका महासचिब एवम् अभिनेता सविन श्रेष्ठले थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । यी अभिनेताले पनि कोभिड अघि चलचित्र हिरो रिटर्नमा मुख्य भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनीले पनि चाहेको जस्तो चलचित्रमा शिर्ष भूमिका पाएका छैनन् । जसका कारण उनी आफैं चलचित्र निर्माणको तयारीमा छन् ।
तथापि अरु अभिनेता जस्तै सविनलाई पनि म्युजिक भिडियोको कमी छैन । अभिनेत्री अनु शाहसँग निकट रहेका यी अभिनेता प्राय अनुसँगै म्युजिक भिडियोमा प्रस्तुत हुँदै आएका छन् । यसरी आफ्नो हातमा चलचित्र नहुँदा सविन श्रेष्ठले पनि अभिनयको तिर्खा म्युजिक भिडियोमार्फत मेट्नुपरेको छ ।
प्रितीको फुल, मायाँको बारीमा, किर्तीपुर जस्ता थुप्रै चलचित्रमा शिर्ष भूमिका निर्वाह गरेका अभिनेता यसराज गराचले पछिल्लो पटक चलचित्र लभ यु हमेशामा अभिनय गरेका थिए । उनको यो चलचित्र रिलिज भएलगतै नेपालमा कोरोनाको महामारी आयो । देशबाट कोरोना साम्य भएको तीन वर्ष बितिसक्यो । तर पनि यसराजले भनेको जस्तो चलचित्र पाएका छैनन् । चार वर्ष अघि उनी अनुबन्धित भएको एउटा चलचित्र पर्खीबसें २ को छायाँकन अझै सुरु भएको छैन । उनी अहिले पनि सो चलचित्र छायाँकन हुने प्रतिक्षामा छन् ।
आफुसँग चलचित्र नभए पनि म्युजिक भिडियो प्रसस्त भएको यी अभिनेता बनाउँछन् । कुनै महिना १० वटासम्म म्युजिक भिडियोमा अभिनय गर्दै आएका यसराजले राजधानीसँग भने,‘मासिक रुपमा कम्तिमा पनि पाँच वटा म्युजिक भिडियोमा अभिनय गर्दै आएको छु । एउटा भिडियोमा ३० देखि ६० हजारसम्म पारिश्रमिक आउने भएकाले मासिक रुपमा म्युजिक भिडियोको आम्दानी पनि राम्रो छ ।’
नेपालमा चलचित्र निर्माण टिमको आ आफ्नो समुह भएका कारण पनि त्यो समुहमा नअटेका कलाकारहरुलाई चलचित्रमा काम पाउन गाह्रो हुने गरेको अनुभव यी अभिनेताले सुनाए,‘यसो भन्दैमा चलचित्रमा प्रस्ताव नआएको हैन ।
तर आफुलाई चित्त नबुझेको स्क्रिप्ट र टिमसँग काम गर्दा राम्रो चलचित्र नआउने भएकाले पनि काम नगरेको हुँ । राम्रो समुहबाट चाहेको जस्तो चलचित्रमा काम आएको खण्डमा पक्कै अभिनय गर्नेछु ।’ अभिनेता यसराजले राजधानीसँग भने ।
चलचित्र सोलीको डोलीमा काम गरेको ६ वर्षपछि अभिनेता पृथ्बीराज प्रसाईको नयाँ चलचित्र नम्बरी सुन दर्शकमाझ आयो । यो चलचित्रमा उनी शिर्ष भूमिकामा थिए । आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका पृथ्बीराजसँग पनि पछिल्लो समय चलचित्र छैन । उनी पनि म्युजिक भिडियोमै आश्रित छन् ।