पाँचथर । पाँचथरमा पहिरोले घर पुर्दा थप १ जनाको मृत्यु भएको छ । अन्य ५ जना बेपत्ता भएका छन् ।
फिदिम नगरपालिका–१ दुमामा शनिबार पहिरोले घर बगाउँदा ५० बर्षीय गोपी विश्वकर्माको मृत्यु भएको हो । घर पुरिंदा बेपत्ता भएका अन्य पाँच जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका, प्रवक्ता, प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।
बेपत्ता हुनेमा कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो, राजेश तुम्बापो, उनीकी श्रीमती सरस्वती तुम्बापो रहेका प्रहरी निरीक्षक तामाङले बताए ।
यो सँगै पाँचथरमा अबिरल बर्षासँगै आएको बाढीपहीरोमा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ । शनिबार बिहान पहिरोले घर पुरिंदा फिदिम–४ चिसापानीमा २४ बर्षीया सपना र उनकी ४ बर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको थियो ।
अबिरल बर्षाका कारण हेंवाखोलामा आएको बाढीले बेलिब्रिज बगाएको छ । मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भएर बग्ने हेंवा खोलमा आएको बाढीले त्यहाँको बेलिब्रिज बगाएको हो ।
पाँचथरमा भारी बर्षा अझै रोकिएको छैन । प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
नखिपोटमा खोलाले बगाउँदा ४ जना बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उक्त घटना केहीबेरअघि भएको प्रहरी बलले जनाएको छ ।