काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक विभागले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् ।
प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन् भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए । ‘ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् ।
काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगा नजिकै ठूलो पहिरो खसेको छ । नारायणगढ–मुग्लिन–नागढुंगा सडक खण्डका दर्जनौं स्थानमा पहिरो झरेको छ । अर्को नाका त्रिभुवन राजपथ पनि पूर्ण रुपमा अवरुद्ध छ ।
हेटौँडा–भैँसे–पालुङ– काठमाडौं खण्डको पनि धेरै स्थानमा पहिरो खसेको छ । कान्ती राजपथअन्तर्गत हेटौँडा–बागमती–टिकाभैरव–भैँसेपाटी–एकान्तकुना सडक पनि बाढी र पहिरोका कारण अवरुद्ध छ ।
अरनिको राजमार्गबाट काठमाडौं प्रवेश गर्ने दोलालघाट–धुलीखेल– काठमाडौं सडकमा पनि सवारी चल्न सक्ने अवस्था छैन । यस्तै ककनी–बालाजु र छहरे–टोखा सडक पनि बन्दछ ।