काठमाडौं । १६ वर्षको उमेरमै चलचित्र जारीबाट सह अभिनेत्रीको रुपमा परिक्षा लिम्बुले अभिनय यात्रा थालेकी थिईन् । पहिलो चलचित्र नै हिट भएपछि परीक्षा लिम्बुले यसै वर्ष रिलिज भएको चलचित्र पुजार सार्कीमा मुख्य अभिनेत्रीकै रुपमा काम गरिन् । यो चलचित्रमा उनी अभिनेता प्रदीप खड्काको जोडी बनेकी थिईन्,‘नायिका बनेको पहिलो चलचित्रमै प्रदीप खड्का जस्ता स्टार कलाकारको जोडी बनेर अभिनय गर्न पाउँदा निकै खुसी लाग्यो । चलचित्रमा मेरो कामलाई दर्शकले त्यत्तिकै मन पराईदिनु भएकोमा अझ प्रेरणा मिलेको छ ।’ परीक्षाले भनिन् ।
चलचित्र पुजा सार्की रिलिज भएको चार महिना नबित्दै यी अभिनेत्री यतिबेला दुईवटा चलचित्रमा अनुबन्धित भएकी छिन् । यतिबेला प्लस टुमा अध्ययन गरिरहेकी परीक्षा चलचित्रसँगै अध्ययनलाई पनि अघि बढाउने पक्षमा छिन् ।
परीक्षा लिम्बु मात्र हैन, पछिल्लो एक वर्षमा नेपाली चलिचत्रमा आधा दर्जन नवोदित अभिनेत्रीहरुले डेब्यु गरेका छन् । उनीहरु मध्य केही नवोदित अभिनेत्रीका चलचित्र रिलिज भईसकेका छन भने केहीको रिलिजका क्रममा छन् । तथापी यी सबैलाई धमाधम नयाँ चलचित्रमा प्रस्ताव आईरहेको छ ।
गत वर्ष प्रदीप भट्टराईको सफल चलचित्र ‘महापुरुष’बाट नायिकाको रुपमा डेब्यु गरेकी अन्जना बराईली एक वर्षमै व्यस्त अभिनेत्रीको सुचीमा परिसकेकी छिन् । केही म्युजिक भिडियोमा अभिनय गरेपछि उनले अभिनेत्रीको रुपमा अबसर पाएकी हुन् ।चलचित्र महापुरुष रिलिजसँगै अञ्जना पनि अर्को चलचित्र चित्रा र पुजार सार्कीमा अनुबन्धित भएकी थिईन् । उनको चलचित्र चित्र ६ महिना अघि रिलिज भएको थियो ।
यता परीक्षा र अञ्जनाले पुजार सार्कीमा शिर्ष अभिनेत्रीको रुपमा काम गरेका थिए । जसमा आर्यन सिग्देलको जोडीको रुपमा अञ्जना थिईन् । ब्यबसायिक रुपमा सफल भएको पुजार सार्कीमा दर्शकले आफ्नो अभिनयलाई मन पराएपछि अञ्जनालाई पनि अहिले कामको भ्याई नभ्याई छ,‘थुप्रै चलचित्रबाट अहिले प्रस्ताव आएको छ । यस अघि अनुबन्धित भएका दुईवटा चलचित्रको छायाँकन सकेर मात्र अब नयाँ चलचित्रमा म जोडिने छु ।’ अञ्जनाले भनेकी छिन् ।
यसै वर्ष नायिकाको रुपमा डेब्यु गरेकी निती शाह पनि पछिल्लो समय व्यस्त छिन् । उनले चलचित्र ‘खजुरे ब्रो’बाट नायिकाको रुपमा चलचित्र उधोगमा डेब्यु गरेकी हुन् । नीति अभिनित पहिलो चलचित्र खजुरे ब्रो गत बैशाखमा रिलिज भएको छ । यो चलचित्रमा उनको अभिनय मन परेपछि निर्देशक बसन्त निरौलाले आफ्नो चलचित्र ‘ज्वाईंसाव’मा गत बैशाखमै नितीलाई अनुबन्धित गरेका थिए । चलचित्र ज्वाईंसावमा उनले हास्य अभिनेता जितु नेपालको जोडी भएर काम गरेकी छिन् ।
निर्देशक बसन्त निरौलाले नीतिको ’bout भने,‘अघिल्ला पुस्ताको अभिनेत्रीहरु प्राय व्यस्त भएको बेला खजुरे ब्रो हेरेपछि मलाई निती शाहको काम मन प-यो । जितुको नायिका बनेर काम गर्न उहाँ तयार भएपछि हामीले चलचित्र ज्वाईंसाबको मुख्य नायिकामा उहाँलाई लिएको हुँ ।’
मिस नेपाल प्रतियोगिताबाट मोडलिङ हुँदै अभिनेत्रीको रुपमा चलचित्रमा आएकी नीति पनि अर्को नयाँ चलचित्रमा अनुबन्धित भईसकेकी छिन् । यतिबेला चलचित्र ज्वाईंसाबको प्रचार प्रसारमा व्यस्त रहेकी नीति दशैंपछिबाट आफ्नो नयाँ चलचित्रको छायाँकनमा जोडिने बताउँछिन् । उनलाई पनि यतिबेला थुप्रै चलचित्रमा प्रस्ताव आएको छ । ती मध्य राम्रा चलचित्रमा काम गर्ने उनको कथन छ ।
मोडलिङमा आफ्नो परिचय बनाएकी न्यान्सी खड्काले पनि बिराज भट्ट निर्मित एवम् निर्देशित चलचित्र ‘१२ गाउँ’बाट नायिकाको रुपमा डेब्यु गरेकी छिन् । गत वर्ष मिस नेपालमा सहभागी भएकी न्यान्सीले त्यतिबेला मिस इन्टरनेशलन नेपालको उपाधी जितेकी थिईन् । नेपालको प्रतिनित्व गर्दै गत वर्ष जापानमा सम्पन्न मिस इन्टरनेशनलमा भाग लिएर आएपछि बिराजले उनलाई नायिकाको रुपमा अनुबन्धित गरेका हुन् । न्यान्सीको अभिनय निकै राम्रो भएको बिराजको दाबी छ । चलचित्र १२ गाउँ रिलिज नहुँदै न्यान्सीलाई पनि केही चलचित्रबाट शिर्ष भूमिकामा प्रस्ताव आईसकेको छ । तर यो चलचित्र रिलिज भएपछि दर्शकको प्रतिक्रिया हेरेर बल्ल अर्को चलचित्रमा काम गर्ने यी नवोदित अभिनेत्रीले बताएकी छिन् ।
चलचित्र ‘१२ गाउँ’बाटै मोडल सनिसा भट्टराईले पनि नायिकाको रुपमा डेब्यु गरेकी छिन् । यो चलचित्रमा सनिसाले बिराजको जोडी भएर काम गरेकी हुन् । आफु चलचित्र ‘१२ गाउँ’मा अडिसनबाट नायिकाको रुपमा चयन भएको सनिसा भट्टराईले बताएकी छिन् । उनी पनि गत वर्ष म्युजिक भिडियो मार्फत मोडलको रुपमा यो क्षेत्रमा आएकी हुन्,‘राम्रो भूमिका भएका कारण म चलचित्र १२ गाउँमा जोडिएको हुँ । यो चलचित्र रिलिज भएपछि बल्ल अर्को चलचित्रमा जोडिने छु ।’ सनिसाले भनिन्,‘अहिले पनि तीन वटा चलचित्रमा नायिकाको रुपमा प्रस्ताव आएको छ । दशैंमा १२ गाउँ रिलिज भएपछि दशैंपछिबाट नयाँ चलचित्रको काम सुरु गर्ने योजनामा छु ।’
केही वर्षदेखि अमेरिकामा बस्दै आएकी दिलिप रायमाझीको छोरी दिब्या रायमाझीले पनि नायिकाको रुपमा डेब्यु गरेकी छिन् । प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘एक्टर’बाट नायिकाको रुपमा उनले डेब्यु गरेकी हुन् । अमेरिकामा रहेर उच्च शिक्षा हाँसिल गरिरहेकी दिब्यालाई बुबा दिलिप मार्फत चलचित्र एक्टरमा नायिकाको प्रस्ताव आएको हो । चलचित्रको कथा निकै राम्रो भएको र बुबाले पनि काम गर्दा हुन्छ भनेपछि आफु यो चलचित्रमा जोडिएको उनले बताएकी छिन् । यतिबेला स्वराँकन भईरहेको चलचित्र एक्टर यही तिहारको अबसरमा १५ कात्तिकबाट रिलिज हुँदैछ । अरु नवोदित अभिनेत्रीहरु जस्तै दिब्यालाई पनि पहिलो चलचित्र रिलिज नहुँदै अर्को नयाँ चलचित्रबाट शिर्ष भूमिकामा प्रस्ताव आईसकेको छ । उनी पनि आफ्नो पहिलो चलचित्र रिलिज भएपछि बल्ल अर्को चलचित्रमा काम गर्ने पक्षमा छन् ।