काठमाडौं । काठमाडौंबाट रुकुमपूर्व जाँदै गरेको सरकारी गाडी बाग्लुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा शुक्रबार दुर्घटना हुँदा रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया भूपेन्द्रा बुढा, उनकी ६१ वर्षीया आमा गोपीमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीय वडाध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको छ ।
त्यस्तै, दुर्घटनामा घाइते सवारी चालक भूमे गाउँपालिका–३ का २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिए । शुक्रबार बिहान रा१झ २०० नम्बरको गाडी सडकदेखि ३ सय मिटर तल खेसेको थियो । दुई महिलाको शव भीरमा अड्किएको र पुरुषको शव गाडीले च्यापिएको अवस्थामा फेला परेका थिए ।
सो गाडी काठमाडौंबाट रुकुमपूर्व जानेक्रममा बागलुङ गलकोट–२ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण गाउँपालिकाले नसोचेको क्षति बेहोर्नुपरेको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए । ‘सुरुमा घटना भएको खबर मात्र थाहा भएको थियो, त्यसपश्चात् पालिका उपाध्यक्ष चढेको गाडी दुर्घटनामा प¥यो भन्ने खबर पायौं, सामान्य दुर्घटना होला घाइते हुनुभएको होला भन्ने लागेको थियो,’ अध्यक्ष घर्तीले भने, ‘केहीबेरमा मृत्युको खबर प्राप्त ग¥यौं, हामी स्तब्ध छौं ।’