पोखरा । लागुऔषध कारोबार आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा छन् । कास्की जिल्ला अदालतले बुधबार उनलाई ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले बताए ।
गत ३ साउनमा रोल्पा त्रिवेणी ७ का ४२ वर्षीय प्रकाश थापा मगर लागु औषधसहित पक्राउ परेका थिए । ट्रुपेन (टपेन्टाडोल) नाम भएको ट्ब्याबलेट ९७ चक्कीसहित उनी पोखरा २, बागलुङ बसपार्कबाट पक्राउ परेका थिए । उनीविरुद्ध लागुऔषध मुद्दा अनुसन्धान भइरहेकोमा निजले पोखरा–९, पृथ्वीचोकस्थित दीया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएपछि उक्त फार्मेसीका संचालकसमेत रहेका ढाकाकुमारलाई गत २७ भदौमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
पोखरा २४ निवासी ४२ वर्षीय श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईंँसँग घूस मागेको अडियो सार्वजनिकसँगै विवादमा मुछिएका थिए । र, रास्वपाले तुरुन्तै उनलाई कारबाही गरी सांसद पदबाट हराएको थियो ।
अर्का प्रकाश थापा मगर भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।