राजविराज । कारागारकै कर्मचारीबाट बलत्कृत भएको भन्दै एक कैदी बन्दी महिलाद्वारा परेको जाहेरीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पीडित भनिएकी महिलाले राजविराज कारागारमा ८ महिनाअघि कारागारको प्रशासनिक कक्षभित्रै कार्यालय सहयोगबाट बलत्कृत भएको भन्दै अहिले आएर प्रहरीमा उनीविरुद्ध दिएको उजूरीमाथि अनुसन्धान सुरु भएको हो ।
यसरी उजूरी दिने महिला हाल राजविराज कारागारबाट जेल सरुवा भई बाँकी जेल सजाय भुक्तान गरिरहेकी छिन् ।
उनले २०८१ भदौ २१ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको जाहेरीमा राजविराज कारागारमा कैद सजाय भुक्तान गरिरहेका बखत २०८० माघ ५ गते दिउँसो ४ बजेतिर कार्यालय सहयोगी कर्मचारीले ‘जरुरी काम छ’ भन्दै कार्यालय कोठाको विजुलीघरमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छिन् । ‘एसिड खन्याएर मारिदिन्छु’ भनेपछि आफू डरत्रासका कारण प्रतिवाद गर्न नसकेको उनले जाहेरीमा लेखेकी छिन् ।
अहिले सो जाहेरी जिल्ला प्रहरी कार्यालय सप्तरी आईपुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डिराज नेउपानेले उक्त जाहेरी भदौ ३० गते प्राप्त भएको जानकारी दिए । उनले जाहेरी दर्ता गरी घट्ना’bout सुक्ष्म अनुसन्धान थालिएको बताए । ‘बलात्कार जस्तो गम्भीर आरोप लागेका कारागारका कर्मचारीलाई झिकाई सोधपुछ तथा अन्य पाटोहरुको समेत गहन अध्ययन अनुसन्धान थालेका छौं’ उनले भने, ‘निर्दोष नफसुन र दोषी उम्कन नपाओस भन्ने नीतिका साथ अनुसन्धान थालेका छौं ।’
पीडित भनिएकी महिला २०७६ साउन १६ देखि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र आत्महत्या दूरुत्साहन कसुरमा राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी थिइन् ।
यता बलात्कारको आरोपीले ति महिलाले लगाएको आरोप बिलकुलै असत्य रहेको दावी गरेका छन् ।
शुक्रबार राजविराज करागार कार्यालयको काममा व्यस्त देखिएका उनले ति महिला आफ्नै आचरणका कारण पटक–पटक जेल सरुवामा परेको भए पनि सोको कारक आफू रहेको ठानी बदला लिने मनसायले यस्तो भुटा आरोप लगाएको बताए । ‘ति महिलाले जाहेरीमा दिउँसो ४ बजेतिर कार्यालय कोठामै लगेर बलात्कार गरेको म माथि आरोप लगाएकी छिन्, चन्दनले भने–सो समयमा कारागारका सबै कर्मचारी र सुरक्षा गार्ड कार्यालयमै उपस्थित थियो अनि कसरी यस्तो घृणित काम सम्भव छ ।’