नेपालमा मनसुनको महिना साउन र भदौ हो । तर, यस वर्ष असोजमा पनि पानी परिरहेको छ, मनसुन लम्बिएको छ । मनसुनी वायु केही लामो समय राज गरेको छ । मनसुन आफैंमा आवधिक वायु हो । यो निश्चित अवधिसम्म मात्र नेपालमा रहन्छ ।
यो अवधि जुलाई र अगस्ट महिना मानिन्छ । तर, अहिले सेप्टेम्बर महिनाको पनि अन्त्य हुन लागिसकेको छ । सेप्टेम्बरको अन्तिम सातामा निकै भारी वर्षा हुने सम्भावना देखाइएको छ । वर्षा पनि हुँदै गरिरहेको छ । अवस्था कति गम्भीर छ भने देशका कुल ७७ जिल्लामध्ये ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ ।
यसलाई मनसुनको ‘थप सक्रियता’ भनिएको छ । मौसम पूर्वानुमान महाशाखाले यही कुरालाई मध्येनजर गरेर ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । बिहीबार १० असोज दिउँसोदेखि आइतबार १३ असोजसम्म देशभर भारी वर्षा रहिरहने अनुमान गरिएको छ ।
रेड अलर्ट त जारी गरियो, तर त्यसका लागि तयारी केही पनि देखिँदैन । भनिएको मात्र छ, कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र मधेस प्रदेश तथा कर्णाली प्रदेशसहित सुदूरपश्चिम प्रदेशका निश्चित स्थानमा भारी वर्षा हुँदै छ । वर्षा भइरहेको पनि छ । ठाउँठाउँमा हावाहुरी पनि चलिरहेको छ ।
मेघ गर्जन र चट्याङ पनि साथमा छ । भारी वर्षाको सम्भावना नकार्न सकिने अवस्था छैन, पानी परिरहेको नै छ । वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेको छ । त्यसैले, बस्ती पनि सतर्क रहनुपर्ने अवस्था छ ।
मानिसले यतिबेला सरकारी क्रियाशीलताको अपेक्षा गरिरहेका छन् । तर, सरकारी तयारी केही पनि छैन । उल्टै मानिस आत्तिने र हडबडाउने बेला हुन थालिसकेको छ । स्थानीय सरकार पनि मौन छ । तयारी देखिँदैन । प्रदेश सरकार पनि मौन छ । संघीय सरकार प्रचारमा मात्र सीमित छ । यसले जनतामा निराशा र अविश्वासको संकटमा थप मलजल गर्ने काम गरिरहेको छ ।
प्राकृतिक विपद् व्यवस्थापनको विषयलाई लिएर स्थानीय, प्रदेश तथा संघीय सरकारका बीचमा सघन सहकार्यको जरुरी छ । यसलाई उपेक्षा गरी जनताको अभिभावकत्व लिनबाट कोही पनि र कुनै पनि निकाय पछि पर्नुहुँदैन ।