मेची राजमार्गको राजदुवाली खण्ड सँधै पिरै पिर

इलाम । मेची राजमार्ग स्थित इलामको राज दुवाली खण्डको कारण इलाम सहित पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन समस्यामा परेका छन् । जति मर्मत गरे पनि सडक भासिने क्रम नरोकिएको समस्या बन्ने गरेको हो ।

लगातार परिरहेको पानीका कारण हाल आवत जावतमा झन् समस्या आइरहेको छ । तराईतिर जाँदा भन्दा यता आउँदा उकालो परेको र सडक हिलाम्मे भएको कारण उक्त खण्ड पार लगाउनै समस्या हुने गरेको हो ।

साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने राजमार्गको उक्त सडक खण्ड सधैँ बिग्रने गरेको हुँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्रामा उक्त खण्ड बाधक बन्ने गरेको हो ।

दिन दिनै सडक भासिने गरेको र सडक डिभिजनले यात्रा सहज बनाउन सधैँ पुर्ने गरेको भए पनि आकाशको पानी पर्ने बित्तिकै सडक बन्द हुने गर्दछ । भासिएको सडक पुरेको ठाउँ भिजेपछि मालावाहक गाडी फस्ने गरेको कारण घण्टौँ सम्म यात्रुले दुख पाउने गरेका छन् । लगातार पानी परेसँगै सडक हिलो भएको र गाडी फसेको कारण घण्टौँ सम्म यातायात आवत जावत हुन सक्दैनन् ।

सडक बिग्रिएको र राजमार्ग अवरुद्ध हुन थालेपछि सडक डिभिजन कार्यालयले सडक मर्मतबाट सहज बनाउन मर्मतको काम गरिरहेको छ । सडक बिग्रिएर समस्या भएको गुनासो आइरहँदा विकल्पको चर्चा आए पनि वैकल्पिक मार्गको निकास नबन्दा सधैँ समस्या भइरहेको स्थानीयको गुनासो छ । सडक डिभिजन कार्यालयले यसको विकल्प नहुन्जेल यसलाई नै मर्मत गर्नु बाहेकको कुनै विकल्प नरहेको बताउँदै आएको छ ।

यता इलामबाट छोटो दुरीमा तराई जोड्नका लागि द्रुत मार्गको अवधारण अन्तर्गत भन्ज्याङ, बेलासे, दानावारि सडकको निर्माण थालिएको भए पनि भन्ज्याङ, बेलासे सडक निर्माणमा ठेकेदारले काम सुस्त गतिमा गर्नुका कारण वैकल्पिक मार्ग प्रयोग हुन सकेको छैन ।
द्रुत मार्ग चाँडो सम्पन्न हुने हो भने राज दुवाली खण्डमा समस्या आउँदा द्रुत मार्ग प्रयोग हुन सक्ने थियो । तर न राज दुवाली सडक खण्ड बन्छ नत द्रुत मार्ग नै बन्यो जसका कारण इलाम सहित पाँचथर र ताप्लेजुङको यात्रा कष्टकर बन्ने गरेको छ ।

राज दुवाली सडक खण्ड भासिने गरेको कारण लामो समय देखि मर्मतका नाममा करोडौँ खर्च सकिए पनि अहिले सम्म सडक बन्न सकेको छैन ।

डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१।७२ सालमा नै भासिएको सडक मर्मतका लागि ६ करोडमा ठेक्का लगाएको थियो । निर्माण व्यवसायी स्वच्छन्द सफल जे भीले पाँच वर्ष लगाएर नयाँ प्रविधिमा आधारित रक एन्करिङ विधिबाट सडक मर्मत गरे पनि सडक जस्ताको त्यस्तै छ । त्यस यता मर्मतका नाममा बर्सेनी लाखौ खर्च भईरहेको छ तर सडक भने उस्तै छ ।

बारम्बार सडक भासिएपछि राज दुवालीे एङ्करिङ अर्थात रड र सिमेन्टको घोला प्वालबाट पठाएर जमिन मुनी पक्की बनाउने काम गरिएको थियो ।

बाटोको तलमाथि भित्ता काट्ने, सतहमा माटो तथा ग्राभेल भर्ने, तार जालीमा ढुङ्गाको ग्याबियन पर्खाल लगाउने, एङ्करिङ गर्ने र कालोपत्रे गर्ने कामको ठेक्का लिएको स्वच्छन्द जोशी सफल जेभी निर्माण कम्पनीले काम सम्पन्न त गर्याे तर पनि सडकको अवस्था झन् कुरूप बन्दै गयो ।

पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलो पटक मेची राजमार्गको राज दुवाली खण्डमा एङ्करिङ गरिए पनि सफल हुन सकेन । यसले माटो भासिएर वा अन्य कारणले ठेलिएर तल सर्न वा पहिरो जानबाट राक्ने भनिएको थियो । तर एक वर्ष पनि टिक्न सकेन ।

एङ्करिङ गर्दा पहिले फलामको पाइपले २५ मिटर भित्रसम्म प्वाल पारि त्यसका लागि मेशिनले हावाको दबाब पनि दिएर प्वाल क्लियर भएपछि ३२ एमएमको फलामको चार चार मिटरको रडलाई सकेटको माध्यमबाट जोड्दै भित्रसम्म पु¥याइएको थियो । त्यसपछि हावाकै दबाबमा सिमेन्टको घोला र केमिकल फलामको पाइपमार्फत नै पठाए पनि एक वर्षमै सबै दब्यो ।

भित्र हावा पुग्ने स्थानसम्म र बाहिर ग्याबियन पर्खालसम्म केमिकलसहितको घोला भरिएर त्यसलाई बाहिरको प्वालसम्म जमाएर जम्मा एक सय ८२ वटा प्वालबाट एङ्करिङ विधिबाट काम गरे पनि सडकको अवस्था झन् बिग्रँदो अवस्थामा छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धार्मिक पर्यटन प्रर्वद्धनमा शक्तिपीठका सर्किट ‘कोशेढुंगा’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा सत्तारुढ गठबन्धनबीच सहमति