धरासायी भए बहुसंख्यक गीत संगीत उद्योग

काठमाडौं । अग्रज गायक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले एक दशक अघिसम्म ‘श्रद्धा रेकर्डि स्टुडियो’ कम्पनी मार्फत नेपाली गीत संगीतको उत्पादनसँगै विक्री बितरण गर्दै आएका थिए ।

२०७२ पछि अडियो सिडी क्यासेटको विक्री वितरण एकाएक घटेपछि उनले २०७४ पछिबाट अडियो सिडीको उत्पादन बन्द गरे । पूर्वेली गीतहरुको सबैभन्दा ठुलो वितरक कम्पनीको रुपमा चिनिएको श्रद्धा रेकर्डिङ स्टुडियो कम्पनी अस्तित्वमा रहे पनि पहिलाको जस्तो यसले उत्पादन तथा विक्री वितरण गर्न छाडेको यो कम्पनीका अध्यक्ष शम्भु राईले बताए ।

‘नेपाली गीतसंगीतको वितरण अडियो सिडीबाट डिजटलमा गएपछि ७ वर्ष अघि नै हामीले श्रद्धा रेकर्डिङ स्टुडियोले उत्पादन तथा वितरणको जिम्मा लिएका ५०० भन्दा बढी गीतहरुको श्रव्य दृष्यलाई म्युजिक नेपालको अडियो र भिडियो च्यानलमा राखेर डिजिटल बजारमा पठायौं । मेरा केही गीतहरु भने शम्भु राई च्यानल मार्फत नै डिजिटल बजारमा पठाएको छु ।’

यसरी नेपाली संगीतको वितरण डिजिटल रुपमा हुन थालेपछि नेपालको चलेको कैयौं संगीत उत्पादक तथा वितरक कम्पनीहरु निस्कृय भएको उपकुलपति राईले बताए,‘एक दशक अघिसम्म सक्रिय एक सय भन्दा बढी म्युजिक उत्पादक तथा वितरक कम्पनीहरु मध्य ६० प्रतिसत भन्दा बढी कम्पनी तथा बन्द भईसकेका छन् । ४० प्रतिसत कम्पनीले भने आफ्ना विगतका उत्पादनलाई अडियो र भिडियो च्यानलमा राखेर कम्पनीलाई जेनतेन चलाईरहेका छन् ।’

यस्तै गीत संगीत तथा चलचित्रको सिडी भिसिडी उत्पादनसँगै वितरण गर्दै आएको ‘क्लिन भिसिडी तथा म्युजिक प्रा.लि.’ले पनि आधा दशक अघिबाट गीत संगीतको उत्पादन तथा वितरण कार्यलाई बन्द गरेको छ । गीत संगीतको उत्पादन तथा वितरण बन्द गर्नुको कारण’bout यो कम्पनीको अध्यक्ष लक्ष्मीप्रसाद ढकालले राजधानीसँग भने, ‘हामीले उत्पादन गरेर क्यासेट देखि सिडी भिसिडीसम्ममा वितरण गर्दै आएको कतीपय गीत संगीतलाई पछिल्लो समय सम्बन्धित श्रष्टा आफैंले फिर्ता लिएर आफ्नो नीजि युट्युव च्यानल तथा डिजिटल प्लेटफर्ममा राख्नु भयो । बाँकी रहेका गीत संगीतको अडियो तथा भिडियोलाई हामीले ओएसआर डिजिटलको प्लेटफर्मबाट वितरण गर्दै हाम्रो उत्पादन कम्पनीलाई बन्द ग-यौं ।’

५÷६ वर्ष यताबाट गीतकार, संगीतकार तथा गायक गायिकाहरु आफैंले लगानी गरेर गीत निकाल्दै आफ्नै युट्युव र अडियो च्यानलमा राख्न थालेपछि आफुहरु जस्तो धेरै गीत संगीत उत्पादक तथा वितरक कम्पनीहरु बन्द भएको उनले बताए ।

क्लिन भिडिसी एन्ड म्युजिक कम्पनीमात्र हैन, २०७२ सम्म सक्रिय रहेका थुप्रै संगीत उत्पादक तथा वितरक कम्पनीहरु अहिले बन्द भईसकेका छन् । त्यतिबेला निकै सक्रिय रहेका कालिन्चोक म्युजिक कम्पनी, इन्द्रणी क्यासेट सेन्टर, रञ्जना क्यासेट, म्युजिक डटकम, धौलागिरी क्यासेट सेन्टर, रिबेल, रिमा रेकर्डिङ, इना क्यासेट, मास्टर रेकर्डिङ, महाबौद्ध रेकर्ड, रियाज म्युजिक जस्ता थुप्रै संगीत उत्पादक तथा वितरक कम्पनीहरु पछिल्लो समय निस्कृय छन् । यी मध्य केही कम्पनीले आफ्ना बिगतका उत्पादनलाई अडियो डिजिटल प्लेटफर्ममा राखेका छन् । संगीत उत्पादन बन्द गरेका केही कम्पनीहरुले संगीतको व्यबसाय छाडेर अन्य व्यबसाय सञ्चालन गर्दै आएका छन् ।

लोकदोहोरी संगीत सृजनामा अग्रणी स्थानमा रहेको ‘पशुपति म्युजिक कम्पनी’को पनि एक दशक अघिको तुलनामा आफ्नो उत्पादन ९० प्रतिशतले कमी आएको यसका अध्यक्ष शिब पौडेलले बताएका छन्,‘गीत संगीतको वितरण डिजिटल रुपमा सुरु भएपछि हामी केही कम्पनीहरुले आफुलाई डिजिटल प्रणालीमा रुपान्तरण गरेर जेनतेन अघि बढाएका छौं भने धेरैजस्तो म्युजिक कम्पनीहरु बन्द भएका छन् ।’
पशुपति म्युजिक कम्पनीले उत्पादन गरेका एक हजार भन्दा बढी गीत संगीतलाई आफुले डिजिटल प्लेटफर्ममा राखेको जानकारी गराउँदै शिबले भने,‘पछिल्लो समय हामीले अडियो र भिडियो दुबैको प्रतिलिपि तथा व्यबसायिक अधिकार लिएर केही गीत संगीत उत्पादन तथा वितरण गर्दै आएका छौं । तथापि कम्पनीमार्फत म्युजिक उत्पादनमा लगानी गरेर मुनाफा कमाउने अबस्था अब रहेन ।’

लामो समयदेखि गीत संगीत उत्पादनसँगै वितरणमा सक्रिय म्युजिक नेपाल, बुढासुब्बा डिजिटल, ओम साई रेकर्ड (ओएसआर डिजिटल), साईराम पिक्चर्स, बिन्ध्यवासिनी म्युजिक जस्ता केही कम्पनीहरुले पछिल्लो समय निर्माण भन्दा वितरणमा आफुलाई सक्रिय तुल्याएका छन् । आफ्ना विगतका उत्पादनलाई एप्पल, आईट्युन, स्पोटीफाई जस्ता अडियो डिजिटल प्लेटफर्ममा राखेर कम्पनी चलाईरहेको साईराम पिक्चर्सको अध्यक्ष शमशेर श्रेष्ठले बताएका छन्,‘ डिजिटल प्लेटफर्ममा हामी रुपान्तरण भए पनि बिगतको क्यासेट, सिडी, भिसिडी, डिभिडी उत्पादन गर्दाको जस्तो आम्दानी अहिले छैन ।’

यसरी नेपाली संगीत पनि डिजिटल बजारमा गएपछि एक समय गीत संगीत उत्पादन गरेर क्यासेट, सिडीमा वितरण गर्ने कैयौं उत्पादक कम्पनीहरु अहिले निस्कृय छन् ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धार्मिक पर्यटन प्रर्वद्धनमा शक्तिपीठका सर्किट ‘कोशेढुंगा’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा निर्वाचन आचारसंहिता उल्लंघन