धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र नियमित रुपमा उडान हुने विमानस्थल धनगढीबाट एक लाख ३६ हजार ७३३ यात्रु संघीय राजधानी काठमाण्डौं उडेका छन् ।
७ करोड ३९ लाख आम्दानी
आर्थिक वर्ष २०८०–८१ मा धनगढी विमानस्थल भएर सो संख्यामा यात्रुहरु संघीय राजधानी लगायत सहर पुगेका हुन् । उता काठमाण्डौंबाट थप एक लाख ३५ हजार ३६२ यात्रु जहाज चडेर धनगढी विमानस्थल पुगेका छन् । २०८० असार मसान्तसम्म धनगढी विमानस्थलमा २ हजार ८३६ को संख्यामा जहाज अवतरण भएको छ । यहाँबाट भने २ हजार २३४ उडान भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९–८० मा धनगढी विमानस्थलबाट एक लाख ४४ हजार ९३५ यात्रुले हवाई यात्रा गरेका छन् । सो अवधिमा उताबाट एक लाख ४३ हजार ३१ यात्रु हवाइ जहाज चढेर धनगढी विमानस्थल पुगेका छन् । २०७९ को असार मसान्तसम्म २ हजार ५६६ धनगढी विमानस्थलमा जहाज अवतरण संख्या रहेको छ भने यहाँबाट २ हजार ५६४ उडान संख्या रहेको धनगढी विमानस्थल कार्यालयका सूचना अधिकारी दिपक भट्टले बताए ।
१५ करोड ३५ लाख आम्दानी
धनगढी विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७९–८० र आर्थिक वर्ष २०८०–८१ मा १५ करोड ३५ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आम्दानीमा थोरै कमी आएको छ । आर्थिक वर्ष २०७९–८० मा धनगढी विमानस्थल कार्यालयले ७ करोड ६४ लाख ८० हजार ६६६ रुपैयाँ आम्दानी गरेको थियो। तर आर्थिक वर्ष २०८०–८१ मा भने यस्तो आम्दानीमा थोरै कमी आएको छ । २०८० असारमसान्तसम्म धनगढी विमानस्थल कार्यालयले ७ करोड ३९ लाख ४१ हजार २० रुपैयाँ आम्दानी गरेको छ ।
४ लाख १९ हजार किलो काग्रो ढुवानी
धनगढी विमानस्थलबाट आर्थिक वर्ष २०८०–८१ मा एक लाख ४३ हजार ६ सय ९ किलो काग्रो ढुवानी भएको छ भने उताबाट २ लाख ७५ हजार ६५ किलो धनगढीमा काग्रो ढुवानी भएको छ । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९–८० मा धनगढी विमानस्थलबाट एक लाख ६ हजार ४६ किलो काग्रो ढुवानी गरिएको थियो भने उताबाट २ लाख ९ हजार ११ किलो धनगढी विमानस्थलमा काग्रो ढुवानी भएको थियो ।
यसरी धनगढी विमानस्थल कार्यालयले काग्रो ढुवानी, जहाज ल्याण्डिङ, निजी विमान कम्पनीलाई दिएको टिकट काउण्टर भाडा, पार्किङ र विज्ञापन लगायतबाट गरेर २ वर्षमा १५ करोड ३५ लाख २१ हजार ९२५ रपैयाँ आम्दानी गरेको छ । धनगढीबाट हाल दैनिक चारवटा श्री एयरलाइन्स, तीनवटा बुद्ध एयरलाइन्स र समिट एयरलाइन्सले हप्ताको २ दिन बझाङ र साँफे उडान गर्दै आएको छ ।






