काठमाडौं । नेपालीहरूको जीवनशैली र अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य फेरिएसँगै मूल्यवृद्धिको तथ्यांक र शोधनान्तर तथ्यांक सरल ढंगमा र अझ विस्तृत रूपमा ल्याइने भएको छ ।
अब प्रादेशिक रूपमा पनि मूल्यवृद्धि सूचकांक
नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक गणना विधिको आधार वर्ष परिवर्तन गर्दै परिमार्जित स्वरूपमा तथ्यांक ल्याउने भएको हो ।
आर्थिक वर्ष २०७०–७१ को सट्टा आव २०८०–८१ लाई आधार वर्ष मानेर मूल्य सूचकांक गणना गर्ने राष्ट्र बैंकले जनाएको छ ।
आधार वर्ष परिवर्तन गरेको राष्ट्र बैंकले मूल्यवृद्धिको तथ्यांक लिने वस्तुहरूको पनि व्यापक हेरफेर गरेको छ । राष्ट्र बैंकले नेपाली जीवनशैलीमा प्रयोग हुन छाडेका र कम प्रयोग हुने १ सय ६ वटा वस्तुलाई हटाएर नयाँ १ सय ३५ वस्तु थप गरेको छ ।
अव मूल्य सूचकांक मापन गर्ने वस्तुको संख्या कुल ५ सय २५ पुगेको छ । यसअघि सो संख्या ४ सय ९६ मात्र थियो ।
आधार वर्ष र वस्तु परिवर्तनपछिको नयाँ मूल्य सूचकांकले मुद्रास्फीति अझ स्पष्ट हुने र प्रयोगकर्ताका लागि उपयोगी हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले परिमार्जित शैलीको स्वरूपमा गत साउनको तथ्यांक सार्वजनिक गरिएसँगै लागू हुने जनाएको छ । चालू आवको साउनकोे तथ्यांक नयाँ शैलीमा सार्वजनिक हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले तयार पारेको राष्ट्रिय जीवनस्तर सर्वेक्षणका आधारमा मूल्यवृद्धिका लागि लिइने वस्तुहरूको भार तय गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । यससँगै राष्ट्र बैंकले यसअघि ५० जिल्लाबाट ४ सय ९६ वस्तुको मूल्य संकलन गर्दै आएकामा अब उप्रान्त ७७ जिल्लाबाट ५ सय २५ वस्तुको मूल्य सूचकांक निकाल्नेछ ।
विगतमा पहाड, तराई र हिमाली भूभागको सूचकांक प्रस्तुत गर्ने गरिएकामा अब भने प्रदेशनुसार त्यहाँको मूल्यवृद्धि पनि सार्वजनिक गरिनेछ ।
राष्ट्र बैंकले मूल्यवृद्धि देशभरिबाट भने संकलन नगर्ने जनाएको छ । विगतमा ६० वटा बजार केन्द्रबाट मूल्य संकलन गर्ने गरिएकामा अब उप्रान्त भने ८७ बजार केन्द्रबाट मूल्य संकलन गरिनेछ ।
नेपाल राष्ट्र बैंकले फलफूल, तरकारीलगायतका ५९ वस्तुको साप्ताहिक रूपमा, दाल चामलजस्ता ९४ वस्तुको मासिक रूपमा र शिक्षालगायतका ३ सय ७२ वटा वस्तुको त्रैमासिक रूपमा मूल्य संकलन गर्ने स्पष्ट पारेको छ ।
अबको तथ्यांकमा गैरखाद्यमा ६४ दशमलव ५१ प्रतिशत र खाद्य तया पेय पदार्थमा ३५ दशमलव ४९ प्रतिशत भार दिइने जनाएको छ । यसअघि गैरखाद्यमा ६० दशमलव १० प्रतिशत र खाद्यमा ४९ दशमलव ९० प्रतिशत भार दिइँदै आएको थियो ।
मदिरा, सुर्ती तथा सुर्ती प्रयोग भएका वस्तु, रेस्टुरेन्टलगायतलाई राष्ट्र बैंकले खाद्यबाट हटाएर गैरखाद्य सूचकमा राख्ने भएको छ ।
राष्ट्र बैंकले भुक्तानी सन्तुलन (शोधनान्तर)को तथ्यांक पनि नयाँ ढाँचामा सार्वजनिक गर्ने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले जारी गरेको छैटौं ढाँचानुसार भुक्तानी सन्तुलनको तथ्यांक सार्वजनिक गर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
अब मुलुकबाट बाहिरिएको र भित्रिएको रकम थप स्पष्ट र विस्तृत रूपमा सार्वजनिक हुनेछ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोक्ता मूल्य सूचकांकमा केही तल–माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने बताउँदै तथ्यांक लिने र तथ्यांक प्रशोधन गर्ने समयका कारण मूल्यवृद्धिको तथ्यांक पूर्ण वास्तविक नलाग्ने स्पष्ट पारे । मूल्यवृद्धिको तथ्यांक लिने वस्तुमध्ये चामलको मूल्य प्रतिकिलो १० रुपैयाँ बढ्दा अरू वस्तुको मूल्य बढेन भने समग्र मूल्यवृद्धि आँकडा हेर्दा बढेको नदेखिने भएकाले सर्वसाधारणलाई यस’boutमा स्पष्ट पार्नुपर्ने गभर्नर अधिकारीले बताए ।
उनले ‘उपभोक्ता मूल्य सूचकांक’ उपभोगको प्रवृत्तिमा भएको परिवर्तन र समयानुकूलका मूल्यलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको बताए ।