काठमाडौं । छायाँकनको तयारीमा रहेको चलचित्र ‘कल्ली’बाट अभिनेता पल शाह हटाईएका छन् । पलले चलचित्र रावायणमा दर्शकबाट व्यापक टिप्पणी खेप्नु परेपछि कल्लीका निर्माताले पललाई हटाउनु परेको हो ।
यो चलचित्रमा पललाई गत साउनमा अभिनेताको रुपमा अनुबन्धित गरिएको थियो । उनलाई यो चलचित्रबाट हटाउनुमा निर्माण पक्षको निर्णाय रहेको लक्ष्मण सुनारले जनाएका छन् । छायाँकन सुरुगर्न लागिएको यो चलचित्रको यहीकारण पनि छायाँकन एक महिना पछि धकेलिएको छ ।
चलचित्र बुलाकी पछि निर्देशक सुनार यतिबेला नयाँ चलचित्र कल्लीको निर्माण तयारीमा जुटेका छन् । यो चलचित्रमा यस अघि पल शाह र बेनिशा हमाललाई अनुबन्धित गरिएको थियो । तर यतिबेला पललाई हटाएर उनको ठाउँमा सोमबार अर्का अभिनेता सौगात मल्ललाई अनुबन्धित गरिएको छ ।
पल शाहको तस्बिर राखेर पोष्टर समेत सार्वजनिक गरिएको कल्लीमा सौगातलाई अनुबन्धित गरिएसँगै उनको पोष्टर पनि सोमबार नै सार्वजनिक गरिएको छ । तर आफुलाई चलचित्र कल्लीबाट हटाईएको ’bout कुनै जानकारी नआएको अभिनेता पल शाहले सञ्चारकर्मीलाई बताएका छन् ।
यो चलचित्रका एक निर्माताले भने पललाई पनि राख्नु पर्ने अडान लिएका छन् । बाँकी निर्माताले उनलाई नराख्ने बताएका छन् । यो चलचित्रमा चारजना अभिनेता रहने भनिएको छ । तर अहिले सौगातबाहेक अरुको नाम सार्वजनिक गरिएको छैन । यस अघि शिर्ष भूमिकामा अनुबन्धित भएका पललाई अब द्धितीय भूमिका दिँदा उनले काम नगर्ने सँभावना बढेको छ ।
पलको पछिल्लो चलचित्र रावायणको व्यापार कमजोर हुनुका साथै उनको व्यापाक टिप्पणी भएको पनि कल्लीका निर्माताहरुले बताएका छन् । सोही कारण पनि आफुहरुले बेलैमा यस्तो निर्णय लिनु परेको एक निर्माताले जिकिर गरे । यो चलचित्रको छायाँकन दशैंपछिबाट कर्णाली प्रदेशको जुम्लालगायतका जिल्लाहरुमा गरिने भएको छ । अर्को साताबाट आफुहरु बाँकी कलाकार चयन गरेर अभिनय कार्यशालामा बस्ने यसका निर्देशक लक्ष्मणले बताएका छन् ।