बार्सिलोना । स्पेन तथा बार्सिलोनाका पूर्वस्टार जाभी हर्नान्डेजले पेप ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षकमध्ये एक रहेको दाबी गरेका छन् । उनले ग्वार्डिओला यतिबेला विश्वकै उत्कृष्ट प्रशिक्षक रहेको बताएका हुन् । पूर्वमिडफिल्डर जाभी आफंै अहिले कतारको अल सादको प्रशिक्षकका रूपमा काम गरिरहेका छन् । ग्वार्डिओलाको प्रशिक्षणमा जाभी बार्सिलोनाका महत्वपूर्ण खेलाडीमध्ये एक थिए ।
‘इमानदार भएर भन्दा म उनलाई विश्वमा अहिलेको उत्कृष्ट प्रशिक्षक मान्छु । म उनको कुनै पनि ज्ञानबाट प्रभावित छु र म त्यसको स्वागत गर्छु,’ जाभीले भने, ‘फुटबलमा उनीजस्तो प्रशिक्षक हुनु फाइदाजनक हो । म उनको जस्तै गर्ने कोसिस गर्दछु ।’
ग्वार्डिओला खेललाई जतिबेला पनि नियन्त्रणमा राख्न चाहने प्रसंग उल्लेख गर्दै जाभीले भने, ‘उनी बढीभन्दा बढी आफ्ना खेलाडीलाई बल नियन्त्रणमा राख्न प्रेरित गर्छन् । बल पोसेसन, आक्रमणमा बढी जोड दिन्छन्,’ जाभीले ग्वार्डिओलाबाट धेरै सिक्न मिल्ने जनाउँदै भने, ‘उनको लक्ष्य, चाहना र लगावबाट धेरै जान्ने अवसर मिल्छ । अहिले म्यानचेस्टर सिटीमा पनि उनी सफल छन् ।’
जाभीले सिटी र प्रिमियर लिगका खेलाडीका विषयमा पनि चर्चा गरेका छन् । ‘मलाई प्रतिभावा खेलाडी मन पर्छ । अझ त्यसमा पनि टोलीका लागि आफ्नो क्षमता देखाउने खेलाडी विशेष लाग्छ, ‘उनले भने, ‘त्यसैले मलाई लाग्छ डेभिड सिल्भा असाधारण खेलाडी हुन् । त्यस्तै केभिन डी ब्रुइने पनि ।’
अन्य खेलाडीका विषयमा उनले जोडे, ‘सर्जियो अगुइरोले टिमका लागि कसरी खेल्नुपर्छ भन्ने थाहा पाए । बर्नार्डो सिल्भा अद्भुत खेलाडी हुन् । रहिम स्टर्लिङ त्यस्तै छन् । उनीहरू सिटीका लागि विशेष छन् ।’