काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा ‘रामायण ः साझा धरोहर’ शिर्षकमा कला प्रदर्शनी भईरहेको छ । नक्सालस्थित प्रतिष्ठानको ग्यालरीमा सोमबारबाट यो प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी त्यहाँ १४ असोजसम्म चल्ने छ ।
प्रदर्शनीका क्युरेटर गार्गी सेठले रामायणको विषयमा केन्द्रित रही तयार पारिएका कलाकृति प्रदर्शनी राखिएको राजधानीलाई जनाइन् । यो प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय राजदूतावासको संयुक्त आयोजनामा गरिएको हो ।
प्रदर्शनमा नेपाल र भारतका कलाकारले सृजना गरेका रामायणको कथा र पात्रसँग सम्बन्धित चित्र राखिएको छ । राम नेपाल र भारतका साझा धरोहर भएकाले यो सँयुक्त कला प्रदर्शनी गरिएको सेठले बताएकी छिन् ।
प्रदर्शनीमा नेपालबाट कलाकार उमाशंकर साह, नरेन्द्रबहादुर श्रेष्ठ, एससी सुमन र अगम श्रेष्ठले तयार गरेका चित्रकला राखिएको छ । यस्तै भारतबाट दुई दर्जन कलाकारका चित्र यो प्रदर्शनीमा छ । जसमा भारतीय कलाकार अम्बालिका चितकरा, आनन्द पञ्चाल, अरपना कौर, असित पटनायक, ब्राटिन खान, चन्द्र मोरकोण्डा, कल्याण पि जोशी, कञ्चन चन्दर, के जी बाबु, नागेश गौर, नवल किशोर, नीरज गुप्ता, प्रिती गुप्ता, सुशील कुमार, राजेश कुमार, रेनुका सोढी गुलाटी, सरला चन्दर, सिमा कोहली, शाम्पा सिरसर दास, सिद्धार्थ, सुवोध केलकर, सिन्धे श्रीरामुलु, स्वर्ण चैत्रकार, सुनिता लाम्बा, कामिनी बाघेल, लक्ष्मण कुमार नायक, बलदेव पवार, युगदिपक सोनीका चित्रहरु यहाँ छन् । प्रदर्शनीमा मिथिला, लोक तथा आधुनिक शैलीमा तयार पारिएका चित्रहरु छन् ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको भनाईमा दुई देशको यो सँयुक्त प्रदर्शनीको उदेश्य साँस्कृतिकसँगै कलाको आदनप्रदान पनि हो । त्यसैले यसलाई साझा प्रदर्शनी नाम दिईएको उनले राजधानीलाई बताए, ‘प्रतिष्ठानले विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्दै आइरहेको छ । यसले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास हाम्रो छ ।’
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीको भनाईमा सबै प्रकारका दर्शकहरु प्रदर्शनीमा आएका छन् । यस्ता अन्तराष्ट्रिय प्रदर्शनीले ललितकला क्षेत्रलाई रुपान्तरणमा मद्धत पुग्ने उनले कथन छ ।
यो प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का डिडिजी अन्जु रञ्जन र प्रदर्शनीको क्युरेटर तथा डाइरेक्टर गार्गी सेठले सोमबार संयुक्तरूपमा उद्घाटन गरेका थिए ।