काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउनेदेखि नेपाली खेलाडीलाई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडसँग सहकार्य गराउनेसम्मको कार्ययोजना प्रस्तुत गरेका छन् ।
अमेरिकी राष्ट्रपतिलाई नेपाल ल्याउनेदेखि नेपाली खेलाडीलाई स्पेनिस क्लबसँग जोड्नेसम्मका योजना
अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भए अमेरिकी राष्ट्रपतिलाई नेपालको भ्रमण गराउने बताए । कार्ययोजना प्रस्तुत गर्दै रेग्मीले अमेरिकी राष्ट्रपतिलाई संसद्मा सम्बोधन गर्ने वातावरणसमेत मिलाउने बताए ।
‘अमेरिकी राष्ट्रपतिबाट नेपाल भ्रमण गर्ने र हाम्रो संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्न आवश्यक पहल गर्नेछु,’ रेग्मीले भने । उनको योजना सफल होला या नहोला तर उनले आफ्नो कार्ययोजनामा अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने सुनाए ।
‘अमेरिकी संसदीय सुनुवाइको आफ्नै विशेषता रहेको छ, यसबाट लाभ लिनका लागि हाम्रो संसदीय सुनुवाइ समिति र अमेरिकी कंग्रेसको सुनुवाइ समितिबीच भ्रमण आदान–प्रदानको प्रबन्ध मिलाउन प्रयत्नशील रहनेछु,’ रेग्मीले आफ्नो योजना सुनुवाइका क्रममा सुनाए, ‘हाम्रो देशको विकासलाई आजको विश्व विकास मानकनुसारको स्तरमा पु¥याउन अझ धेरै लगानी हामीलाई आवश्यक छ ।’
कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यजस्ता प्रमुख क्षेत्रहरूमा लगानी वृद्धि गर्नुपर्ने उनले बताए । नयाँनयाँ प्रविधि ल्याई नेपाली अर्थतन्त्रलाई उच्च वृद्धिको मार्गमा लग्न, रोजगारी सिर्जना गर्न, आय वृद्धि गर्न, सबै प्रकारका गरिबी घटाउँदै निवारण गर्न र समृद्धि हासिल गर्न हालको अमेरिकी सहायतालाई आवश्यकतानुसार परिचालन गर्नेगरी दोब्बर बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
नेपालमा लगानीको अनुकूल वातावरण रहेको जानकारी गराएर, प्रमुख संवाहक क्षेत्रहरूका ’boutमा अमेरिकी लगानीकर्ताहरूलाई विभिन्न कार्यक्रमहरू गरेर तथा परियोजना प्रस्तावहरूको जानकारी दिएर आकर्षित गर्ने पनि उनले जनाए । ‘जलविद्युत्, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, पर्यटन, जडिबुटी प्रशोधन, कृषि र भौतिक पूर्वाधारलगायतका क्षेत्रहरूमा प्रत्यक्ष वैदेशिक लगानी बढाउन सम्पर्क गर्नेछु, समन्वय र उत्प्रेरित गर्नेछु,’ रेग्मीले भने ।
स्पेनका लागि नेपाली राजदूतमा सिफारिस गरेका शलिन नेपालले नेपाली खेलाडीलाई प्रशिक्षण दिलाउन स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडसँग सहकार्य गर्ने योजना संसदीय सुनुवाइमा प्रस्तुत गरे । ‘स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनासँगको सहकार्यमा नेपाली खेलाडीलाई प्रशिक्षण दिन सकिन्छ, प्रशिक्षण नेपाली खेलाडीलाई स्पेन लगेर दिन सकिन्छ र स्पेनबाट प्रशिक्षक नेपाल ल्याएर पनि खेलाडीलाई प्रशिक्षण दिन सकिन्छ,’ कार्ययोजना प्रस्तुत गर्दै नेपालले भने । केही महिनाअघि सरकारले नेपाललाई पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । पोर्चुगलका लागि राजदूत नियुक्त हुने क्रममा भएको सुनुवाइमा उनले पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई नेपाल ल्याउने बताएका थिए ।
त्यस्तै, बेलायतका लागि नेपाली राजदूतमा सिफारिस चन्द्रकुमार घिमिरेले आफू राजदूत भएर बेलायत गए उच्चस्तरीय भ्रमणका लागि पहल गर्ने बताए । बेलायती लगानी नेपाल भिœयाउन, बेलायत सहायता ल्याउन विशेष पहल गर्ने उनको भनाइ छ । राजनीतिक सम्बन्ध, भूतपूर्व गोर्खाको समस्या, आर्थिक कूटनीति र बेलायतमा रहेका नेपाली आफ्नो प्रमुख प्राथमिकता रहेको उनले सुनाए ।
सांसदहरूले ‘भूतपूर्व गोर्खाहरूको समस्या समाधान गर्न तपाईंले के भूमिका खेल्नुहुन्छ’ भन्ने प्रश्नमा घिमिरेले सन् १९९७ पछि ब्रिटिस सेनामा कार्यरत र सेवानिवृत्त गोर्खाहरूले ब्रिटिस समकक्षीसरह तलब र पेन्सन पाएको बताए । तर, सो मितिअघि निवृत्त भएकाहरूले ब्रिटिस समकक्षीहरूसरह पेन्सन, स्वास्थ्य तथा अन्य सुविधा नपाएको विषयमा भूतपूर्व गोर्खाहरूले आवाज उठाउँदै आएको उनले बताए ।
‘भूतपूर्व ब्रिटिस गोर्खाको पेन्सन र अन्य सुविधाका विषयमा न्यायोचित रूपमा यस विषयको सम्बोधन हुन नेपाल सरकारले पहल गरिरहेको छ, राष्ट्रिय सरोकार र चिन्ताको विषयका रूपमा लिएर नेपालको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले १ चैत २०७५ मा सो समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन पनि दिएको छ,’ घिमिरेले भने, ‘नेपाल सरकारको नीतिबमोजिमका क्षेत्रहरूमा र उच्च प्रतिफल प्राप्त हुने क्षेत्रहरूमा ल्याउनका लागि मेरो ठाउँबाट सहजीकरण गर्नेछु, आर्थिक सहयोग पाउने मुलुकहरूको सूचीमा पर्नुपर्नेछ, निरन्तरता दिनुपर्नेछ, त्यसमा पनि मैले प्राथमिकता दिनेछु, डीसीटीएसमा भएको समस्या के हो त्यो समस्यालाई सम्बोधन गर्ने मेरो प्राथमिकता छ ।’ त्यहाँ हुने ठूला एक्स्पोहरूमा अर्थपूर्ण सहभागिता गराउने, सम्झौताहरू गर्ने विषयलाई प्राथमिकता दिने र आईटी उद्योगमा बेलायती कम्पनीहरूलाई जोड्ने आफ्नो कार्ययोजना रहेको घिमिरेले सुनाए ।
त्यस्तै, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफू नियुक्त भएमा सार्क र बिम्स्टेकलाई क्रियाशील बनाउन कूटनीतिक प्रयास गर्ने बताए । भट्टराईले असंलग्न परराष्ट्र नीतिको परिधिभित्र रही नेपाल र श्रीलंकाबीचको द्वीपक्षीय सम्बन्धलाई सुदृढ र फलदायी बनाउन प्रयास गर्ने बताए ।
त्यस्तै, उनले क्रिकेटलगायतका कतिपय खेलमा श्रीलंकाको अनुभव र प्रविधि नेपाललाई आवश्यक भएको भन्दै खेलकुदमा सहकार्यको वातावरण बनाउन पहल गर्ने समेत प्रतिबद्धता जनाए । उनले लुम्बिनी, काठमाडौं र कोलम्बोबीच नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने बताए । त्यसैगरी, लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन प्रयास गर्ने पनि भट्टराईको भनाइ छ ।