कोभिड–१९ बाट आज विश्व संक्रमित भएको छ । हालसम्म करिब २० लाख मानिसमा संक्रमण देखिएकोमा करिब ५ लाख स्वस्थ भई घर फर्किएका छन् भने करिब डेढ लाख मानिसको मृत्यु भइसकेको छ । यसको विस्तार ज्यामितीय अनुपातमा हुने र कुनै वस्तु र मनिसबाट यो संक्रमण फैलिने जानकारी विश्व स्वास्थ्य संगठनले दिइराखेको छ । यसले कतिपय देशमा महामारीकै रूप लिइराखेको छ भने केही देश सामान्य रूपमा प्रभावित बनेका छन् । यसको सबैभन्दा कठिन र दुःखद पक्ष भनेकै हालका दिनसम्म खोप तयार नहुनुका साथै यो कहिलेसम्म नियन्त्रणमा आउँछ र यसले कति धनजनको नोक्सानी गराउँछ भन्ने अनुमानसम्म पनि मानवजगत्ले गर्न सकेको छैन । चीनले यसको प्रभाव न्यून गर्दै गएको र उत्तर कोरियाले आफूलाई कोरोनामुक्त रहेको दाबी गरिरहँदा यी दुवै देश साम्यवादी बन्द समाज भएकाले यी सबै सूचनालाई विश्वास गर्नसमेत कठिनाइ परिराखेको छ । खासगरी इटाली, संयुक्त राज्य अमेरिका र स्पेन यस रोगबाट अत्यन्त बढी प्रभावित भइराखेका छन् । अमेरिकामा ६ लाखभन्दा बढी संक्रमित र २६ हजारको मृत्यु, स्पेनमा १ लाख ७५ हजार संक्रमित भएकोमा १८ हजारको मृत्यु, यसैगरी इटालीमा १ लाख २६ हजार संक्रमित र २१ हजारको मृत्यु भइसकेको सूचना प्राप्त भइराखेको छ । विश्व स्वास्थ्य संगठनले यो स्वाइनफ्लु र सार्सभन्दा धेरै खतरनाक भएको र यसले समग्रमा ३ प्रतिशत र विकासशील देशमा त्यसभन्दा बढी आर्थिक वृद्धिदर नकारात्मक रूपमा प्रभावित हुने भविष्यवाणी गरेको छ । तसर्थ, आधुनिक संसार ठूलो संकटबाट गुज्रिएको अवस्था छ ।
नेपालमा कोभिड–१९ को असर हालका दिनसम खासै बढी नदेखिए पनि यसको प्रारूप र भारतमा यसले पार्दै लगेको अप्ठेरोको कारण हाम्रो पनि अवस्था नाजुक हुनेतर्फ विकास भइराखेको देखिँदै छ, छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको प्रकोप दिन प्रतिदिन बढ्दै जाँदा नेपालमा पनि जोखिम बढेको छ । रोजगारीका सिलसिलामा भारतका विभिन्न राज्यमा पुगेका लाखौं नेपाली कोरोनाको त्रास र भारतमा भएको लकडाउनका कारण नेपाल फर्किएका छन् । उनीहरूलाई क्वारेन्टाइनमा राख्न नसकिएको हुँदा नेपालमा कोरोनाको महामारी फैलन सक्ने जोखिम बढ्दै गएको हो । भारतबाट फर्केका युवामा कोरोनाको संक्रमण देखिएपछि देशभर त्रासको वातावरण बनेको छ । भारतका पाँच राज्य उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र सिक्किमको सीमा नेपालसँग जोडिएको छ । भारतसँगको खुला सीमाका कारण पनि नेपालमा जोखिम बढ्दै गएको हो । नेपालसँग सीमा जोडिएका भारतका पाँच राज्यमध्ये उत्तर प्रदेशमा कोरोनाको प्रभाव बढी देखिएको छ । नेपालमा अहिलेसम्म यो संक्रमण प्रायः सबै अन्य देशबाट फर्किएकामा पाइएको छ, उनीहरूको व्यवस्थापन गर्ने विषय नै नेपालका लागि अप्ठेरो सिद्ध भएको छ । नेपाल र भारतबीचको खुला सिमानाको कारण नेपालमा यो संक्रमण नियन्त्रणमा आउन भारतमा पूर्ण रूपमा नियन्त्रण हुनु जरुरी छ ।
संकटको उचित व्यवस्थापन गरी राष्ट्रनिर्माणका लागि सही दिशा दिन सके सरकारका लागि अवसर पनि हो
यस अवस्थामा भारतसँग उच्चस्तरको समझदारी गरी त्यहा रहेका सबै नेपालीलाई देश फर्काएर यहाँ रहेकालाई पनि स्वदेशमै फिर्ता पठाउनु आवश्यक छ किनकि अन्य देशले जस्तै भारतले नेपालीलाई फर्काइदिन पनि सक्दछ । स्वेच्छाले नेपाली घर फर्कंदा पनि हामी कडाइ गर्न सक्ने अवस्थामा छैनांै, उनीहरू फर्किएर गाउँमा घुलमिल गरेपछि मात्र सरकारले थाहा पाउन सक्दछ । यो झन् बढी जोखिम हुन सक्दछ । त्यसैले, सबैभन्दा पहिला सरकारले भारत, मलेसिया, दक्षिण कोरिया, र मध्यपूर्वका मजदुरलाई देश भित्र्याई उनीहरूको परीक्षणलगायतका व्यवस्था गर्नुपर्दछ । त्यसपछि युरोप, अमेरिकालगायत विकसित देशमा अलपत्र पर्दै गएकालाई उद्दार गर्नु जरुरी छ । आफ्ना नागरिकको जवाफदेहिता सरकारले लिनु उसको कर्तव्य हो ।
विश्वभर र भारतमा संक्रमण बढ्दै जाँदा नेपालमा लकडाउनको अवधि लामो जाने लक्षण देखिँदै छ । गरिब देश नेपालका मजदुरलाई जीविकाको समस्या पर्दै छ । सोलुका हाइड्रोपावरमा काम गर्ने मजदुर हिँडेरै कैलाली पुगेका मजदुरलाई आआफ्ना घरसम्म पु¥याउने जिम्मेवारीबाट समेत सरकार पछि हटेको, काभ्रेका प्रजिअले आफ्नो क्षेत्रमा दुई जना मानिसमा संक्रमण देखिएपछि पैदल हिँड्न रोक लगाएको, सरकारले प्रदान गर्दै आएको राहतले सबैलाई सम्बोधन गर्न नसकेको, राहतका लागि अनुरोध गर्न पूरा गर्नुपर्ने कार्यसमेत सबैका लागि सहज नभएको, डेरा गरी बस्ने विद्यार्थीमा पनि जीविका गर्न समस्या देखिँदै गएको र अब यो अवस्थाले निरन्तरता प्राप्त गर्दै जाँदा मध्यमस्तरका नागरिकसमेत दैनिक उपभोगका सामानको अभावको सामना गर्नुपर्ने स्थिति छ ।
महामारीका बेला सरकारले सर्वदलीय सहमति र समझदारी कायम गर्नु र राजनीतिक दलले राष्ट्रलाई सघाउन सदाशयता देखाउनुपर्दछ
यस अवस्थामा सरकारले अत्यन्त संवेदनशील बनी आफ्ना नागरिकलाई बचाउने व्यवस्था गर्नुपर्दछ । यसका लागि केही कार्य प्राथमिकतामा राखी शीघ्र गर्नुपर्दछ । यो महामारी केही नरपिसाचका लागि भ्रष्टाचार गर्ने स्वर्णिम अवसर बनेको छ । सरकार प्रमुख यस्ता भ्रष्टको संरक्षक बन्दै गएको आलोचना भइराखेको छ । जोसुकैबाट भएको भ्रष्टाचारको निरपेक्ष रूपमा अनुसन्धान गराई कानुनको कठघरामा खडा गर्न सक्नुपर्दछ । अवैतनिक दूत सुलभ प्रकरण र स्वास्थ्य मन्त्रालयको ओम्नी मोहका कारण सरकारप्रति जनता थप सतर्क बनेका छन् । ओम्नीको न्यून गुणस्तरीय किटबाटै परीक्षण हुँदा यसबाट प्राप्त नतिजाप्रति जनताको सन्देह अझै बढेको छ । महामारी र संकटमा पनि सरकारमा रहनेले भ्रष्टाचार गर्नैपर्ने र सरकार छानबिनसम्म पनि नगराई रक्षात्मक पंक्तिमा खडा हुने विडम्बना नेपालमै सम्भव भएको छ ।
संकटको समयमा किसान आफ्नो तरकारी गाईवस्तुलाई खुवाउन र दूध सडकमा पोख्न बाध्य भएका छन् । गाउँघरमा पाकेको बाली दिनदहाडै चोरिन थालेको छ । आर्थिक संकटले विकराल समस्या खडा गर्ने अवस्था आउने देखिन्छ । सरकारसँग सीमित स्रोतसाधन छ । खाद्य सुरक्षाको विषयमा जोखिममा पर्दै छ । सुरक्षाकर्मीको तलब कट्टा गरेर कोरोना कोषमा जम्मा गर्ने संदेश प्रवाह हुनु र सरकारी रवैयाका कारण उनीहरूमा निराशता बढ्न थालेको छ । भारतभन्दा अहिलेसम्म नेपालमा संक्रमण कम भएकाले त्यहाबाट सुरक्षित स्थानको खोजीमा नेपाल प्रवेश गर्नेक्रम बढ्न सक्छ । यी सबै विषय सरकारका लागि चुनौती हुन् र यसको उचित व्यवस्थापन गर्न सक्दा सरकारले यो महामारीको सामना गरी देशभित्र संक्रमण फैलिन नदिन ठूलो सफलता हात लाग्ने हुँदा यो सरकारका लागि अवसर पनि हो । तसर्थ, सरकारले केही कार्य प्राथमिकतामा राखी गर्नुपर्दछ । नेपालको ठूलो धनराशि र जनशक्ति पूर्वविशिष्टका लागि दुरुपयोग भइराखेको छ । यिनीहरूका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरी सिमानामा खटाउनु जरुरी छ । पूर्वविशिष्टलाई प्रदान गर्दै आएको सुविधा कटौती गरी सदुपयोग गर्ने र खटिएका सुरक्षाकर्मीलाई दासत्वबाट उन्मुक्ति दिने अवसर पनि यही हो ।
अहिले सबैभन्दा कठिन अवस्था स्वास्थ्यकर्मीको उचित व्यवस्थापन पनि हो । राजनीतिक खिचातानीका कारण हालसम्म समायोजनसम्म पनि हुन नसकेका स्वास्थ्यकर्मीहरूको उचित व्यवस्थापन ठूलो चुनौती बनेको छ । भारतमा स्वास्थ्यकर्मीका लागि बिमा गरिँदा हामीले यो आकर्षणसमेत दिन सकेका छैनौं । निम्नगुणस्तरीय सामानको प्रयोग गर्दै उपचारमा तल्लीन रहन बाध्य पार्दै गएको अवस्था छ । निजी क्षेत्रका स्वास्थ्यकर्मीलाई संकटको बेला सरकारले उपयोग गर्ने योजना तयार पार्न सकेको छैन । उनीहरूलाई घरबेटीले संक्रमण फैलाउने चिन्ताले घरबाट निस्किन दबाब दिइराखेको स्थिति पनि देखिन्छ । यस अवस्थामा स्वास्थ्यकर्मीलाई आफ्नो कामप्रति इमानदार बन्न प्रेरित गर्ने कार्यक्रम सरकारले ल्याउनु जरुरी छ ।
अब बिस्तारै मनसुन प्रारम्भ हुन्छ । यसको व्यवस्थापन विगतको समयभन्दा भिन्न हिसाबले गर्नुपर्दछ । राष्ट्रियस्तरदेखि स्थानीय तहसम्मका निकायलाई मनसुनमा सामना गर्नुपर्ने प्राकृतिक प्रकोपका लागि तयार पारी उपयोग गर्ने कामको तयारी गर्ने बेला भएको छ । हामी यो संक्रमणमा मात्र केन्द्रित हुँदा भने अर्को संक्रमण फेरि आमन्त्रण गर्ने स्थिति आउँछ । बाढी, पहिरो, हुरीबतास, आगजनीका कारण नागरिक अर्को विपत्तिमा पर्न सक्दछन् । यसको योजना हाल देखिएको संक्रमणसमेतलाई ध्यान दिई एकीकृत रूपमा गर्नुपर्दछ । यी सबै व्यवस्था स्रोतसाधनको अभावमा हुन सक्दैन । त्यसैले, संसद् विकास कोषमा २५ प्रतिशतभन्दा बढी खर्च नभई हालसम्म बचत रहेको करिव २२ अर्ब रकमलाई सक्रमण कोषमा जम्मा गर्नुपर्दछ । नेपालका पी १ मा परेका र राष्ट्रिय महत्वका आयोजनाबाहेक अरू सबै आयोजनाको रकम रकमान्तर गरी यही कोषमा राख्नुपर्दछ किनकि अहिलेको प्राथमिकता भनेको बच्नु र बचाउनु हो । यस महामारीको संकटलाई नियन्त्रण गर्न सक्दा यी सबै अवसर फेरि पनि प्राप्त हुन्छन् । यी कार्यलाई सम्पादन राम्ररी गर्न सर्वदलीय सहमति र समझादारी कायम गर्नु जरुरी हुन्छ । सबै राजनीतिक दलहरूले यस विपद्को घडीमा राष्ट्रलाई सघाउन सदाशयता देखाउनुपर्दछ । देशभर यी समस्यासँग सामना गर्न हाल कायम रहेका गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था क्रमशः ५१ हजार र २ सय ५० को संख्यामा रहेका छन् यी संस्थाहरूको उपयोग गर्ने कार्यक्रम ल्याउनुपर्दछ ।
देशमा कहिले माओवादी सशस्त्र युद्धले आक्रान्त बनाएको छ त कहिले भूकम्प । यतिखेर विश्वव्यापी संकटको सामना सबै मानवजातिले गरिरहेको स्थिति छ । हालसम्म यस संक्रमणको प्रभाव अन्य देशको तुलनामा नेपालमा खासै देखिएको छैन । ३१ जनामा मात्र संक्रमण भेटिएको र तीमध्ये ३ जनाले स्वास्थ्य लाभ गरेका छन् । हालसम्म यसबाट कोही कसैको मृत्यु भएको छैन । यो अवस्थामा यसलाई गम्भीरताका साथ नियन्त्रणमा लिन सरकारलगायत सबै सम्बन्धित पक्ष लागिपर्नुपर्दछ । यसो भएमा मात्र हामी यो संकटबाट बाँच्ने स्थिति हुन्छ । अन्यथा सुसम्पन्न र विश्वशक्तिको रूपमा गणना गर्ने पश्चिमा राष्ट्रहरूसमेतलाई यसले आतंकित गरिराखेको अवस्थामा हाम्रो क्षमताले यसको नियन्त्रण प्रायः असम्भव देखिन्छ ।