काठमाडौं । अभिनेता जितु नेपालले चाडपर्व सबैको साझा हुने बताएका छन् । आफुले निर्माण गरेको चलचित्र यो साझा चाडपर्वमा सम्बन्धित निर्माताहरुले देखाउन पाउनु पर्ने उनको कथन छ ।
बिगत केही वर्ष यताबाट चलचित्र छक्का पञ्जा सृँखला प्राय दशैंमा रिलिज गर्न थालिएपछि दशैंमा अरु चलचित्रले प्रदर्शन हुन पाएका छैनन् । त्यसैले सबैको साझा चाडपर्व चलचित्र प्रदर्शनको लागि कुनै निश्चित निर्माताको मात्र पेवा हुनु नहुने पनि हास्य अभिनेता जितुको कथन छ ।
आफुले शिर्ष भूमिका निर्वाह गरेको चलचित्र ज्वाईंसाबको गीत ‘कसम बत्तीको’ काठमाडौंमा एक समारोहबीच सार्वजनिक गर्दै जितुले यस्तो भनाई राखेका हुन्,‘अर्को चलचित्रसँग चलचित्र ज्वाईंसाबलाई हामीले जुधाउन ल्याएका हैनौं । दशैंमा एक साता भन्दा बढी समय बिदा हुनेहुँदा सबै फुर्सदमा रहने भएका कारण दुई÷तीनवटा चलचित्र दर्शकले हेर्छन भनेर ज्वाईंसाव सार्वजनिक गर्नलागेका हौं ।’
आगामी फुलपातिको दिन दीपकराजको छक्का पञ्जा ५, जितुको ज्वाईंसाव र बिराज भट्टको १२ गाउँ चलचित्र एकसाथ रिलिज हुँदैछन् । छक्का पञ्जा टीमबाट आफु बाहिरिएकाले जितुले ज्वाईंसाबलाई छक्का पञ्जा ५ सम्म जुधाएको भन्ने आरोप निरर्थक भएको पनि यी कलाकारले बताए ।
तीन चलचित्र जुध्दाको अबस्थामा व्यापार ’bout जितुले भने,‘यी तीनवटै चलचित्र सफल होस भन्ने मेरो कामना छ । सबैमा हामी नेपाली चलचित्रकर्मीकै लगानी भएकाले यी तीनवटै चलचित्रका निर्माताले पैसा कमाउनु होस भन्ने मेरो शुभेच्छा छ ।’ उनले थपे,‘फरक यत्ति होकी कुनैले धेरै कमाउलान त कुनैले कम कमाउलान । तर हरेक चाडपर्वमा एउटै ब्रान्डले मात्र कमाउँनुपर्छ भन्ने पनि त छैन नी ।’
पुरुष प्रधान नेपाली समाजमा छोराले बुहारी घरमा भित्राउन प्रचलन रहे पनि घरज्वाईं बनेर डोलीमा ससुराली भित्रिएको पात्रले भोग्नुपरेको आरोह अबरोहका कथा यसमा रहेको जितुले बताए । उनका अनुसार यो चलचित्रमा घरज्वाईंमा जितु र आफ्नो घरमा पतिलाई भित्राउन पत्नीको भूमिकामा नीति शाह छिन् । चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । यो चलचित्रमा जितु र नीतिसँगै बुद्धि तामाङ, रमेश बुढाथोकी, दीपक आचार्य, गीता अधिकारी, हिमेश पन्तसहितका कलाकारको शिर्ष भूमिका रहेको छ ।