इटहरी । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा हालसम्म १५ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा हालसम्म अद्यावधिक गरिएको तथ्यांकअनुसार पाँचथर र सोलुखुम्बुमा सबैभन्दा बढी पाँच–पाँच जनाको मृत्यु भएको छ । यसैगरी धनकुटामा दुई, इलाम र उदयपुरमा एक–एकजनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए ।
तीन दिनदेखि आएको अविरल वर्षाका कारण बाढी र पहिरोका कारण ठूलो प्राकृतिक क्षतिसमेत भएको छ । उनका अनुसार उदयपर र खोटाङ जोड्ने रसुवास्थित फोक्सिङटारको पुल बाढीले बगाएको छ । यसैगरी पाँचथरको हेवा खोलको बेलिब्रिज बाढीले भत्काएको छ ।
मेची राजमार्गअन्तरगत फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेलीब्रिज बगाएको हो । फिदिम फालोट सडकखण्ड अन्तर्गत फिदिम १ र फिदिम ११ जोड्ने फेमेखोलाको पक्की पुलसमेत बगाएको छ ।
एसएसपी दाहालका अनुसार पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिएर २४ वर्षीया सपना शेर्पा र उनकी छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ । फिदिम–१२ घर भएकी सपना फिदिम–४ मा कोठाभाडामा बस्दै आएकी थिइन् ।
यसैगरी फिदिम–१ साङ्लेबोटेमा पहिरोले पुरिएर ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको दाहालले बताए । उनी राजकुमार नेम्वाङको घरमा कोठाभाडामा बसेर फुरुङ्गा हाइड्रोपावरमा काम गर्दै आएका थिए ।
यसैगरी फिदिम–८ भोटे गाउँँमा पहिरोले पुरिएर ८२ वर्षीय पसेम्बा शेर्पाको मृत्यु भएको छ । आफ्नै घर नजिकको धारामा पानी लिन जाने क्रममा माथिबाट झरेको पहिरोले उनको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–२ मजिटेमै पहिरोले घर पुरिँदा ३८ वर्षीया रन्जना राईको घटनास्थलमै मत्यु भएको छ ।
यता, धनकुटाको पाख्रीबास नगरपालिका–५ की ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको पहिरोले पुरिएर मृत्यु भएको छ । पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको दाहालले बताए ।
उता, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उनका छोरी र बुहारीको मृत्यु भएको छ । सोही वडाका वडाध्यक्ष होमबहादुर मगरका अनुसार पहिरोमा परेर टेकबहादुरकी ३० वर्षीया छोरी कविता मगर र ४१ वर्षीया बुहारी रुपा मगरको मृत्यु भएको हो । अन्य तीनजनाको पहिचान अद्यावधिक भइरहेको दाहालले बताए ।
यता, उदयपुरको रौतामाई गाउँपालिका १ मा बाढीले बगाएर १५ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । खेतबाट घाँस काटेर फर्किने क्रममा बाढीले बगाएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
यसअघि शुक्रबार इलामको माई नगरपालिका–८ सेता खोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बू्को मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर घाइते भएका भएका उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
‘बाढी र पहिरोमा परेर सबैभन्दा पाँचथरमा चार जना बेपत्ता भएका छन्,’ एसएसपी दाहालले भने, ‘अनपेक्षित रूपमा आएको बाढीका कारण धेरैजसो ठाउँमा पुलहरू पनि बगाएका छन् भने दर्जनौँ परिवार विस्थापित बनेका छन् । नेपाल प्रहरी २४ घण्टा नै उद्धारमा जुटिरहेको छ ।’
प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेमा फिदिम–१ का ५१ वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, स्थानीय ५५ वर्षीय धनकुमार तुम्वापो र २१ वर्षीया सरस्वता तुम्वापो रहेका छन् । उनीहरू सबै फुरुङ्गा हाइड्रोपावरमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।
यसैगरी पाँचथरकै फालेलुङ गाउँपालिका–४ का अविनारायण राईको घर तारे खोलाले बगाउँदा उनकी पत्नी ३६ वर्षीया कमला राई बेपत्ता भएकी छन् ।
यता, झापाको गौरीगञ्ज गाउँपालिका–२ सुकुम्बासी टोलका ५५ वर्षीय केनालाल राजवंशी कृष्णे खोलाले बगाएर बेपत्ता भएका छन् । शुक्रबार कनचकवल गाउँपालिका–१ की १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएर बेपत्ता बनाएको छ ।
यता, कमल गाउँपालिका–१ का ३५ वर्षीय टीकाराम चौधरी माछा मार्ने क्रममा कृष्णे खोलामा डुबेर बेपत्ता भएका छन् । मोरङ रतुवाईमाई नगरपालिका–७ की ७२ वर्षीया डुरोदेवी राजवंशीलाई बिहीबार रतुवा खोलाले बगाएको छ । उनी हालसम्म बेपत्ता छिन् ।
बाढीका कारण पुलहरू भत्किदाँ आवतजावत ठप्प भएको छ । वर्षौँ लगाएर बनाएको पुलहरू भत्किदाँ ठूलो क्षति भएको जनाइएको छ ।