काठमाडौं । अभिनेत्री आँचल शर्मा नयाँ चलचित्र पिताम्बरको अभिनेत्रीबाट बाहिरिएकी छिन् । यसरी चलचित्रबाट बाहिरिने क्रममा उनले अभिनेता प्रदीप खड्कालाई छाडेकी छिन् । ढगत वर्ष अनुबन्धित भएको यो चलचित्रमा अब आफुले समय दिन नभ्याउने भन्दै उनी बाहिरिएकी हुन् । अभिनेत्री आँचलको यतिबेला एक साथ तीनवटा चलचित्र दुःखी आत्मा, जेरी अन टप र पिताम्बर छायाँकन हुँदै थियो ।
यी तीन चलचित्र मध्य उनी दीपेन्द्र लामाको दुखी आत्मामा अभिनेता दयाहाङ राईको जोडी बनेकी छिन् । यस्तै सुयोग गुरुङले निर्देशन गर्ने चलचित्र जेरी अनटपमा अभिनेता अनमोल केसीको नायिका र पिताम्बरमा अभिनेता प्रदीप खड्काको नायिका बनेकी थिइन् । जसमध्य छायाँकनको अमय अभाव देखाउँदै उनी पिताम्बरबाट बाहिरिएका हुन् । उनले चलचित्र पिताम्बरबाट लिएको पारिश्रमिक पनि फिर्ता गर्ने बताएकी छिन् ।
सँगै छायाँकन हुने भएकाले यी तीन चलचित्र मध्य एउटा छाड्नै पर्ने बाध्यताले पिताम्बर छाडेको आँचलले बताएकी छिन् । उनी अहिले दीपेन्द्र लामाको चलचित्र दुःखी आत्माको छायाँकनमा व्यस्त छिन् । यो चलचित्रको छायाँकनको लागि उनी शुक्रबार काठमाडौंबाट नवलपरासी पुगेकी छिन् ।
आँचलले चलचित्र पिताम्बर छाडेपछि अमिनेता प्रदीप खड्काको सिफारिसमा आँचलको ठाउँमा नवोदित अभिनेत्री दिव्या रायमाझीलाई निर्देशक कृषा चौलागाईंले अनुबन्धित गरेकी छिन् । प्रदीप खड्का र दिव्याले यस अघि चलचित्र एक्टरमासँगै अभिनय गरेका थिए ।
उनको अभिनय राम्रो रहेको भन्दै प्रदीपले दिब्यालाई पिताम्बरका लागि सिफारिस गरेको निर्माण पक्षले जनाएको छ । यसमा दिब्यालाई शुक्रबार अनुबन्धित गरिएको हो । यो चलचित्रमा प्रदीपसँगै दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, आर्यन सिग्देल लगायतको अभिनय रहने छ ।