गुल्मी । गुल्मीमा आगामी मंसिर १६ गते वडाध्यक्षको लागि उपनिर्वाचन हुने भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचन हुने भएको हो । सरकारले आगामी मंसिर १६ गतेलाई स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदपूर्तिको लागि निर्वाचनको मिति घोषणा गरेसँगै मुसिकोटमा चुनाव हुने भएको हो ।
०७९ सालमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष मोहन घिमिरेको गत भदौ २ गते मृत्यु भएको थियो । त्यसपछि विष्णुध्वज खातीले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । ०७९ को निर्वाचनमा घिमिरेले एक हजार एक सय ८२ मत ल्याउदैँ वडाध्यक्षमा निर्वाचित भएका थिए भने निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका नारायण बहादुर थापाले एक हजार एक सय ४३ मत प्राप्त गरेका थिए ।
०७९ मा मुसिकोट –१ म तीन हजार आठ सय १० रहेकोमा गत असार मसान्तसम्म ५४ जना मतदाता थप भई तीन हजार आठ सय ६४ पुगेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । घिमिरेसहित जिल्लामा कुल तीन जनाको पद रिक्त भएको छ ।
गुल्मी दरबार गाउँपालिका –४ का एमालेबाट निर्वाचित वडा सदस्य अम्मर बहादुर सोनामी र छत्रकोट गाउँपालिका –५ कि काँग्रेसबाट निर्वाचित वडा सदस्य उर्मिला आचार्य नेपालीको पद पनि रिक्त भएको छ । सोनामीको मृत्युको कारण र नेपालीले दल त्याग गरेका कारण पद रिक्त भएको हो । तर वडा सदस्यको लागि उपचुनाव नहुने भएकोले गुल्मीमा वडाध्यक्षको लागि मात्रै उपचुनाव हुन लागेको हो ।