डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज संक्रान्तिमा बुढी पोल्ने पर्व मनाइने प्रचलन छ । डडेल्धुरालगायत सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा यो पर्व धुमधामका साथ मनाइँदै आएको छ । राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको दिनको सम्झनामा भाद्र मसान्तका दिनमा लिंगो ठढाई बारिएको बन्ढुनी अर्थात् बुढीलाई असोज संक्रान्तिका बेलुकी पोलेर बन्ढुनी पर्व मनाइन्छ ।
यहाँका सबै गाउवस्तिहरुमा यस दिन बुढी पोलेपछि देउडा खेल खेल्ने परम्परा रहिआएको छ । यस पर्वमा गाई बस्तुको हेरचाह गर्ने गोठला तथा स्थानियहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वका दिन सल्ला, बाँझको लिङगो ठड्याई रुखहरु, रुखका हाँगाहरु काटेर एकै ठाँउमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।
द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान श्री कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा यो पर्व मनाउने धार्मीक बिश्वास रहेको छ ।
बुढी पोल्ने दिन गाई वस्तुहरुको गोबर थुपार्ने ठाँउमा काँस, अमरिसो लगायत पाँच जातको घाँसले बेरेको सल्लाको दियालोले राँको बनाएर राख्ने गर्दछन । बेलुकी पख गाईबाच्छिी पाल, बुढी निकाल, थुई बुढी थुई भन्दै काक्र मुखमा हालि फाल्दै जलाउने चलन रहेको छ । बुढी पोल्नु अघि कासको गौरा बनाई गोबर थुपारिएको माथी राखिन्छ । बारीमा भएका फलफूलका प्रत्येक रुखहरुमा कासको लुडी बनाई राख्ने चलन पनि छ । यसो गर्दा फलफूलका रुखहरु नसुक्ने र राम्रो फल लाग्ने जनविश्वास रहिआएको पण्डित लोकराज भट्टलेबताए ।
दोबाटोमा जलाएको पुतना राक्षसको आकृति बाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहेको छ । यसै पर्वका अवसरमा डडेल्धुराका विभिन्न स्थानमा सांस्कृति कार्यक्रमको आयोजनसमेत गरिदै आएको छ ।
सदियौदेखि धार्मिक, तथा सास्कृतिक महत्व बोकेको बन्ढुनी पर्व हरेक वर्षको असोज १ गतेका दिन मनाईने गरिन्छ । अमरगढी नगरपालिका ७ को पोखरा बजारमा यस दिन रातभर देउडा खेल खेल्ने चलन रहिआएको छ । पोखराको तिलाडी पर्केउडा र भाटागाउँबाट बाजागाजा सहित धामी कामेर सल्लाको दियालोको राँको बनाई बिहान ४ बजेको समयमा बन्ढुनी पोल्ने चलन रहेको धामी लक्ष्मण कैनीले बताए । उनका अनुसार सहित देवि देवताका नारा लाउदै बाँजागाँजासहित बुढी पोल्ने चलन रहिआएको छ ।
कतै कतै बुढी जलाईसके पछी वारी पारी गाउका एक आपसमा लुतो लैजाउ भन्ने प्रचलन पनि रहेको उहाँले बताउनुभयो । बन्ढुनी पर्व मनाउन स्थानीयहरुले बिहानै देखि नुवाई, धुवाई गर्ने गर्छन । असोज १ गते देखि नै शरदऋतुको आगमन भएको मानिन्छ । बुढी पोली सके पछि राती वा भोली पल्ट बिहान सम्म पानी परे गाई अर्थात लक्ष्मीले जित्ने र पानी नपरे बुढीले जित्ने भन्ने भनाई पनि रहेको उनले बताए ।